‘नेबरहुड फर्स्ट’ हाम्रो लागि नारा मात्र होइन : भारतीय विदेशमन्त्री जयशंकर

‘नेबरहुड फर्स्ट’ हाम्रो लागि नारा मात्र होइन : भारतीय विदेशमन्त्री जयशंकर

एजेन्सी : भारतीय विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरले आफ्नो लागि ‘छिमेक पहिलो’ नारा मात्र नभएको बताएका छन्।

बुधबार भारत इन्टरनेशनल सेन्टरको हीरक जयन्ती कार्यक्रममा बोल्दै मन्त्री जयशंकरले दक्षिण एसियालाई एकताबद्ध बनाउने महत्वपूर्ण वक्तव्य दिएका हुन्।

उनले भने, ‘यस कार्यक्रमले दक्षिण एसियाको क्षेत्रीय महत्वलाई रेखांकित गर्छ र हामी किन एकताबद्ध हुन आवश्यक छ भन्ने महत्त्वपूर्ण सन्देश दिन्छ। चाहे हामी उत्सवको अवसरमा वा कठिनाइको अवसरमा सँगै आउँछौँ।’

दक्षिण एसियामा पाकिस्तान, नेपाल र श्रीलंकासम्मको आर्थिक अवस्था अहिले खराब छ।

छिमेकीको नाम नलिइ उनले भने, ‘हाम्रा छिमेकीलाई हेरेर दक्षिण एसिया अहिले निकै कठिन समयबाट गुज्रिरहेको भन्न सक्छौं। हाम्रा धेरै छिमेकी राष्ट्रहरूले जुन समस्याको सामना गरिरहेका छन्, त्यसका लागि उनीहरू जिम्मेवार नै छैनन् यस्तो अवस्थामा हामी यस अवसरमा एकजुट हुन जरुरी छ।’

यससँगै उनले मोदी सरकारको छिमेकी नीतिबारे पनि महत्वपूर्ण वक्तव्य दिएका छन्। उनले यो नीति आफ्नो सरकारको नारा मात्र नभएको बताए।

एस जयशंकरले भने, ‘जब हामी विदेश नीतिको कुरा गर्छौं, हामी ‘नेबरहुड फर्स्ट’ नीतिको उल्लेख गर्छौं, यो नारा मात्र होइन। यो रिपोर्टमा राख्ने भन्दा पनि व्यवहारमा देखाउने विषय हो।’

१६ चैत, २०७९, १०:५२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।