मिटरब्याज पीडितहरुलाई शिविर बनाएर खुलामञ्चमा राख्ने तयारी गर्नु शंकास्पद : बालेन

मिटरब्याज पीडितहरुलाई शिविर बनाएर खुलामञ्चमा राख्ने तयारी गर्नु शंकास्पद : बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले माइतीघरमा आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुलाई शिविर बनाएर खुलामञ्चमा राख्ने तयारी गर्नु शंकास्पद रहेको बताएका छन्।

साहले सामाजिक सञ्जालमार्फत मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाए पनि खुलामञ्च भने निषेधित क्षेत्र रहेको उल्लेख गरे।

उनले फेसबुकमा लेखेका छन्, ‘यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो। शिविर बनाएर महिनौं वा बर्षौं बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने हो।’

बर्दिवासबाट हिंडेर  काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुलामञ्चभित्र बस्न खोज्दा काठमाडौं महानगरपालिकाले रोकेको थियो।

उनले पिडीतहरुले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको र गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको बताए।

साथै उनले पीडितहरुको माग मन्त्रिपरिषदबाट यथाशिघ्र सम्बोधन हुनुपर्ने पनि उल्लेख गरे।

‘यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनुपर्ने हो। पिडीतहरुलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनु पर्ने हो,’ उनले लेखेका छन्।

बालेनले स्थानीय समस्याहरु स्थानीय सरकारबाट समाधान हुनुपर्ने र माथिल्लो सरकारमा आइपुगे शीघ्रता देखाएर समाधान गरिनुपर्ने समेत बताए।

साथै उनले खुलामञ्च आवाज बोल्न सबैका लागि सँधै खुला रहिरहे पनि उल्लेख गरे।

१४ चैत, २०७९, १०:३४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।