क्यान्सरले गोडा काटिएपछि ‘साहुजी’ बनेका भुवाने : चौतारी नै पसल, दैनिक कमाई दुई हजार

क्यान्सरले गोडा काटिएपछि ‘साहुजी’ बनेका भुवाने : चौतारी नै पसल, दैनिक कमाई दुई हजार

सुर्खेत : चौकुने गाउँपालिका–८ विशाल बजारका भुवाने ओड बिहान सात बजेदेखि साँझ सातबजेसम्म चौतारीमा व्यापार गर्छन्।

चैत–बैशाखको गर्मी होस् या असार–साउनको झरी। भुवानेको विहानदेखि साँझसम्म ओत लाग्ने ठाउँ नै पिपलको चौतारी हो।

जुत्ता–चप्पल सिलाउने र वैशाखीको सहारामा सिजन अनुसारको फलफूल बेचेर उनले दैनिकी चलाएका छन्।

उमेरले ४५ वर्ष कटेका भुवाने आठ वर्षअघि क्यान्सरको संक्रमणले थला परे। गैरसरकारी संस्था आईएनएफ सुर्खेतको सहयोगमा उपचार भयो। दाहिने खुट्टा र बायाँ हातका औंला काटियो।

छ महिनाको आरामपछि निको भए। चार सन्तान (एक छोरा र तीन छोरी)का पिता भुवानेलाई १२ वर्षअघि नै श्रीमतीले छाडिन्।

‘तीन छोरीको विवाह भइसक्यो, छोराले विवाह गरेको छ। छोरा भारततिरै नोकरी गर्छ,’ भुवाने भन्छन्, ‘घरमा आमा, म र बुहारी छौं। सरकारले आमा र मलाई भत्ता त दिन्छ, त्यतिले मात्रै पुग्दैन। त्यही भएर चौतारामा बसेर फलफूल बेच्छु, जुत्ता–चप्पल सिलाउँछु।’

उधारोमा सामान ल्याएर गर्ने व्यापारबाट उनले दैनिक दुई हजार रुपैयाँसम्म कमाउने रहेछन्।

‘मण्डीबाट उधारो ल्याएर सामान बेच्छु,’ उनले थपे, ‘बेचेपछि साहुलाई तिर्दा पनि दैनिक दुई हजारसम्म नाफा बच्छ।’

घरको एक्लो छोरो भुवानेले नै अहिले परिवारको खर्च उठाउँदै आएका छन्। जिम्मेवारीले थिचेपछि रोग र अपाङ्गताको विषयमा सोच्ने फुर्सदै नहुने उनी बताउँछन्।

‘म घरको एक्लो छोरा, सबै कुरा हेर्नुपर्छ। बिरामी भएदेखि श्रीमतीले छाडेर गइन्,’ उनी भन्छन्, ‘छोराको पनि कमाई छैन भन्छ। त्यहि भएर घरव्यवहार चलाउन पनि व्यापार त गर्नैपर्यो।’

समाजमा अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक भएको भए पनि आफूकहाँ आउने सबैले कामका लागि प्रोत्साहन गर्ने गरेको उनी सुनाउँछन्।
‘चौतारीमा आउने सबैले माया गर्छन्,’ उनी थप्छन्, ‘मागेर खानुभन्दा त गरेर खानु राम्रो भन्दै फलफूल किनेर सहयोग गर्छन्।’

चैत १६, २०७९ बिहीबार १४:४०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।