अर्थमन्त्रीको बदमासी : मुख्यमन्त्रीलाई थाहा नदिएरै २३ करोड बजेट विनियोजन, नामै तोकेर योजनाको जिम्मा आफन्त र कार्यकर्तालाई

अर्थमन्त्रीको बदमासी : मुख्यमन्त्रीलाई थाहा नदिएरै २३ करोड बजेट विनियोजन, नामै तोकेर योजनाको जिम्मा आफन्त र कार्यकर्तालाई

सुर्खेत : केही दिनअघि मात्रै सार्वजनिक गरिएको सम्पत्ति विवरणमा कर्णाली सरकारका धनी मन्त्री निस्किए अर्थमन्त्री विनोदकुमार शाह । उनै धनी मन्त्री शाहले मन्त्रालयको विविध शीर्षकमा राखिएको बजेटलाई मनमौजी रूपमा विनियोजन गरेको पाइएको छ।

कोभिडको समयमा कर्णाली प्रदेश सरकारले अत्यावश्यक सेवाका लागि छुट्याएको बजेटलाई मन्त्री शाहले आफन्तको नामै तोकेर योजना बाँडेको पाइएको हो।

मन्त्री शाहले सहोदर कान्छा भाइ गणेश बहादुर शाही, भतिजा खगेन्द्र शाही, ज्वाइँ नाता पर्ने कर्णबहादुर शाही, तत्कालीन राजाको शासनकालमा आफू राज्यमन्त्री हुँदा स्वकीय सचिव बनेका उनका भाइ सर्वराज शाहीको नाममा बजेट विनियोजन गरेर काम गराउन लिखित विवरण दिएको खुलेको छ।

उनले योजनामा नामै तोकेर अध्यक्ष बनाउन वा काम चलाउन भनेर जिम्मा दिइएको उल्लेख छ। उनको वडा ठाँटीकाँध गाउँपालिका एकमा सुचियाँ-खातीगाउँदेखि भैरवस्थान सडक निर्माण कार्यक्रमका लागि ६० लाख बजेट छ ।

उक्त योजना शीर्षकमै खगेन्द्र शाहीको नाम उल्लेख छ। उनै खगेन्द्रको नाममा लामामेला-गुयालसिम-रोकायावाडा सडक स्तरोन्नत्तिका लागि ६५ लाख रूपैयाँ पठाइएको छ।

त्यस्तै, खगेन्द्र शाहीले नै कार्यान्वयन गर्ने भनेर मन्त्री शाहले मटेला-नदाई-भैरवस्थान सडक स्तरोन्नत्तिका लागि ५० लाख बजेट विनियोजन गराएका छन्। उनको वडामा गएको बजेटमध्ये खगेन्द्र शाहीले मात्र एक करोड ७५ लाख बराबरको जिम्मा पाएका हुन्।

ठाँटीकाँध-३ मा कालो शिल्लो मन्दिर निर्माणका लागि १५ लाख बजेट विनियोजन गरिएको छ। यसको जिम्मेवारी चाहिँ मन्त्री शाहका मामाका छोरा जयाबहादुर शाहीलाई दिन भनिएको छ।

यस्तै, उनले मटेला-तित्रखेत सडक स्तरोन्नत्तिका लागि ६५ लाख रूपैयाँ विनियोजन गराएका छन्। यसको जिम्मा भने उनका पूर्व स्वकीय सचिवसमेत रहेका सर्वराज शाहीलाई दिइएको छ।

यस्तै, उनका स्वकीय सचिव प्रेमिका शाहीका बुवा कर्णबहादुर शाही मन्त्री शाहका नाताले ज्वाइँ पर्छन्। उनलाई भनेर भवानी मावि फिल्ड निर्माण लगायत अन्य संरचना निर्माणका लागि ठाँटीकाँध गाउँपालिका-३ मा ३० लाख रूपैयाँ विनियोजन भएको छ।

वडाका उनीनिकट कार्यकर्ता चक्र विकलाई ठाँटीकाँध खेलमैदान निर्माणको जिम्मा दिइएको छ। जसका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

यतिमात्र होइन मन्त्री शाहले वडा नम्बर-१ का निवर्तमान वडाध्यक्ष नरतम बुढाको नामै किटेर रातामाटा-ठाँटीकाँध-भीमपाईला सडक स्तरोन्नत्ति गर्न ७० लाख रूपैयाँ छुट्याएका छन्।  त्यस्तै उनकै नाममा मानाकोटदेखि भैरवस्थानसम्मको सडक निर्माणका लागि थप ४० लाख बजेट विनियोजन भएको छ।

मन्त्री शाहले आफ्नै सहोदर कान्छा भाइ गणेशबहादुर शाहीको जिम्मा भन्दै आफ्नै वडामा रहेको भैरव मन्दिर निर्माणका लागि ५० लाख रकम विनियोजन गरेका छन्।

यस्तै, आठबीस नगरपालिकाको राकम अस्पतालको जग्गा घेरबार तथा सडक निर्माण भनेर छुट्याइएको एक करोड ५० लाख बजेट सञ्चालन गर्ने जिम्मा निवर्तमान नगरप्रमुख खड्गराज उपाध्यायलाई दिन उल्लेख गरिएको छ। उनी पनि मन्त्री शाहको गुटका कार्यकर्ता हुन्।

अर्थमन्त्री शाहले सरकार ढल्ने सम्भावनाको चर्चा चलिरहेकै बेला आफ्नो निर्वाचन क्षेत्रसहित कर्णालीका १० जिल्लामा रातो किताबमा प्रकाशित योजना बाहेक नयाँ ६७ वटा योजनामा बजेट विनियोजन गरेका थिए।

केन्द्रमा एमाले-माओवादी सहितको सरकार ढल्ने निश्चित भएसँगै मन्त्री शाहले फागुन १६ गते ती आयोजनामा २३ करोड २० लाख रूपैयाँ पठाएका हुन्।

२३ करोड २० लाख रकमको अख्तियारी मन्त्री शाहले प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई जानकारी नै नदिई पठाएका थिए। मुख्यमन्त्री शर्माले नै उक्त रकमको अख्तियारीबारे थाहा नपाएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी बताउँछन्।

यता, उनका प्रमुख स्वकीय सचिव नेत्र विष्टले भने योजनामा उनीहरूको नाम लेख्नुको कारण कार्यकर्ताले योजना परिचालन गरेर त्यसलाई सफल बनाउन् भन्ने रहेको बताए ।

‘नाम लेखेका व्यक्तिहरू कार्यकर्ता नै हो। गएको योजना कार्यान्वयन गर्नुहोला भनेर त्यसरी नाम लेखेर पठाइएको हो। अरु केही होइन, यसलाई अन्यथा मान्नुपर्ने कुनै कारण छैन’, उनले भने।

चैत १६, २०७९ बिहीबार २१:३२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।