रास्वपाका उम्मेदवार : चितवनमा रवि पक्का, तनहुँ र बारामा आन्तरिक प्रतिस्पर्धा

रास्वपाका उम्मेदवार : चितवनमा रवि पक्का, तनहुँ र बारामा आन्तरिक प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउँदैछ।

बिहीबार अबेर राति एक सूचना निकालेर रास्वपाले उम्मेदवारीका लागि भाग लिनका लागि आन्तरिक निर्वाचनमा भाग लिन भन्दै छ जनाको नामावली सार्वजनिक गरेको छ।

सूचनामा चितवन–२ रवि लामिछाने एक्लैले उम्मेदवारी दर्ता गराउँदा तनहुँ–१ र बारा–२ मा भने प्रतिस्पर्धा देखिएको छ।

तनहुँ–१ मा भर्खरै कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका डा. स्वर्णीम वाग्लेसहित ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले उम्मेदवारी दिएका छन्।

यस्तै बारा–२ का लागि पूर्वप्रहरी रमेश खरेल र युवराज न्यौपालेको दाबी छ। पार्टीले आन्तरिक निर्वाचनमार्फत उम्मेदवारको टुंगो लगाउने पार्टीको केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायणप्रसाद प्याकुरेलले जानकारी दिए।

उनका अनुसार आन्तरिक निर्वाचनका लागि उम्मेदवारी उपरको दाबी विरोधको समय विहान ११ बजेसम्मका लागि तोकिएको छ।

आजै साँझ पाँच बजेसम्म उम्मेदवारहरूसँग छलफलपछि आयोगले साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्नेछ।

मतदानको समय भने १७ र १८ गतेका लागि तोकिएको छ भने नतिजा प्रकाशन भने १९ गते विहान ११ बजेसम्म हुनेछ।

चैत १७, २०७९ शुक्रबार ०८:०९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।