तनहुँ-१ को उप-निर्वाचनमा टिकट नपाएपछि स्वर्णिमले छाडे काँग्रेस, रास्वपाबाट उम्मेदवार बन्न छलफलमा

तनहुँ-१ को उप-निर्वाचनमा टिकट नपाएपछि स्वर्णिमले छाडे काँग्रेस, रास्वपाबाट उम्मेदवार बन्न छलफलमा

काठमाडौँ : मङ्सिर ४ को निर्वाचनमा अर्थविद् स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दर्ताको अन्तिम समयसम्म कुरे पनि उनी गएनन्। उनी राजी भए रोजेको क्षेत्रमा उम्मेदवार बनाउन पार्टी राजी थियो।

सार्वजनिक कार्यक्रममा रास्वापले आफूलाई उम्मेदवार बन्न आग्रह गरेको तर आफ्नो पुस्ताले रगत पसिना बगाएको पार्टी नेपाली काँग्रेस छाडेर जान मनले नमानेको बताएका थिए।

सर्वोच्चको आदेश अनि राष्ट्रपति र उपराष्ट्रपति चयनपछि रिक्त भएको तीन निर्वाचनमा निर्वाचन आयोगले उप-निर्वाचनको मिति तोकेपछि दृश्य बदलियो। अहिले वाग्ले आफैँ रास्वपा प्रवेश गरेर उप-निर्वाचनमा उम्मेदवार बन्न सक्रिय भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाण्डेको पहलमा पार्टी नेतृत्व तनहुँ-२ बाट उनलाई उम्मेदवार बनाउन सकारात्मक भएपछि उनी काँग्रेस छाडेर रास्वपाबाट संसदीय राजनीतिमा लाग्ने तयारीमा छन्।

बिहीबार काँग्रेसको कार्यसम्पादन समितिको बैठकले तनहुँ-१ र चितवन-२ को उप-निर्वाचनमा गोविन्द भट्टराई र जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरे लगत्तै वाग्ले काँग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा सक्रिय भए।

रास्वपाले तनहुँ-१ बाट उम्मेदवार बनाउन वचन दिएपछि उनले काँग्रेस संस्थापन इतर समूहका नेता शेखर कोइरालालाई आफू अब काँग्रेसमा नरहेको सन्देश समेत पठाइसकेका छन्।

उनले काँग्रेस छाड्नुको कारण पार्टी सभापति शेरबहादुर देउवा र आरजु देउवा समूहको पेलाइलाई कारण देखाएका छन्।

जानकार स्रोतका अनुसार वाग्ले तनहुँबाट उम्मेदवार बन्न चाहेपछि काँग्रेस छाडेर रास्वपामा गएका अरनिको पाण्डेले संवाद अगाडि बढाउने वातावरण बनाएका थिए। त्यसमा मङ्सिर ४ अगाडि काँग्रेस छाडेर रास्वपा गएका मनिष झाले समेत सघाएका थिए।

अर्थविद्को रुपमा परिचित वाग्ले मङ्सिर ४ को निर्वाचनमै चितवन-१ बाट उम्मेदवार बन्ने प्रयासमा थिए। तर पार्टीले विश्व पौडेललाई उम्मेदवार बनाएको थियो। उप-निर्वाचनमा समेत उम्मेदवार नबनाएपछि उनी पार्टी बदलेर भए पनि निर्वाचनमा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।

पार्टीभित्र उनी काँग्रेस महामन्त्री गगन कुमार थापा निकट नेताको रुपमा परिचित छन्। यस अगाडि नै गगन समूहलाई पार्टीभित्र घण्टी काँग्रेस बनेर रास्वपालाई सघाएको आरोप लाग्ने गरेको छ।

आफ्नो समूहको प्रमुख व्यक्ति नै रास्वपामा जाने भएपछि गगन समूहमाथि लाग्दै आएको आरोप थप बलियो बन्ने देखिन्छ।

१६ चैत, २०७९, १६:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।