चौथो अंग : नेपाली पत्रकारहरूले पदको हिसाबमा चाँडै छलाङ त मारे तर क्षमता...

चौथो अंग : नेपाली पत्रकारहरूले पदको हिसाबमा चाँडै छलाङ त मारे तर क्षमता...

पृथ्वीनारायण शाहबारे लेख्नुपर्यो भने उनीबारे लेखिएका कम्तिमा पनि विभिन्न विचारधाराका इतिहासकाहरूको ५-७ वटा पुस्तक पढ्नुपर्छ अनि केही टिपोट पनि गर्नुपर्छ। किन त?  किनभने हरेक पत्रकारले जुनसुकै विषयमा पनि रिपोर्टिङ गर्दा र स्टोरी लेख्नुअघि ‘होमवर्क’ त गर्नैपर्छ।

होमवर्कले स्टोरीलाई थप शसक्त बनाउँछ नै स्वयं पत्रकारलाई पनि विभिन्न एंगलबाट समाचार सोच्न समय मिल्छ। यही होमवर्कलाई मात्र आधार मानेर अहिले छापिने समाचार या फिचर पढ्ने हो भने होमवर्कको अभाव प्रष्टै देखिन्छ। यसले गर्दा स्टोरी न खँदिलो हुन्छ न भरपर्दो नै।

मैले २०५७ सालमा हो पत्रकारिता सुरुवात गरेको। कान्तिपुरबाट सुरुवात भएको मेरो पत्रकारिता अहिलेसम्म पनि त्यहीँ नै जारी छ। मलाई मिडिया परिर्वतन गर्न मन पनि पर्दैन।

मैले पत्रकारिता पढेको पनि होइन। इतिहास र व्यवस्थापनको विद्यार्थी हुँ म। पत्रकारिताको तालिम पनि लिइन। त्यतिबेलाको कान्तिपुरको हाम्रो ब्याच निकै राम्रो मानिन्थ्यो। त्यहीबेला रिपोर्टर भएकाहरू अहिले धेरै सम्पादक पनि भएका छन्।

कोभिडअघि कान्तिपुरमा राजनीतिबाहेक प्राय पृष्ठमा लेखियो पनि। लेखेरै जीविका चल्यो। सह-प्रकाशनमा लेखेको छुट्टै रकम आउनाले पनि त्यो ब्याचलाई सजिलो थियो। आफ्नो बिटभन्दा फरक बिटमा लेख्दा थप पारिश्रिमक आउँदा लेख्न पनि जाँगर चल्ने।

नेपालको खेलकुद पत्रकारिताबारे धेरै भन्न चाहन्न। तर, अहिलेका अधिकांश खेलकुद समाचार रोबोटले लेखेजस्तो भएको छ। को-को बीच खेल भयो, नतिजा के आयो अनि कुन खेलाडीको भूमिका के रह्यो। यति मात्रै हो प्रकाशित हुने। तर, यतिले मात्र पूर्ण रिपोर्टिङ हुन सक्दैन।

त्यसमा पत्रकारको लेखनकला पनि मिसिनुपर्छ। पाठकलाई खेलै हेरे जस्तै सचित्र अनुभव गराउनेगरी लेख्न सक्नुपर्छ। खेलाडीको मनोविज्ञान बुझ्न सक्नुपर्छ।

खेल हुनुअघि खेल समूह वा खेलाडीबारे जानकारी लिएर फिल्डमा जाने हो भने उसको खेल कौशलको मुल्याङ्कन गर्न सकिन्छ। ऊ बारे इतिवृत्ति दिन सकिन्छ। यसैका लागि हो कुनै पनि विषयमा रिपोर्टिङ गर्नु अगाडि होमवर्क चाहिन्छ भन्ने।

अब होमवर्क नै नगरी गएपछि यति मिनेटमा फलानो खेलाडीले गोल हान्यो, यति मिनेटमा फलानाको गोल रोकियो भन्ने कोरा जानकारी भएको समाचार मात्र आउने त हो। अहिले कोरा समाचार मात्र आउनुको कारण यही होमवर्कको अभावले हो।

भारतकै पत्रकारहरूको करिअर हेर्ने हो भने उनीहरूले पत्रकारिता शुरू गरेको २५ वर्षपछि मात्र चिफ रिपोर्टर हुन्छन्। तर, हाम्रोमा त पदका हिसाबले पत्रकारले निकै छिटो छलाङ मार्ने गरेका छन्। छलाङ त मारेका छन् तर उनीहरूको कामको क्षमता त छर्लङ्गै छ।

खेल समाचार भन्ने बित्तिक्कै खेलको मात्र होइन खेलकुदभित्रको अन्य आयमहरू पनि आउन सक्नुपर्छ। खेलमा राजनीति जहाँ पनि हुन्छ। नेपालमा पनि हुन्छ। विदेशमा संस्थामा भएको राजनीतिले खेल प्रभावित भइहाल्दैन। तर, हाम्रोमा त प्रभाव परिहाल्छ।

हाम्रोमा किन यस्तो हुन्छ भन्नेबारे बलियो रिपोर्टिङ हुनसक्छ। तर, हुन सकेको छैन। एउटै विटमा मात्र होइन अन्य बिटमा पनि लेख्नुपर्छ पत्रकारले। एक विषयमा विज्ञ हुनु ठिक हो। तर, जुनसुकै विषयमा पनि लेख्नसक्ने भर्सटाइल हुन जरुरी छ पत्रकार। यो म जान्दिन भन्ने छुट हुन्न पत्रकारलाई।

फिचर राइटिङ कला हो
पत्रकारिता पेशा भनेको अन्य पेशाको तुलनामा असुरक्षित पेशा लाग्न सक्छ धेरैलाई। जसमा प्यासन हुन्न त्यसका लागि यो क्षेत्र सुरक्षित पनि छैन। प्यासन भएकाहरूका लागि यो क्षेत्र सुरक्षित छ। पत्रकारितामा प्यासन भएको व्यक्तिले मात्रै काम गर्नसक्छ।

पैसा आवश्यक हो। तर, हरेक पेशामा पैसा नै महत्वपूर्ण पनि हैन। जस्तो केही समयअघि स्ट्यान्डर्ड चार्टड बैंकमा हाइपे स्यालरी लिनेहरूले पनि काम छाडे। कारण थियो काममा सन्तुष्ट नहुनु। उनीहरूले आफ्नो काममा इन्जोय गर्न सकेनन्, छाडे। अब इन्जोय नै नहुने काम जबरजस्ती कति समय गर्न सकिन्छ र!

पत्रकारितामा इन्जोय गरेर काम गर्नुपर्ने पेशा हो। यो क्षेत्रमा जबरजस्ती भन्ने हुन्न। जो पत्रकारिता पेशामा रमाउन सक्दैन यो क्षेत्र उसका लागि हुँदै हैन।

आफ्नो काममा रमाउन सक्ने पत्रकारलाई मिडिया हाउसले पनि काम अनुसारको पेमेन्ट पनि समयमै गर्नुपर्छ। समयमा पेमेन्ट भएन भने रचनात्मक सोच हराउन सक्छ। कुन फिचर कसरी लेख्ने होला भनेर सोच्नुको सट्टा खर्च कसरी धान्ने होला भनेर सोच्नुपर्यो भने त कसरी फुर्छ र स्टोरी। धन्न मैले अहिलेसम्म त्यस्तो अवस्था भोग्नुपरेको छैन।

फिचर राइटिङमा कसरी राम्रो लेख्न सक्छु, कसरी शुद्ध लेख्न सक्छु, कसरी प्रस्तुति बबाल गर्नसक्छु भन्ने सोचिरहनु पर्छ रिपोर्टरले। पत्रकारिता गर्नेले दुई-चार भाषा जानेकै राम्रो। जस्तो मलाई उर्दु, हिन्दी, नेपाल भाषा, चिनियाँ भाषा अनि अंग्रेजी पनि आउँछ। नेपाली त आउने नै भयो।

फिचर लेख्नेले फिल्म हेर्ने, गीत सुन्ने, किताब पढ्ने, न्यूर्योक टाइम्स, गार्डेन जस्ता अन्तर्राष्ट्रिय पत्रिकामा प्रकाशित हुने फिचर पढ्ने गर्नु राम्रो। केही घटना वा काम वा निर्णय भएको छ भने त्यो नभएको भए के हुनसक्थ्यो भनेर सोच्ने, कल्पना गर्ने बानी बसाल्नु राम्रो। मेरो चाहिँ एकै बसाइमा लेखिहाल्ने बानी छ। लेख्ने अनि डुलेर फेरि लेख्ने बानी छैन।

जुन विषयमा लेखिन्छ त्यो विषयको औपचारिक शिक्षा नै चाहिन्छ भन्ने हुन्न। तर, अनौपचारिक शिक्षा भने चाहिन्छ। कानून विषयमा रिपोर्टिङ गर्नेलाई कम्तीमा कानूनका आधारभुत कुरा त थाहा हुनुपर्छ। पत्रकारिता सधै अपडेट भइरहनुपर्ने पेशा हो। अपडेट समाचारमा मात्रै हैन शिक्षामा पनि भइरहनुपर्छ औपचारिक होस् या अनौपचारिक। पत्रकारले जति सक्यो त्यति पढ्ने हो।

अर्को न्युजरूमसँग लाइब्रेरी हुन जरुरी छ। हुन त अहिले धेरै कुरा अनलाइनमा छ नि भनिन्छ। तर, नेपाली किताबहरू र कतिपय पुराना सामग्रीहरू खोजेको बेलामा भेटिन्छ भन्ने हुन्न। यस्तोमा लाइब्रेरी भयो भने चाहेको बेलामा सहयोगी सामग्री सहजै पाउन सकिन्छ।

अन्तर्राष्ट्रिय मिडियाको कन्टेन्ट अनुवाद गरेर पनि फिचर लेख्नमा हात बसाल्न सकिन्छ। तर, कोरा अनुवाद मात्र गरेर हुन्न।

लेखाइमा सुधार्न मिडिया हाउसले गर्नैपर्ने काम जर्नल लेखन हो। जर्नल लेखनले फुटनोटहरू लेख्न सिकाउँछ, जसमा आँखैले देखेको कुराको पनि प्रुफ चाहिन्छ।

लेखनमा कति मिहिनेत गर्नुपर्छ भन्नेबारे पत्रकार जानकार हुनुपर्छ। जर्नल पूरै एकेडेमिक शैलीको भनेको होइन है मैले फेरि। केही फरक खाले गर्न सकिन्छ। आफैँले लगातार गरिरहेको रिपोर्टिङलाई पनि अझ बलियो बनाउन जर्नल लेख्न सकिन्छ। तर, हाम्रोमा यसको अभ्यासै भएन।

सिक्ने- सिकाउने संस्कृतिको विकास हुनुपर्यो
पहिले पञ्चायतकालीन पत्रकारहरूले धेरै पत्रकारहरू उत्पादन गरेको देखिन्छ। उनीहरूका धेरै चेला अनि चेलीहरू थिए अनि छन् पनि। जस्तो किशोर नेपालले धेरै पत्रकारहरू जन्माउनुभएको छ।

पहिलेको पुस्तामा आफूले सिकेपछि अरुलाई पनि सिकाउनुपर्छ भन्ने थियो। तर, अहिलेको पुस्तामा त्यस्तो देखिँदैन। अहिलेको पुस्ता सिक्ने अनि सिकाउने दुवै कुरामा चुकिरहेको अनुभव हुन्छ मलाई।

हाम्रो पुस्ताले त्यो संस्कारलाई टिप्न सकेन। तर, अब अर्को पुस्तालाई सिकाउनुपर्छ। मैले केही समयअघि तालिम लिएको थिएँ। त्यो तालिम अन्यत्र सिकाउन पनि मिल्छ। मलाई लाग्छ अब मैले पनि अन्यलाई सिकाउने बेला भइसक्यो।

नेपाली पत्रकारितामा कमीकमजोरीहरू थुप्रै देखियो, सुनियो अनि पढियो पनि। धेरै कुरा आए पनि। अब भने हामीले मिडिया कसरी सुधार्न सक्छौँ?, एउटा रिपोर्टरले कसरी काम गर्न सक्छ? रिपोर्टिङ गर्ने क्षमता भनेको के हो? पढ्न आवश्यक छ।

(कान्तिपुर दैनिकमा आबद्ध हिमेश २३ वर्षदेखि पत्रकारिता गरिरहेका छन्। उनीसँग प्रजु पन्तले चौथो अंग कोलमका लागि गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

१४ चैत, २०७९, १९:३२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।