गाउँपालिकाको चमेना गृहबाट प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ

गाउँपालिकाको चमेना गृहबाट प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ

बुटवल : रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना घुस रकमसहित पक्राउ परेका छन्।

प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरलाई ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले पक्राउ गरेको हो।

अख्तियारका सूचना अधिकृत रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा घुस लिइरहेका बेला नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको जानकारी दिए।

उनले भने, ‘नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा हाम्रो टोली पुगेको थियो। त्यहाँ पुगेको हाम्रो टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।’

पक्राउ परेकाहरूको बारेमा थप अनुसन्धान गरिने अधिकारीले जानकारी दिए।

१६ चैत, २०७९, १३:३१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।