फिल्म प्रमोशनका लागि हनिमुनै छाड्ने अभिनेत्री !

फिल्म प्रमोशनका लागि हनिमुनै छाड्ने अभिनेत्री !

काठमाडौँ : अभिनय सक्काएपछि फिल्मको प्रमोसनमा वास्तै नगर्ने अभिनेत्रीको सङ्ख्या बहुमत रहेको बेलामा सुरक्षा पन्त भने निकै गम्भीर देखिइन्। अहिले उनी पारिवारिक माहौलमा व्यस्त हुनुपर्ने हो। फिल्म निर्माताले पनि बिदा दिनुपर्ने हो। तर उनी फिल्म बहावको प्रमोसनमा व्यस्त छिन्।

हालै प्रेमी मानव सुवेदीसँग विवाह गरेकी उनको अहिले हनिमुनको मौसम हो नि।बहावको  ट्रेलरमा उनले एक डायलग भन्छिन्' जीवनको नयाँ सुरुवातमा केही हलचल त भइहाल्छ नि।'

विवाह जीवनको नयाँ सुरुवात हो। हलचल त पक्कै भयो होला। तर हलचल थाँती राखेर उनी सौराहामा विवाह गरे लगत्तै काठमाडौँ आएर फिल्म प्रमोसनमा जुटिन्।

फिल्मको पोस्टर मात्र हैन पहिलो गीतले पनि फिल्ममा उनको चरित्र बलियो देखिन्छ। गम्भीर प्रकृतिको अभिनयबाट दर्शमाझ अलग छवि बनाउन सफल पन्तलाई क्यामरामा कैद गराएका छन् प्रमोद कँडेलले।

यसो २-४ वटा सुटिङ हेरेको भरमा एक्सन कट भन्नेहरूको भिडमा कँडेल पहिला फिल्म पढेर निर्देशनमा आएका छन्। उनको यो डेब्यु फिल्म हो।

उनी भिज्योल ल्याङवेजदेखि न्यारेटिभसम्ममा मिहिनेत गरेको र फिल्ममा अलग रूपमा प्रस्तुत गरिएको दाबी गर्छन्। फिल्म उनैले लेखेका हुन्। उनले भारतमा पढेको फिल्मी ज्ञान व्यवहारमा कतिको उतार्न सके पहिलो परीक्षा हो फिल्म बहाव।

सुरक्षा पन्तसँगै अभिनेता कमलमणि नेपाल छन् फिल्ममा। बाबु छोरीबिचको विचारको बहावलाई केन्द्रमा राखिएको झैँ देखिने फिल्मको प्रमोसनले कमलमणि सुरक्षाको बाबुको भूमिकामा छन् भन्ने ठम्याउन गाह्रो हुन्न।

फिल्ममा अफरान अलि, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठले समेत अभिनय गरेका छन्।

फिल्मका निर्माता हुन् श्रीधर पौडेल। उनको यो दोस्रो फिल्म हो। यस अगाडि उनले फिल्म गोपी निर्माण गरेका थिए जसले नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ पाएको थियो।

चैत २४ गते प्रदर्शन हुने भएकाले यो फिल्म यो वर्ष रिलिज हुने अन्तिम फिल्म हो। तर यो एक्लै रिलिज भने हुँदै छैन। बहावसँगै प्रसाद-२ पनि रिलिज हुँदैछ जसका निर्माता कन्ट्रोभर्सी नै कन्ट्रोभर्सीले घेरिएका छन्। लगानी विवादमा फसेका फिल्म निर्माता सुवास थापा कतिखेर प्रहरी हिरासत पुग्छन् पत्तो छैन।

प्रसाद २ फिल्म प्रसादको सिक्वेल हो। सिक्वेलमा लेखक र निर्मातापछि दोहोरिएको विपिन कार्की मात्र हो। कार्की फिल्म प्रमोसनमा भन्दा फिल्म भस्मे डनको छायाङ्कनमा व्यस्त छन्। अभिनेत्री केकी अधिकारी पनि प्रमोसनमा देखिएकी छैनन्।

यो वर्ष व्यापारको कोणले हिट फिल्मको सूचिमा कबड्डी ४ अनि छक्कापन्जा ४ मात्र हो। व्यापार मध्यम भए पनि प्रशंसाको हिसाबले ऐना झ्यालको पुतली पनि हिटै मान्नुपर्छ।

१७ गते प्रेमा फिल्म रिलिज हुने भएकाले योसँगै अब बाँकी तीन फिल्ममध्ये कसैले रेकर्ड बनाए यो वर्ष हिट फिल्मको सङ्ख्या ४ पुग्छ। नत्र पहिल्यै ब्रान्ड बनेका यी २ र प्रयोग गरिएको एक फिल्मले नै यो वर्ष धान्ने रेकर्ड राख्ने छन्। 

१४ चैत, २०७९, ००:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।