पाट्नरको मृत्युले बिरक्तिएर भिक्षु भएका समलिङ्गी सुनिलबाबुको ‘चौथो जन्म’
संविधान सभाको पहिलो दिन। बैठक बस्न सकिरहेको थिएन। फुर्सदको समयलाई उपयोग गर्दै पहिलो पटक सदनमा प्रवेश गरेका सभासद् सुनिलबाबु पन्त शीर्ष नेताहरूलाई भेट्न अघिल्लो हारतिर गए।
बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस अनि एमालेका नेताहरूलाई आफ्नो नाम भन्दै परिचय दिँदै गए सुनिलबाबु।
उनले ‘मेरो नाम सुनिलबाबु पन्त’ मात्र के भनेका थिए एक जना शीर्षस्थ नेताले प्वाक्क भनिहाले‘ए तपाईँ हेर्दा त पुरुष जस्तै देखिनुहुन्छ त।’
उनी झसंग भए। उनलाई लाग्यो, ‘ओ हो यौनिकताको बारेमा त पहिला नेताहरूलाई नै बुझाउनु पर्ने पो रहेछ।’
त्यसपछिका दिनमा सुनिलबाबुले समयमै बैठक नबस्ने संविधानसभाको खाली समयको भरपूर उपयोग गरे। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेको के हो? समलिगिं, तेस्रोलिंगि महिला, तेस्रोलिंगि पुरुष, बायोसेक्सुअल, अन्तरलिंगि र क्वेर समुदायबारे सभामै बुझाउँदै गए।
बैठक कक्षमा पुरुष सभासद् गफ गरिरहेको बेलामा सुनिलबाबु पुग्ने बित्तिकै सबै चुपचाप हुन्थे। केही समय पछि सबैले सहजै लिन थाले।
‘सुरुवातमा सबैले अनौठो तरिकाले हेर्नुहुन्थ्यो। म धेरै जनासँग घुलमिल हुँदै गएँ। बिस्तारै यो समुदायको बारे बुझाउँदै गएँ,’उनले उकेरासँग भने, ‘पछिपछि धेरै जसो सांसदहरुमा कन्भिन्स पनि हुनुभयो। त्यसैले पहिलो संविधानसभामा लेखिएको ड्राफ्टमा लैङ्गिक अल्पसङ्ख्यकको धेरै कुरा परेको थियो।’
निलहिरादेखि संविधान सभासम्मको यात्रा
सन् १९७२ मा जन्मेका हुन् सुनिलबाबु। उनी सानैदेखि शान्त स्वभावका। घरायसी र बाहिर पनि काम गर्न रुचाउने। रुसमा गएर उनले कम्प्युटर साइन्समा स्नातकोत्तर गरे।
विद्यालय तह पढ्दा देखि नै आफू पुरुष भए पनि पुरुषको धेरै स्वभाव आफूलाई मन नपरेको थाहा पाए। केटी साथीहरूलाई जिस्क्याउँदा उनलाई त्यो मन पर्दैनथ्यो। स्वभावको रूपमा उनी आम समाजले ठानेको जस्तो पुरुष भएनन्।
क्याम्पस पढ्न काठमाडौँमा आए। क्याम्पसमा छात्रछात्राहरू एक अर्कासँग जिस्कने गर्थे नै। उनलाई कहिले पनि केटी साथीहरूसँग जिस्किन मन लागेन। कोही साथीले उनलाई जिस्क्याउने नजरले हेरे पनि उनलाई रमाइलो लागेन।
‘मलाई सधैं केटीहरूले मन पराउने हिसाबले नहेरिदिए हुन्थ्यो भन्ने सधैं लागिरह्यो’ उनले भने।
रुसमा पढ्न गएका सुनिलबाबु उता पनि आफ्नो पहिचानबारे खुला हुन सकेनन्। रुसबाट पढाइसकेर आएपछि उनले ठुलो साहस गरे। उनले आफू पुरुष समलिङ्गी भएको बताएनन् मात्रै लैङ्गिक अल्पसङ्ख्यकको हक हितका लागि संस्था चाहिने भन्दै निल हिरा समाज नै गठन गरे सन् २००१ मा। यसको संस्थापक अध्यक्ष उनै पन्त भए।
‘रुसबाट आएपछि म जस्ता मान्छे कति छन् भनेर खोज्दै गएँ। रत्नपार्कमा यौन व्यवसाय गरेको पनि पाएँ। उहाँहरूलाई स्वास्थ्यबारे केही थाहा थिएन। कन्डम प्रयोग गर्नुपर्छ भनेर सुरुवाती दिनमा हामीले नै स्वास्थ्यसम्बन्धी जानकारी दियौँ,’उनले भने, ‘पछि मात्रै हो हामीले अन्य काम पनि गर्न थालेको।’
रत्नपार्कमा यौन व्यवसाय गर्ने धेरै तेस्रोलिंगि महिलाहरूले पाएको दुख, स्वास्थ्यमा भएको हेलचेक्रयाँइबारे उनले बुझ्दै गए। उनीहरूमाथि यौन हिंसा मात्रै भएको थिएन, केटा भएर केटीको स्वभाव भएपछि परिवारले गरेको हेलाँ, समाजले गरेको बहिष्कार र राज्यले उपेक्षा गरेर प्रताडित बनेकाहरूको समूह ठुलै थियो।
उनीहरू एकीकृत हुन सकिरहेका थिएनन्। सुनिलबाबु कस्सिए। अन्य सदस्य पनि थपिए। निल हिरा समाज गठन भयो। ‘एलजिबिटिक्युआई प्लस’ को हकहितको लागी काम गर्ने भयो।
निलहिराको परिचय रत्नपार्कमा कन्डम बाँड्ने संस्थाको रूपमा भयो। पहिचान बदल्न समलिङ्गी महिला, पुरुष, अन्तरलिंगि, तेस्रोलिंगि महिला र पुरुषलाई समेत सहभागी गराउँदै लगे उनले। संस्थाको स्वीकार्यता बढ्दै गयो।
उनले लैङ्गिक अल्पसङ्ख्यकले विवाह गर्न पाउनु पर्छ भनेर संस्था मार्फत सर्वोच्चमा रिट हाले। २०६४ पुस ६ मा अदालतले समलिङ्गी विवाहको लागि समिति गठन गरेर कानुन बनाउन आदेश दियो सरकारलाई।
तर त्यो अहिलेसम्म कार्यान्वयन भएको छैन। सर्वोच्चले समलिङ्गीहरूको यौन सम्बन्ध प्राकृतिक हो भनेर समेत बोलिदियो। तै पनि अझै सहज रूपमा राज्य र समाजले स्विकारिसकेको छैन।
‘पहिलो संविधान सभामा धेरै काम पनि भएको थियो। अहिलेको संविधानमा केही त आयो तर कानुन बनेको छैन। राज्यले हामीलाई मान्छे नै हैन जस्तो व्यवहार गरिरहेको छ,' पन्तले भने' १५ वर्षसम्म अदालतको आदेशको अवहेलना गरिरहेको छ सरकार। कानुन बन्न नसक्दा दुख लाग्छ।’
यसरी सम्भव भयो संसद यात्रा
नेकपा संयुक्तका गणेश साहले पहिलो संविधान सभामा उनलाई निल हिरा समाजको तर्फबाट केही व्यक्तिहरू समानुपातिकमा राख्न सल्लाह दिए।
कानुन बनाउने ठाउँमा यही समुदायको मान्छेलाई राजनीतिक दलले नै बोलाएर भनेपछि सुनिलबाबु नहौसिने कुरै थिएन। मूलधारका राजनीतिक दलका नेताहरूले बोलाएका थिएनन्।
अझ माओवादी नेता देवप्रसाद गुरुङले त पश्चिमी देशको पूँजीवादको विकृति भनेका थिए। कम्युनिस्ट शासन फितलो भएपछि रुस र चीनमा पनि समलिङ्गीलाई सहजता भएको गुरुङले प्रस्ट भनेका थिए। तर माओवादीकै डाक्टर बाबुराम भट्टराईकै पहलमा भने यौनिक लैङ्गिक अल्पसङ्ख्यकबारे घोषणा पत्रमा समावेश भएको थियो। अन्य दलले पनि यो कुरालाई पछ्याए।
संविधान सभाको चुनाव भयो। १५ जिल्लामा जहाँ निलहिरा समाजको कार्यालय थियो त्यहाँबाट नेकपा संयुक्तलाई सबैभन्दा धेरै मत गयो। नेकपा संयुक्तले ५ वटा सिट पाउने भयो।
गणेश शाहले लैङ्गिक अल्पसङ्ख्यकको तर्फबाट सुनिलबाबुलाई राख्ने भए। अनि उनी संविधान लेख्ने ठाउँमा पुगे।
त्यति बेला अन्तर्राष्ट्रिय मिडियाले पनि निकै चासो दिएका थिए नेपालको संविधान सभालाई। ३३ प्रतिशत महिला, दलित, जनजाति, मधेसी, पिछडा वर्ग, लैङ्गिक अल्पसङ्ख्यकको प्रतिनिधि थियो प्रतिनिधि सभामा।
२०६५ जेठ १५ मा संविधान सभाको पहिलो बैठक बस्यो। पहिलो पटकै शीर्ष तहका नेताले नै ए तपाई त पुरुष जस्तै हुनुहुँदो रहेछ भनेपछि उनी संविधान सभाको बैठकमा ढिला भएको बेलामा सांसदहरूलाई ल्यापटपमा यौनिक अल्पसङ्ख्यकबारे बुझाउन थाले।
बिन्दा पाण्डे यस विषयमा निकै उदार देखिइन्। संविधानमा ड्राफ्ट गर्दा धेरै नै शब्दहरू परिवर्तन गरियो। अधिकार सुनिश्चितताको काम हुँदै थियो।
जस्तो बाबु आमा नभनेर, दम्पती, छोराछोरी नभनेर सन्तान, महिला र पुरुषबीच विवाह हुन्छ नभनेर दुई व्यक्तिबीच भन्ने शब्दको प्रयोग गरियो। जनप्रतिनिधिले पास गर्ने अनि कर्मचारीले लेख्ने गर्थे।
तर जब लैङ्गिक अल्पसङ्ख्यकको पालो आउँथ्यो कर्मचारीले लेख्नै अप्ठ्यारो मान्ने मात्रै हैन कम्प्युटर नै नचल्ने बनाएको तीतो अनुभव समेत रह्यो सुनिलबाबुको।
‘यौनिकताको टाइप गर्ने पालोमा कम्प्युटर जहिले पनि बिग्रने। मैले हाँसो ठट्टामा नै किन कम्प्युटर नचल्ने रैछ भन्दा पनि कर्मचारीले आनाकानी गरे,' विगत सम्झँदै पन्त भन्छन्, समितिकी सभापति बिन्दा पाण्डेले हामीले पास गरेको कुरा तपाईँले टाइप गर्ने हो भनेपछि मात्र ड्राफ्ट बनाएका थिए।’
पहिलो संविधान सभा भङ्ग भएपछि दोस्रो संविधान सभाले पहिलेको स्वामित्व लिने त भनियो तर समानताको धेरै कुरा काटियो। त्यसमा लैङ्गिक अल्पसङ्ख्यकका कुरा पनि काटिए।
‘पहिलो संविधानसभा हामीले लेखेका २० प्रतिशत मात्रै राखियो। पश्चगामी यात्रा तिर पो गयो दोस्रो संविधान सभा,’पन्तले भने, ‘कानुन महिला र पुरुष मात्रै परिकल्पना गरेर बनाइयो। राज्यले लैङ्गिक अल्पसङ्ख्यक आधारभूत अधिकारलाई हनन गर्ने काम गर्यो।’
सर्वोच्चको अपमान गरिरहेछ सरकार
संविधानमा सबै नागरिकलाई समान हक अधिकार दिने त भनियो तर यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू सबै नागरिक भित्र अट्न सकेका छैनन्।
उनीहरूलाई पहिचानको आधारमा नागरिकता लिनलाई कसिलो नीति बनाइएको छ। आपत्तिजनक शब्द समेत छ कानुनमा। लैङ्गिक अल्पसङ्ख्यकले नागरिकता लिँदा मेडिकल सर्टिफिकेट पेस गर्नु पर्ने भनिएको छ।
यो आपत्तिजनक त हुँदै हो लैङ्गिक समुदाय प्रतिको अपमान र तिरस्कार समेत भएको सुनिलबाबुको भनाइ छ।
किन त?
सुनिलबाबु भन्छन् ‘ समलिङ्गी, तेस्रोलिंगि हुनु भनेको बिरामी हुनु होइन।’
थप उनको तर्क छ,
‘महिला भएर कोही पुरुष जस्तो सोचाइ राखेर उ तेस्रोलिंगी पुरुष जस्तो हुन्छ अनि पुरुष भएर कोही महिला जस्तो बन्छ भने कसरी त्यो बिरामी हुन्छ? राज्यले त महिला पुरुषलाई उनीहरूको पहिचान अनुसार नागरिकता लिँदा मेडिकल सर्टिफिकेट ले भन्दैन। विश्व स्वास्थ्य सङ्गठनले यो समुदायलाई बिरामी भएको ठान्दैन भने नेपाल सरकारलाई विज्ञान भन्दा पर जान छुट छ?'
बनाएको कानुनमा विभेद त छँदै छ विवाह सम्बन्धी कानुन नबनाएर सरकारले सर्वोच्चको आदेशको अवहेलना गरिरहेको छ।
सर्वोच्चको आदेश अनुसार सरकारले समिति त बनायो तर उनीहरूले सिफारिस गरे अनुसार कानुन बनाएनन्। विवाह महिला-पुरुषबीच मात्रै हुन्छ भनियो।
विवाह महिला र पुरुष बीच मात्रै हुने भनेर व्याख्या हुँदा अहिलेको विवाह गरेर बसेका जोडीलाई सरकारले जहिलेसुकै कारबाही गर्न सक्ने सुनिलबाबुको भनाइ छ। यसमा नागरिक समाज अनि मिडियाबाट आफूहरूले साथ नपाएको उनको गुनासो छ।
स्वीकार्यता बढ्यो तर सङ्घर्ष उस्तै
सुनिलबाबु लगायतका समूहले सन् २००१ मा निल हिरा समाज खोल्दा यो समुदायलाई समाजले सहज रूपमा स्विकारिसकेको थिएन। खिसीटिउरीको सिकार हुन्थे तेस्रोलिंगि महिला।
उनीहरूलाई चलचित्रमा देखाइँदा हाँसोको पात्र बनाइन्थ्यो। अहिले समाज केही बदलिएको छ। समलिङ्गी पुरुष, महिला, तेस्रोलिंगी पुरुष र महिला अन्तरलिंगिहरु खुलेका छन् समाजमा। समाजमा स्वीकार्यता पनि बढेको छ।
‘पहिले हेरि अहिले स्वीकार्यता बढेको छ। कानुनी जटिलता रहे पनि खुल्ला भएर आउनु साहसकै काम हो,’उनले भने, ‘समाजले स्विकार्यो अब के छ र भन्ने अवस्था भने छैन। नीति नियम बनाउनेहरू उस्तै छन्।'
त्यसमा मिडिया अनि दलहरूबाट साथ नपाएको बताउँछन् सुनिलबाबु। मिडियाले जसरी तेस्रोलिङगीविच विवाह हुँदा महत्व दिन्छ त्यति महत्त्व समलिङ्गी हुँदाहुँदै जबर्जस्ती विपरीत लिङ्गीसँग विवाह गराउँदाको अवस्थालाई महत्त्व नदिएको बताउँछन् उनी।
भोट सङ्ख्याको आधारमा राजनीतिक दलले यो समुदायलाई नरुचाएको पन्तको दाबी छ। यसमा उनकै अनुभव पनि रहेछ। २०७० सालमा पन्तको टोली ठुलै सङ्ख्यामा एमाले प्रवेश गरे। झलनाथ खनालले स्वागत त गरे तर विकृति भित्रिएको आरोप लाग्यो।
‘हामीलाई भित्र्याएपछि त एमालेमा ठूलैं पक्तिले विकृति भित्र्याएको आरोप लगाए। हामी अपमानित त भयौँ नै सदस्यको रसिद नपाउँदै हामीले त्यो पार्टी छोड्यौँ। अन्य राजनीतिक दलमा पनि यही हो अवस्था’ पन्तले अनुभव सुनाए।
सक्रिय हुने प्रयासमा सुनील
पहिलो संविधान सभा पछि केही समय हराए सुनिलबाबु। कारण उनका ब्रिटिस पार्टनर निकै बिरामी भए। अस्पतालको लामो बसाइपछि पन्तको पार्टनरको मृत्यु भयो। उनी बिरक्तिए।
सानैदेखि बौद्ध धर्म प्रति रुचि भएका पन्त भिक्षु काश्यप बनेर बिताए। भिक्षु जीवन त्यागेर लैङ्गिक अल्पसङ्ख्यकबारे समाज मात्रै हैन राज्यकै चरित्र सुधार गर्ने अभियानमा लागेका छन् उनी।
यसको प्रारम्भ 'निलो फूल' फिल्मबाट गरिसकेका छन्।
( यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको समस्याबारे नियमित सामाग्री प्रकाशित गर्न उकेराले मध्यम धार कोलम सुरु गरेको छ। यो कोलम हरेक शुक्रवार प्रकाशित हुनेछ।)
चैत १७, २०७९ शुक्रबार १७:०१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।