रहस्यमय आगलागीबाट भूत बङ्गला बनेको कपनको भव्य घर, दुवै पक्ष आफूलाई पीडित भन्छन्, राज्य रमिते छ
काठमाडौँ : कपनमा रहेको टङ्क घिसिङको भव्य घर भग्नावशेष बनेको छ महिना भयो। घरको पहिलो तलामा रहेको इलाइट इड्भेन्चरको कार्यालयमा भएको आगलागीले घर बस्नै नसक्ने गरी ध्वस्त भएको थियो।
घटनाको प्रकृति केवल अक्सिजन ग्याँसका सिलिन्डर पड्कँदा हुने क्षति जस्तो देखिँदैन। तर प्रहरी अनुसन्धानमा अन्य कारण खुल्न सकेको छैन।
घर कसले बनाउने निर्मल पुर्जासहितका इलाइटका सञ्चालकसँग सहमति हुन सकेको छैन।
दुवै पक्ष बसेर हुने छलफल निष्कर्षमा पुग्न नसकेपछि यो विषय सल्टाउन बुढानिलकण्ठ नगरपालिका, वडा अनि स्थानीय प्रहरीका प्रतिनिधिसहितको समिति पनि बन्यो। तर सहमति हुन सकेको छेैन अझेै।
घिसिङ पुर्जाले हेपेर क्षतिपूर्ति नै नदिने षड्यन्त्रमा लागेको आरोप लगाउँछन्।
'घरको भ्यालुयशन गर्दा ५ करोड बराबरको क्षति भएको देखियो। इलाइट कम्पनीले दिन सक्दैनौँ,हाम्रो पनि क्षति भएको छ भन्छन्' उनले भने' मेरो त सम्पत्ति नै स्वाहा भयो। समस्या समाधानमा राज्यले पनि सहयोग गरेन।'
इलाइटका सञ्चालकमध्येका एक मिङमा डेभिड शेर्पा आगलागीबाट आफ्नो कम्पनीको पनि सात करोड बढी क्षति भएको दाबी गर्छन्।
'घरबेटी टङ्क घिसिङसँग हाम्रो ३५-४० पटक त बैठक बस्यो। घर लिइदिने भए ५ करोड, जग्गा केही बढी छ त्यो भए ११ करोड भन्नुभयो। यो त हुन सक्ने कुरै थिएन,' उनले उकेरासँग भने।
उनले आफूहरूले घर बनाइदिने प्रस्ताव गर्दा समेत नमानेको अनि एक करोड क्षतिपूर्ति दिन राजी हुँदा पनि नमानेको दाबी गरे।
डेभिडको दाबी अनुसार घर बनाउने प्रस्ताव आएको घिसिङले पनि स्वीकार गरे। घिसिङका अनुसार उनको घर ५५ सय स्क्वायर फिटमा बनेको तर उनीहरूले जम्मा २ हजार पाँच सय स्क्वायर फिटको मात्र घर बनाइदिने भनेको बताए।
'आगलागीमा मेरो त सम्पत्ति नै स्वाहा भयो। आगलागीको कारण त कम्पनी हो नि,' घिसिङले भने' ५५ सय स्क्वायर फिटको घर थियो। अब अहिले २५ सय स्क्वायर फिटको बनाउने भन्दा कसरी मान्न सक्छु त।'
डेभिड भने जम्मा पाँच सय स्क्वायर फिटमा कुरा नमिलेको दाबी गर्छन्। वडाका प्रतिनिधिसहितको बैठकमा आफूले २५ सय स्क्वायर फिटको घर बनाउन राजी भएको तर घिसिङले तीन हजारको माग गरेकाले घर बन्न नसकेको उनको दाबी छ।
'२५ सय स्क्वायर फिटमा अहिले जस्तो घर बनाउने भन्दा उहाँले वडाको बैठकमा ३ हजार स्क्वायर फिटको बनाउनु पर्छ भनेर अड्डी कस्दा घर बन्न सकेन' उनले भने' उहाँलाई क्षतिपूर्ति नदिने भन्ने हैन। तर एकतर्फी फाइदा मात्र हेरेर भएन नि। हाम्रो त तीन जनाको ज्यानै गएको छ। हाम्रो पनि क्षति भएको छ।'
इन्स्योरेन्सको रकममा विवाद
टङ्क घिसिङको सो घर भाडामा लिँदा गरेको सहमति पत्रमा दुर्घटनावश केही भए कसको के जिम्मेवारी भन्ने उल्लेख नहुनुले समेत सहमतिमा समस्या बढाएको देखियो।
घर बहालको सहमतिमा सामान्य बुँदाहरू मात्र छन्। कुनै क्षति भएमा त्यसको के प्रक्रिया हुने उल्लेख छैन। सोही सहमतिका आधारमा इलाइट पुरै क्षति कम्पनीले मात्र बेहोर्न बाध्य नहुने दाबी गरिरहेको देखियो भने घरबेटी घिसिङ उनीहरूको कार्यालयमा भएको आगलागीका कारण क्षति भएकाले मानवीय आधारमा भए पनि उनीहरूले बेहोर्नुपर्ने पक्षमा देखिए।
यही विवादमा घरको बिमाको विवाद समेत मिसिएको देखियो। डेभिड टङ्कले आफूहरूसँग क्षतिपूर्ति पनि लिने अनि बिमा रकम पनि दाबी गर्ने प्रयास गरिरहेको दाबी गर्दै आफूहरूले सबै क्षतिपूर्ति बेहोर्ने हो भने बिमा रकम आफूहरूले पाउनुपर्ने दाबी गर्छन् डेभिड।
उनले टङ्कले सो घर राखेर प्राइम र सनराइजबाट ऋण लिएको र ऋण लिँदा घरको बिमा हुने गरेको बताए।
'उहाँले उता इन्स्योरेन्सको रकम पनि दाबी गरिरहनु भएको छ। यता हामीसँग पनि रकम माग गरिरहनु भएको छ' डेभिडले भने' दुवै तिरको पैसा माग्ने कारण के हो मैले कुरा बुझिरहेको छैन।'
घिसिङ घर बैङ्कमा राखेर ऋण निकालेको स्वीकार गर्छन्। घरको बिमा पनि रहेको तर बैङ्क मर्जहुँदा बिमा नवीकरण नभएर म्याद सकिएकाले समस्या भएको अपत्यारिलो तर्क गरे।
'घरको बिमाको म्याद सकिएर नवीकरण नभएको रहेछ। मैले बिमा रकम पनि अनि घरको क्षतिपूर्ति दाबी गरेको छैन,' उनले भने' म सोझो भएकाले मलाई पेल्ने काम भयो। तर म त्यतिकै चुप बस्दिन।'
'पहिला चिन्ता नगर ब्रो भन्ने निर्मलले पछि हेर्दिन भने'
-टंक घिसिङ, घरधनी
२०६२ सालमा मैले घर बनाएको हो। इलाइट कम्पनीका मिङमा डेभिड र निर्मल पुर्जा आएर कम्पनीको कार्यालय राख्ने निर्णय गरेका हुन्। उनीहरू बसेको लगभग साँढे तीन वर्ष भयो होला।
उनीहरूले ट्रेकिगं अफिस चाहिएको छ, अरू केही राख्ने होइन भनेका थिए। जुत्ता अनि कपडा भण्डारण गर्छन् होला भन्ने थियो।
भुईँ तलामा एक महिना अगाडि दुई कोठामा दिएको थिएँ। उनीहरू पार्टेशन गर्दै थिए। पड्किने दिनमा पनि पार्टेशनको काम भइरहेको थियो। सोफा लगायतका सामानहरू सिफ्ट गरिरहेका थिए।
कार्यालयमा मान्छेहरू आइरहन्थे। सामानहरू भण्डारण गरिरहन्थे। हिमालमा लैजाने सामानहरू राखिरहेका हुन्थे। १५ जना जति रेगुलर आइरहन्थे।
यहाँको काम गर्ने स्टाफहरू थिए। असोज ५ गते अन्दाजी ६ बजेतिर आगो लागेर विस्फोट भएको हो।
घरमा साली मात्रै थियो। उनी माथि टपमा बसेको थियो। उनी गर्भवती थिइन्। त्यो मुनी अफिस थियो। आगो लागेपछि उनी पानी ट्याङ्की आएर हाम्फालेर बाँचेछ। नजिकका छिमेकीहरूले निकालेका रहेछन्।
घरको भ्यालुएशन गर्दा ५ करोड बराबरको क्षति भएको देखिन्छ। इलाइट कम्पनी दिनै सक्दैनौँ, हाम्रो पनि क्षति भएको छ। मेरो भाइहरू मर्यो भन्छन्।
आगलागीमा ४५ तोला सुन गयो। १५ लाखको हिरा गयो। २२ लाख पैसा थियो। त्यो पनि गयो।
धेरैले पैसा बैङ्कमा राख्छ भन्ने सोच्दा रहेछन्। म म्यानपावर व्यवसायी हो। डाइमण्ड ओभरसीज हो मेरो। त्यसको पैसाहरू घरमै थिए।
आगो लाग्दालाग्दै निर्मलले 'ब्रदर म आइपुगे वरि नगर्नुस्' भनेका थिए। हेर्छन् भन्ने भयो। खुसी नै भएँ। मेरियट होटेलमा बोलाएका थिए। उनले अब त्यो घरमा बस्नुहुन्न होला। हामी सबै लिइदिन्छौँ भनेका थिए।
तीन दिन पछि बोलाएर 'ल ब्रदर आगलागी भयो भने कानुनमा केही गर्न नपर्ने रहेछ। कानुनी सल्लाहकार राखेर अघि बढौँ' भने।
मानवीयता पनि हेर्नु भने। तर उनले म बनाउँदिन कुनै कानुनै छैन भने। अब अहिले आएर कानुन खोज्ने भन्दा उनले 'ब्रदर कानुन खोज्ने हो' भनेर हिँडे।
मैले ५ करोड भन्दा कम हुँदैन भनेको थिए। उनले एक करोड भन्दा दिदैदिन्न भने। अहिलेसम्म कुरा मिलेको छैन। वडा ,नगरपालिका र प्रहरीको रोहबरमा समन्वय गर्ने भनेको छ। तर सहमति हुन सकेको छैन।
'घर बनाइदिन्छु भन्दा घरबेटीले मानेनन्'
असोज ५ गते आरोहीको साथमा म मनास्लु गएको थिएँ। उता मौसम बिग्रियो, यता त अफिस जलेछ। भर्खर सुरु गरेको कम्पनी तहसनहस भयो।
कम्पनी खोल्ने भएपछि बूढानीलकण्ठमा राख्ने भयौँ। टङ्क घिसिङको घर लिनुको कारण उहाँ पनि ताप्लेजुङको म पनि ताप्लेजुङको। चिनजान गरेर त्यही घरमा बस्ने निर्णय गर्यौ।
त्यो दिन मनास्लुको चुचुरोमा पुग्न नसक्ने भएपछि हामीले क्याम्पमा बैठक राख्यौँ। निम्स दाइ र चार जना पर्यटक सोही दिन फर्किनु भयो काठमाडौँ।
मेरो लागि भने हेलिकोप्टरमा सिट नै पुगेन। म उतै बस्नु पर्ने भयो। साँझ नेट चलाइरहेको थिएँ। कपनमा आगलागी भन्ने कुरा आयो। पछि त हाम्रो अफिस नै जलेको खबर आयो। मान्छे पनि थियो भन्ने कुरा भयो।
मेरो मन अत्तालिइरहेको थियो। तीन जनाको मृत्यु भएको खबर आयो। भोलिपल्ट बिहानै हेलिकोप्टरमा आएँ। घर ध्वस्त, भाइ लगायत तीन जनाको मृत्यु भइसकेको थियो।
प्रहरीमा जाहेरी मैले नै दिएँ। पोस्टमार्टमको लागि लैजाने देखि सबै काम मैले नै गरेँ। घर कसरी त्यसरी ध्वस्त भयो छक्क पर्छु।
घरबेटीले क्षतिपूर्तिको माग गरेपछि हाम्रो ३५ -४० पटक त बैठक बस्यो। घर लिइदिने भए ५ करोड, जग्गा केही बढी छ सो भए ११ करोड भन्नुभयो। यो त हुन सक्ने कुरै थिएन।
हामीले १ करोड क्यास दिन्छौं अहिले, पछि घर बनाउनु पर्ने भए पनि बनाउँछौँ भन्दा कति स्क्वायर फिटमा बनाउने भन्ने भयो।
हामीले २५ सय स्क्वायर फिटमा अहिले जस्तो घर बनाउने भन्दा उहाँले वडाको बैठकमा ३ हजार स्क्वायर फिट बनाउनु पर्छ भनेर अड्डी कस्दा घर बन्न सकेन।
उहाँहरू म सँग बार्गेनिङ मात्रै गर्नु हुन्छ। मेरो पनि भाइ बितेको छ। सहानुभूति दिने सम्म कोही छैन। मैले क्षतिपूर्ति कस्लाई दाबी गरौँ?
घरबेटीले प्राइम र सनराइजमा कारोबार भएको देखिन्छ। विभिन्न बैङ्कहरूमा उहाँले ऋण लिनु भएको छ। उहाँले उता इन्सुरेन्सको रकम पनि दाबी गरिरहनु भएको छ। यता हामीसँग पनि रकम माग गरिरहनु भएको छ। दुवै तिरको पैसा माग्ने कारण के हो मैले कुरा बुझिरहेको छैन।
हामीलाई तिमीहरूको सिजन आउन लाग्यो, पर्यटकलाई कालो झण्डा देखाइदिन्छु भनेर बारम्बार भनिरहन्छन्। व्यवसाय गर्नेलाई यसरी धम्काउन त भएन नि।
सम्बन्धित समाचार
चैत १३, २०७९ सोमबार २३:०१:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।