विराटनगर सिटी विराट गोल्डकपको फाइनलमा

विराटनगर सिटी विराट गोल्डकपको फाइनलमा

विराटनगर : घरेलु टिम विराटनगर सिटी फुटबल क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगेको छ।

विराटनगरस्थित सहिद मैदानमा सोमबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–१ गोलले निराश बनाउँदै विराटनगर सिटी उपाधि नजिक पुगेको हो।

जितको लागि विराटनगरका स्टेफन ब्याङगनल र अभिषेक गुरूङले एक–एक गोल गरे। जावलाखेलका हिसुब थपलियाले सान्तवना गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलमा घरेलु दर्शकको साथ पाएको विराटनगरले दोस्रो हाफमा आक्रमक खेल पस्कियो। जावलाखेलको फिनिसिङ पक्ष कमजोर रहँदा बारम्बार पाएको गोल गर्ने अवसर खेर फालेका थिए। दोस्रो हाफपछि विराटनगरले अग्रता लिएपछि जावलाखेललाई दवाव परेको थियो।

५९औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेफन ब्याङगनलले गोल गरी टिमलाई अग्रता दिए। बिमल घर्ती मगरले पेनाल्टी एरियाबाट गरेको प्रहार जावलाखेलका गोलरक्षक अनिष देउलाले मैदानतिर बल पालिदिएपछि स्टेफनले गरेको प्रहार गोलमा परिणत भएको थियो।

८७ औं मिनेटमा विराटनगर सिटीका विमल घर्तीमगरले निकालेको क्रस पासलाई बैकल्पिक खेलाडी अभिषेक गुरूङले गोल गरी टिमको लागि विजय गोल गरे। ६१ औं मिनेटमा आफाजको ठाउँमा अभिषेक मैदान प्रवेश गरेका थिए।

दोस्रो हाफको इन्जुरी समयमा जावलाखेलको तर्फबाट हिसुब थपलियाले सान्तवना गोल फर्काए।

विराटनगर सिटीका स्टेफन ब्याङगनल म्यान अफ म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पाए।

मंगलबार हुने अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लब र साविक विजेता विभागीय टिम एपीएफबीच हुनेछ। 

१३ चैत, २०७९, २१:३०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।