भारतीय खालिस्तानी नेता अमृतपाल खोज्दै प्रहरीको विशेष ब्युरो, केही समर्थक र गुरुद्वारा उच्च निगरानीमा
काठमाडौँ : भारत पन्जाबको पृथकतावादी आन्दोलनका नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको भारतीय मिडियाहरूले दाबी गरिरहे पनि नेपालको सुरक्षा संयन्त्रले भने अहिलेसम्म उनी नेपाल आएको पुष्टि हुने सूचना पाएको देखिएन।
खालिस्तानको माग गर्दै छोटो समयमा पृथकतावादी आन्दोलन फैलाउन मुख्य भूमिका खेलेका उनी नेपाल आउन सक्ने र नेपालबाट तेस्रो देश जानसक्नेभन्दै नेपालस्थित भारतीय दूतावासले निगरानीका लागि नेपाल सरकारलाई आग्रह गरेको सूचना सार्वजनिक भयो।
त्यसैलाई आधार मानेर भारतीय मिडियासँगै केही नेपाली मिडियामा समेत अमृतपाल नेपालमा रहेको हुनसक्ने भन्दै समाचार प्रकाशित गरे। तर उकेराले प्रतिआतंकवाद र अन्तरदेशिय अपराधको अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीहरूसँग सम्पर्क गर्दा उनी नेपालमा आएको तथ्य फेला पारेको खुलेन। शंका मात्र देखियो।
'उनी नेपाल आएको हुनसक्ने शङ्का मात्रै हो। प्रमाणित तथ्य हैन,' अन्तरदेशिय अपराध अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उकेरासँग भने' उनी आउन सक्छन् भनेर आवश्यक निगरानी भने भइरहेको छ।'
प्रहरी प्रवक्ता पोषराज पोखरेलले यसबारे विस्तृत टिप्पणी गर्न चाहेनन्। उनले भने' सुरक्षा निकाय सधैँ सचेतै रहन्छ। अपनाउनुपर्ने सबै सुरक्षा सतर्कता अपनाउनु नियमित प्रक्रिया नै हो।'
के तयारी गरेको छ प्रहरीले ?
पोखरेलले विस्तृत कुराकानी गर्न नचाहे पनि उकेराले अमृतपाल खोज्न अपनाएको रणनीतिक सुरक्षा योजनाबारे केही जानकारी भने पाएको छ। उनी नेपाल आइसकेको पक्का सूचना नभए पनि भारतमा उनको खोजी तीव्र भएको अवस्थामा खुल्ला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने वा गरिसकेको हुनसक्ने दुवै कोणबाट खोजीमा सुरक्षा रणनीति कार्यान्वयनमा आइसकेको छ।
अमृतपालबारे अनुसन्धान र खोजीको नेतृत्व प्रहरीको विशेष ब्युरोले सुरु गरिसकेको छ। यसका लागि विशेष ब्युरोको जनशक्तिसँगै अनुसन्धानमा खटिने अन्य युनिटका प्रहरी समेत परिचालन गरिएको छ।
पहिलो सम्भावना उनी नेपाल-भारत सीमामा लुक्न सक्ने भएकाले सीमावर्ती बस्ती अनि गुरुद्वारामा प्रहरी निगरानी बढाइएको छ। उनी खालिस्तानको पक्षधर भएकाले उनले धार्मिकस्थलमा शरण लिनसक्ने प्रहरीको प्रारम्भिक आशंका देखियो।
अमृतपालको खोजीमा संलग्नस्रोतका अनुसार भेष बदलेर नेपाल आउनसक्ने आशंकामा सीमा क्षेत्रमा सतर्कता अपनाउँदै विभिन्न भेषका उनका तस्बिरहरू सर्कुलर गरिएको छ।
लामो समय दुबइमा बसेर हालै भारत फर्किएका उनका एक समर्थकलाई प्रहरीले पक्राउ गरेको बहानामा भारतको पन्जाबबाट सुरु भएको विरोध प्रदर्शन खालीस्तानी समर्थक रहेका अन्य देशमा समेत फैलिइरहेको छ। नेपालमा पनि केही खालिस्तानी समर्थक रहेको प्रहरी सूचीमा देखिन्छ। तर नेपालमा अहिलेसम्म प्रदर्शन भएको छैन।
अध्यागमनमा उच्च निगरानी
उनी नेपालहुँदै तेस्रो देश बाहिरिन सक्ने जोखिमका कारण विमानस्थलमा उच्च सतर्कता अपनाइएको देखियो। नेपालले भारतीय सुरक्षा निकायबाट अमृतपालको राहदानीबारे विस्तृत विवरण प्राप्त गरिसकेको स्रोतले पुष्टी गर्यो। उनले नक्कली राहदानी समेत प्रयोग गर्नसक्नेमा भारतीय पक्षले चासो राखेको देखियो।
त्रिभुवन विमानस्थलमा रहेको विशेष ब्युरोको टिमलाई विशेष गरी दुबई जाने विमानका यात्रुहरूमाथि निगरानी बढाइएको छ। दुबईमा बस्दा त्यहाँ काम गर्न गएका वा त्यतै बसेका नेपालीहरूसँग उनको मित्रता भएको हुनसक्ने र उनीहरुले अमृतपाललाई नेपालमा लुक्न सघाउन सक्ने आशंकामा त्यसबारे समेत सूचना आदानप्रदान गर्ने अनि उनी यस अगाडि नेपाल आए-नआएकोबारे विवरणहरू सङ्कलन गर्ने काम भइरहेको खुल्यो।
काठमाडौँ उपत्यकामा कुपन्डोल र बालाजु उच्च निगरानीमा
अमृतपाल पृथकतावादी धार्मिक अभियानमा सक्रिय भएकाले उनी लुक्न धार्मिक क्षेत्र प्रयोग हुनसक्ने प्रहरीको आशङ्का छ।
नेपालमा वीरगन्जसँगै धनगढी, पाल्पा अनि स्याङ्जापछि ललितपुरमा शिख समुदायहरूको बसोबास देखिन्छ। बाँकेको बनकटवा, हिरमिनियामा पनि गुरुद्वारा छ।
ती क्षेत्रमा रहेको गुरुद्वारा र मठसँगै शङ्कास्पद व्यक्तिमाथि सुरक्षा निगरानी सुरु भइसकेको देखियो। ललितपुर क्षेत्रमा शिख समुदायको बाक्लो बसोबास छ। सो क्षेत्रमा विशेष निगरानी बढाइएको छ।
कुपन्डोलमा रहेको गुरु नानक सत्सँग गुरुद्वारा प्रहरीको उच्च निगरानीमा छ। सो क्षेत्रमा बस्ने शिख समुदायका केही व्यक्तिहरू समेत प्रहरी निगरानीमा रहेको विश्वस्तस्रोतले बतायो।
'सबै शिखमाथि निगरानी छैन। तर पाकिस्तान अनि भारतको पन्जाबमा पटक-पटक आवतजावत गर्ने अनि खालिस्तान अभियानमा कुनै न कुनै रूपमा संलग्न हुनसक्नेहरु भने निगरानीमा छन्,' स्रोतले भन्यो।
गुरुद्वारा कुपन्डोलमा मात्र हो। थापाथली, पशुपति, ज्ञानेश्वर, बालाजु र शोभा भगवतीमा नानक मठ छन् । बालाजुमा सबैभन्दा पुरानो 'गुरु नानक मठ' रहेको छ। सो क्षेत्र पनि प्रहरी निगरानीमा छ।
चैत १४, २०७९ मंगलबार २२:५५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।