१७ दिनमै गृहमन्त्रीको पद गुमाएका नारायणकाजी १० वर्षपछि बल्ल गृहमै फर्किए

१७ दिनमै गृहमन्त्रीको पद गुमाएका नारायणकाजी १० वर्षपछि बल्ल गृहमै फर्किए

काठमाडौँ : गृह मन्त्रालयको करिब १७ दिनको अनुभव पाएका नारायणकाजी श्रेष्ठ १० वर्षपछि सोही मन्त्रालयमा फर्किएका छन्। २०६८ साउन १६ गते गृहमन्त्री नियुक्त भएका उनले भदौ ३ सम्म मात्र काम गर्न पाएका थिए।

१७ दिनमै गृहको कार्यकाल सकिएपछि उनी लामो समयदेखि पुन गृहको नेतृत्वमा फर्कने प्रयासमा थिए। पुस १० मा सरकार बन्दा पनि उनले गृहमा प्रयास नगरेका हैनन्। तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मागेपछि उनी भौतिक मन्त्री बन्न पुगेका थिए।

एमालेसहितको गठबन्धन भत्किएर काङ्ग्रेससहित १० दलको गठबन्धन बनेपछि बल्ल गृहको नेतृत्वमा फर्कने श्रेष्ठको रहर पुरा भयो। अनि उपप्रधान तथा गृहमन्त्रीको रूपमा शपथ खाए लगत्तै उनले पदभार सुरु गरिसकेका छन्।

शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा श्रेष्ठसँगै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपप्रधान तथा रक्षा मन्त्रीको रूपमा शपथ लिए। लामो समयपछि खड्का सरकारमा आएका हुन्। उनी यसअगाडि गृह मन्त्री भएका थिए।

डा. प्रकाशशरण महत अर्थ मन्त्री भए। रमेश रिजाल पहिलो पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा सरकारमा सहभागी भए। सीता गुरुङ शहरी विकासमन्त्री भइन्।

जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राईले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा शपथ खाए। अर्को एक मन्त्री भने टुङ्गाउन सकेन जसपाले।

एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भए। ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा सरकारमा सहभागी भए। उनी यस अगाडि बन र गृह मन्त्री भइसकेका थिए। 

१७ चैत, २०७९, १८:०३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।