सरकारले गौरव गर्न लायक कामको थालनी गरेको छ : मन्त्री शर्मा
भैरहवा : सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले सरकारले गौरव गर्नलायक कामको थालनी गरेको बताएकी छन्।
माओवादी केन्द्र सिद्धार्थनगर नगर समिति रुपन्देहीले शुक्रबार गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन्।
‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको मान्यता दिने, शहीद हरूको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताइन्।
मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जिकिर गरिन्।
फरक प्रसङ्गमा मन्त्री शर्माले जनताका माग सरकारसम्म पुर्याउने र सरकारले गरेका काम जनतासम्म पुर्याउन स्थानीय पार्टी कमिटी र नेता कार्यकर्ताको महत्त्वपूर्ण भूमिका हुने बताइन्।
मन्त्री शर्माले शुक्रबार नै नेपाल पत्रकार महासङ्घले लुम्बिनीमा आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनलाई सम्बोधन गर्दैछिन्।
चैत १७, २०७९ शुक्रबार ०९:५६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।