ब्याच नम्बर ६९ : सुन र अफिमको कुरै छाडौँ, अब त अमेरिकाबाट नेपालमा गाँजा पो आउन थाल्यो !

ब्याच नम्बर ६९ : सुन र अफिमको कुरै छाडौँ, अब त अमेरिकाबाट नेपालमा गाँजा पो आउन थाल्यो !

पहिला अमेरिका लैजाने प्रयास गर्दै विमानस्थल लगिएको गाँजासहित पक्राउ भन्ने समाचार आउँथे। नेपालबाट विदेश लैजाने मूर्तिहरूमा समेत प्रहरीको विशेष निगरानी हुन्थ्यो।

अमेरिकाबाट नेपालमा गाँजा आउँदैनथ्यो, जान्थ्यो। तर अहिले त नेपालबाट अमेरिका गाँजा जाने हैन उताबाट नेपाल आउन पो थाल्यो।

अहिले पनि नेपालमा उत्पादित गाँजा अमेरिका, क्यानडा लगायतका देशमा तस्करी नहुने हैन, भइरहेकै छन्। प्राय नेपालमा उत्पादित गाँजा नेपालबाट अन्य देशमा तस्करी हुनेभन्दा पनि धेरै चैँ भारत पुगेर त्यहाँ उत्पादन हुने गाँजासँग मिसिएर युरोप अनि अमेरिकातिर पुग्छन्।

भारतबाट अधिकांश जलमार्गको प्रयोग हुन्छ गाँजा तस्करीमा। नेपालबाट हवाई मार्गको प्रयोग गरेर पनि तस्करी नहुने हैन।

नेपाली गाँजाको स्वाद बसेका प्रयोगकर्ताहरूले जहाँको गाँजासँग मिसाएर तस्करी भए पनि नेपाली गाँजा त चिनिहाल्छन्।

नेपालमा कानुनतः गाँजाको वैध उत्पादन गर्न सकिन्न अहिले। तर प्राकृतिक रूपमा उम्रिने होस् या अवैध खेती गर्ने क्रम रोकिएको छैन। त्यही गाँजा तस्करी हुने हो।

तर नेपालमा व्यावसायिक रूपमै कृत्रिम तरिकाबाट गाँजाको उत्पादन भने हुन्न। रोपे पनि त्यो प्राकृतिक खेती नै हो। तर अमेरिका, क्यानडा जस्ता देशका केही राज्यहरूमा अहिले कृत्रिम गाँजा खेती हुन्छ। त्यही गाँजा अहिले नेपाल आउन थालेको हो।

लागु औषध अनुसन्धान ब्युरोले केही हप्ता पहिले नेपाल भित्र्याउन अमेरिकाबाट ल्याएको गाँजा समातेपछि कस्तो रहेछ त्यो भनेर चासो राखेको थिएँ। त्यसबारे जानकारी पनि लिएँ अनि आफैँले पनि हेरेँ।

त्यो बन्द वातावरणमा उत्पादन गरिएको गाँजा नै हो। नेपालमा अमेरिका र क्यानडाबाट आउँदा फेला परेका सबै गाँजा स्कङक (Skunk) ब्रिडको देखेँ। त्यता अन्य हाइब्रिड गाँजाको खेती पनि हुन्छ।

गाँजामा एक प्रकारको नशा लगाउने मात्रा हुन्छ। त्यसको मापन टिएचसीमा गरिन्छ। नेपालमा उत्पादित गाँजामा टिएचसीको मात्रा त्यही तीन प्रतिशतदेखि बढीमा पाँच प्रतिशत हुने हो।

अमेरिका अनि क्यानडामा कृत्रिम रूपमा उत्पादित गाँजामा यस्तो टिएचसीको मात्रा नेपालमा उत्पादन हुने गाँजाको भन्दा पाँच देखी छ गुणासम्म बढी हुन्छ। नेपालमा अमेरिकी गाँजा आउनुको कारण त्यही बढी नशा लाग्ने भएर पनि हो कि!

जसरी हिप्पी युगमा नेपाल आएकाहरूमा नेपाली गाँजाको लत बस्यो त्यसै गरी अमेरिका पुगेका र गाँजा खान पल्केका नेपालीहरूमा उताको गाँजाको लत बसेको हुनसक्छ।

अब १५/२० प्रतिशतसम्म नशा लगाउने गाँजा खाइरहेकाहरूलाई नेपालको पाँच प्रतिशत लट्ठ्याउने गाँजाले कहाँ सन्तुष्ट गर्न सक्छ र!

त्यसैले यसरी अमेरिकामा उत्पादित गाँजा नेपालमा भित्र्याउने काम कतै तिनीहरू लक्षितै त हैन भनेर अनुसन्धान गर्नुपर्ने देखिइसक्यो।

नेपालमा यसरी भित्रिएको अमेरिकी अनि क्यानडाको गाँजा पोखरातिर पनि गइरहेको देखिन्छ। त्यसले पोखरामा जाने विदेशी पर्यटकहरूले नै यसको माग गरिरहेको हुनसक्ने पनि देखिन्छ। विस्तृत अनुसन्धान नगरी यसै हो भनेर अहिले नै किटान गर्नु ठिक हैन। तर यी दुई कारणको कुनै न कुनै सम्बन्ध त पक्का छ।

अर्को, नेपालमा मात्रै हैन अहिले भारतमा पनि अमेरिका र क्यानडामा कृत्रिम रूपमा उत्पादन भएको गाँजाहरू आइरहेका छन्।

नेपालीको भन्दा भारतीय नागरिकको अमेरिका अनि क्यानडासँग सहज सम्बन्ध छ। अनि यी दुवै देशबाट फर्किएर भारतमै बस्ने भारतीयको सङ्ख्या पनि बढी हुने भइनै हाल्यो।

उनीहरूको माग अनुसार नेपाललाई ट्रान्जिट बनाएर अमेरिकी र क्यानडेली गाँजा भारत लैजान गिरोह नै बनिसकेको सङ्केत पनि गर्छ यसले।

लागु औषध ब्युरोले केही साता अगाडि अमेरिकाबाट नेपाल भित्र्याउन ल्याएको गाँजा तस्करीमा संलग्न भनेर पक्राउ गरेकाहरूमध्ये भारतीय नागरिक पनि हुनुले पनि यो शङ्का मात्रै हैन भन्ने देखाउँछ नै।

भारत गुजरातका एक नागरिक पक्राउ परेका थिए नेपालीसँगै। यसले जसरी नेपाल अनि भारतमा उत्पादन हुने गाँजा अमेरिका लगायतका देशमा लैजान सङ्गठित गिरोह नै बनेको थियो त्यसै गरी अब उता उत्पादित गाँजा नेपाल र भारत ल्याउन पनि उताका कारोबारी र यताका कारोबारी मिलेर सङ्गठित समूह नै बनाएको हुनसक्ने सम्भावना बढी देखिन्छ।

नेपालमा अमेरिकी गाँजा समातिएपछि केही दिन अगाडि त्यतातिरको अवस्था के रहेछ भनेर केही इन्टेलिजेन्स रिपोर्टहरू अध्ययन गरेको थिएँ। अमेरिकाको सबै क्षेत्रमा गाँजा उत्पादन र विक्री वैध छैनन्।

क्यालिफोर्निया लगायतका केही राज्यहरूमा त्यहाँको सरकारले राजस्व सङ्कलनका लागि गाँजा उत्पादन गर्न अनुमति दिन थालिसकेको निकै भइसक्यो।

गाँजाको वैध उत्पादन सँगसँगै अमेरिकामा अवैध गाँजा खेतीमा सङ्गठित कार्टेलको दबदबा पनि बढ्दै गएको छ। क्यालिफोर्निया र वरिपरिका राज्यहरूमा एसियन र मेक्सिकन कार्टेल नै बढी देखिएको छ।

यसरी क्यालिफोर्नियामा अवैध खेतीमा व्यापकता आएसँगै बसाइँ सर्नेहरूको सङ्ख्या पनि बढेको देखिन्छ। त्यसले भविष्यमा त्यहाँको राजनीतिक परिणाममै प्रभाव पार्ने अवस्थाका बारेमा त्यहाँका अधिकारीहरू चिन्तित देखिन्छन्।

अर्को रोचक के भने यसरी क्यालिफोर्निया बसाई सर्नेहरू अधिकांश एसियन अनि मेक्सिकन मूलका नै बढी देखिएका छन्। अर्को त्यहाँको अवैध गाँजा खेतीमा पनि उनीहरूको संलग्नता बढ्दै गएको पनि देखियो।

केही इन्टेलिजेन्स रिपोर्टहरू अध्ययन गर्दा क्यालिफोर्निया कुनै कुनै काउन्टीमा ६-७ हजार वटासम्म ठाउँमा गाँजाको अवैध खेती गरेको समेत देखियो। अहिले त्यहाँको प्रहरीले यो समस्या आफ्नो नियन्त्रणबाट बाहिर गएकोसम्म स्वीकार गरेको देखियो।

अधिकांशमा एउटै समुदायका व्यक्तिहरू दोहोरिएको देखिनुले त्यता गाँजाको खेतीमा सङ्गठित रूपमा लागु औषधको कारोबारमा संलग्नहरूको प्रभाव बढिरहेको पनि देखाउँछ।

मेक्सिकनहरूको लागु औषधको अन्तर्राष्ट्रिय बजारमा आफ्नै खालको सञ्जाल छ। एसियनहरूको पनि उस्तै बलियो सञ्जाल छ। उनीहरू लागुऔषध तस्करीका माहिर पुरानै खेलाडी हुन्।

त्यसैले अहिले अमेरिकाको क्यालिफोर्निया जे देखिँदै गएको छ त्यसले सरकारले गाँजा उत्पादनमा दिएको वैधतालाई लागु औषधको अन्तर्राष्ट्रिय बजारमा चल्तीका खेलाडीहरूले आफू अनुकूल उपयोग गरिरहेको देखाउँछ।

सबैलाई भन्न खोजिएको हैन। तर जसरी मेक्सिकन र एसियालीहरू बढेका छन् त्यसले कतै सङ्गठित रूपमा उनीहरू नियोजित रूपमा गाँजा खेतीकै लागि अमेरिका केन्द्रित हुन प्रोत्साहित भइरहेका त हैनन् भन्ने शङ्का त बढाउँछ नै।

कमजोर राज्य संरचना भएको नेपालमा पनि गाँजा खेतीलाई वैध बनाउनु पर्छ भनेर अभियान सुरु गरिरहेका छन्। अब अमेरिका जस्तो बलियो संयन्त्र भएको देशमा त यस्तो अवस्था छ। यही तथ्यले नेपालमा गाँजा खेतीले वैधता पाउने हो भने अहिलेको संयन्त्रमा नेपालको हालत के होला?

नेपालमा एउटा गलत सोचले सधैँ अपराधलाई मलजल गर्ने काम गरिरहेको हुन्छ' ह्या हाम्रोमा आएको हैन क्यार, गएको त हो। नेपालीले अर्कोलाई खुवाएर पैसा कमाउँछ भने कमाउन् न त।'

गाँजा तस्करीमा पनि यो सोचले निकै काम गरेको हो। अब नेपालमा त्यतिकै उम्रिने गाँजा भारत, युरोप र अमेरिका पूर्याएर कुनै नेपालीले पैसा कमाउँछ भने किन टाउको दुखाउने भन्ने सोच हाबी भएकै हो एक पटक।

नेपाली प्रशासनले त गाँजालाई अवैध बनाउने सम्भावनै थिए यदि अन्तर्राष्ट्रिय दबाब नआएको भए। नेपालमा गाँजा उत्पादनलाई कानुनी रूपमा बन्देज गराउने काम अमेरिकाले नै हो गरेको।

अब त नेपालबाट गाँजा विदेश जाने मात्रै हैन कि, विदेशको गाँजा नेपाल आउन थाल्यो। तै पनि मेरो अनुभवले नेपालमा आइरहेको अमेरिकी गाँजा पक्कै भारतीय बजार लक्षित हो भन्ने लाग्छ।

यसले नेपाली प्रशासनमा उमार्ने अमेरिका, खाने भारतीय अनि हामीलाई के को टाउको दुखाई भन्ने लाग्न पनि सक्छ। तर त्यसले बढाउने अपराधको शृङ्खला र त्यसले समाजमा पार्ने प्रभाव कसले हेर्ने?

गाँजाको कुरा छाडौँ, नेपालबाट भारत तस्करी हुने अनि भारतबाट नेपाल तस्करी हुने सामाग्री अनि त्यसले समाजमा पारेको प्रभावलाई हेरौँ।

भारतमा उत्पादन हुने रक्त चन्दन नेपाली सिमाहुँदै चीनको तिब्बत पुग्न थाले। उत्पादन हुने भारतमा अनि पुग्ने तिब्बत। नेपालको त सडक मार्ग मात्रै प्रयोग हुने त हो भनेर केही समय प्रशासनले आँखा चिम्लिएर आउने दाम पानीमा सबै रमाएकै हुन्।

पछि दबाब बढेपछि गृह प्रशासन सक्रिय भयो नियन्त्रणमा। त्यो बिचमा सङ्गठित अपराधमा संलग्नहरूले त्यही तस्करीबाट कुस्त पैसा कमाएर आफ्नो आर्थिक हैसियत बलियो बनाए।

त्यो बेला रक्त चन्दनको जरा बालुवाटारसम्म पुगेको सबैको सम्झनामा हुनै पर्छ। जसले जुन कोणबाट व्याख्या गरे पनि यसको मूल कारण त्यही रक्त चन्दन तस्करीमा राज्यले केही समय' अं होस्' भन्नुको परिणाम हो।

दुबईबाट सुन आउने अनि जाने भारत। त्यही सुन तस्करीको सञ्जाल बलियो बन्दै जाँदा सुन हरायो भनेर व्यक्तिको अपहरण गरेर जङ्गलमा लगेर करेन्ट लगाएर मार्ने कामसम्म भएन?

सरकारी संयन्त्र बदनाम भएको होइन र?  जब त्यसले अपराधमा बलियो प्रभाव पार्न थाल्यो तब मात्र गृह प्रशासन तातेको न हो।

अहिले पनि नेपालमा सुपारी, केराउ, ल्यावाङ अनि कालो मरीच ल्याएर भारतमा तस्करी गर्ने गिरोहले सरकारीतन्त्रलाई पारेको प्रभाव हेरौँ न। उनीहरूले कृषि सामाग्री ल्याएको त हुन् भनेर राज्य नदेखेझैँ गरेर बसेको छ। हामीलाई कर आएकै छ भनेर बसेको छ। तर त्यही तस्करीबाट त्यसमा संलग्नहरूको आत्मबल बढेर कैलाली धनगढीमा प्रहरीको हत्या गरेर गाड्नेसम्म हिम्मत गरेको बिर्सिने?

यो गाँजाको हकमा पनि त्यही हो। भारतको बजार लक्षित गरेर नेपाललाई ट्रान्जिट बनाएर अमेरिकी गाँजा भित्रिनु भनेको हाम्रो लागि पनि उत्तिकै ठुलो चुनौतीको विषय हो। यो भारतको सुरक्षा निकायको मात्रै टाउको दुखाइ पक्कै हैन।

अब लागु औषध नियन्त्रणमा सक्रिय प्रहरी युनिटले नेपालबाट अन्य देशमा गाँजा तस्करी हुन्छ भन्ने कोणबाट मात्रै हैन अब त विदेशबाट पनि नेपालमा गाँजा आउँछ भन्ने कोणबाट अनुसन्धान र निगरानी बढाउनुपर्ने देखियो।

विदेशमा गाँजा पठाउन सक्रिय समूह मात्रै हैन अब त नेपालमा बसेर विदेशबाट गाँजा भित्र्याउनेहरू पनि खोज्नुपर्ने चुनौती थपियो। अनि राज्यले पनि 'अँ भारत जाने त हो' भनेर समस्या जटिल बनेपछि मात्र आत्तिने स्वभाव छाडेर तत्काल यसको नियन्त्रणका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्जाल जहाँ जे गर्न सकिन्छ गरिहाल्नु नै उत्तम हो।

नत्र अमेरिकाको टाउको दुखाई भइरहेको हाइब्रिडवाला गाँजाले हाम्रो टाउको दुखाउँदैन भन्न सकिन्न। उनीहरूको संयन्त्र बलियो छ। समस्या हातबाट फुत्कने देखे धान्लान्? अनि हामीले? कसरी धान्ने हो हामीले? 

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

 

१५ चैत, २०७९, २२:०२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।