१० हजार सापटी फिर्ता नगरेपछि शान्तिको हत्या, शव खानेपानीको ट्यांकीमा
पोखरा : खानेपानीको ट्यांकीमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ।
आइतबार म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानी ट्यांकीभित्र पोखरा ३३ बाग्माराकी ४२ वर्षीया शान्ति श्रेष्ठको शव भेटिएको थियो।
शान्तिको हत्या गरेर खानेपानी ट्यांकीभित्र शव लुकाएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अवदेश विष्टले जानकारी दिए।
हत्या आरोपमा प्रहरीले काभ्रेको पाँचखाल–५ घर भई पोखराको घारीपाटन बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरेको छ। प्रहरीले आरोपित सुनारलाई तनहुँको थप्रेकबाट पक्राउ गरेको विष्टले बताए।
उनका अनुसार सुनारले शान्तिलाई सापटी दिएको १० हजार रूपैयाँ रकम फिर्ता नगरेपछि हत्या गरेको बयानमा बताएका छन्।
सुनारले हत्या गरेपछि शान्तिले लगाएको सुनको गहना पोखराको महेन्द्रपुलमा रहेको रजनी सुनचाँदी पसलमा लगेर बेचेका थिए।
हत्यापछि लुटेको गहना खरिद गर्ने सुनचाँदी पसलका सञ्चालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको छ।
सुनारले पोखरामा गाडी चलाउने काम गर्दै आएका थिए भने काभ्रेको पाँचखाल नगरपालिका–५ स्थायी ठेगाना भएकी शान्ति छोराछोरी सहित बागमारामा बस्दै आएकी थिइन्।
श्रीमान् बितेपछि ५ वर्ष अगाडि माइतीको शरणमा आएकी उनी पछिल्लो समय पोखराको अमरसिंहचोकमा फलफुलको व्यापार गर्दै आएकी थिइन्। उनीहरूबीच पहिलादेखि नै चिनजान भएको सुनारले प्रहरी बयानमा बताएका छन्।
गत फागनु २३ गतेदेखि हराएकी श्रेष्ठ फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजीका लागि चैत ६ गते निवेदन परेको थियो।
केही दिनअघि घरघरै वितरण गरिएको खानेपानीमा दुर्गन्ध आएपछि उपभोक्ता समितिले खानेपानीको ट्यांकी खोलेर हेर्दा ट्यांकीभित्र महिलाको शव फेला परेको थियो।
शव फेला परेको भोलिपल्ट आफन्तले शवको पहिचान गरेका थिए। पक्राउ परेका सुनारलाई कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए।
शान्तिले प्रकाशसँग २ महिनाअगाडि छोराको उपचारका लागि भनेर १० हजार रुपैयाँ सापट लिएका थिए। प्रकाशले सापट फिर्ता माग्दा तत्काल दिन नसक्ने बताएपछि फागुन २१ गते खैरेनीटार लगेर इट्टा प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
चैत १६, २०७९ बिहीबार २१:५४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।