स्वयम्भूमा बरालिँदा-बरालिँदै भजन गायक भएका पूर्णकाजी : पोल्ट्री व्यवसायमा लागे तर ‘भजन गाउनेले के कुखुरा मार्नु’ भनेर छाडिदिए
शनिबार त आउनै नहुने। साथीहरू भेला भएर काठमाडौंको कोर एरिया नजिक पर्ने विश्वज्योति, रन्जना र जय नेपाल हल चहारिहाल्नुपर्ने। विहानको शो मा पचास प्रतिशत छुट हुने भएपछि थामिनसक्नुको भीड।
कहिले त फिल्म हेर्नकै लागि पाटनको अशोक हलसम्म पुग्थे, पूर्णकाजी ज्यापु। पुरानै फिल्म हेर्न भए पनि शनिबार चाहिँ हल जानैपर्ने लत लागिसकेको थियो उनलाई।
त्यसो त एक दिन बिहानै तीर्थ नारायण महर्जन फिल्म हेर्न जानको लागि पूर्णकाजीको घर आए। तर, उनी त अनुहार बिगारेर बसिरहेछन्। अनि ‘ह्या आज नजाने मलाई जान मन छैन’ भनेर जवाफ पनि दिए।
अब छुट्टीको दिन बिहानै आएको साथीलाई नफर्काउने निधो गरेर स्वयम्भू जाने योजना बन्यो।
बिहान ७ बजे स्वयम्भूको डाँडामा पुग्दा अलग्गै संगीतले पूर्णलाई मोहित बनायो। त्यो थियो, ज्ञानमाला भजन खलः। पूर्णलाई भित्र जान मन लाग्यो तर ढोकाबाट चिहाउँदा सबै वृद्ध मानिस मात्र देखे अनि लाज माने।
बाहिरै भर्या ङमा बसेर त्यहाँको दृश्य हेर्दै संगीत सुने उनले। निकै बेर ठिटो मान्छेहरू बाहिर बसेको थाहा पाएपछि केहिले उनीहरूलाई भित्र आएरै भजन सुन्न प्रस्ताव गरेको सम्झन्छन् उनी। त्यसपछि त के चाहियो उनीहरू मख्ख पर्दै भित्र गए।
अनि फिल्म हेर्न छोडेर हप्तामा एक चोटी ज्ञानमाला भजन खलः मा जान थाले पूर्ण। केहि दिन त आनदले भजन सुनेरै बिताए। त्यसपछि भने भजन मण्डलीसँगै हार्मोनियम बजाएर भजन गाउन थाले। अहिले ठ्याक्कै ३५ वर्ष भयो पूर्ण त्यहाँ जान थालेको। तर, पछिल्लो ३० वर्षदेखि उनी भजन गाउँदैनन् मात्र सिकाउँछन् पनि।
‘बुढोहरूले मात्र भजन गाउने हो’ भन्दै गाली खाएँ
युवा उमेरमा प्रवेश गर्दा नै भजनमा आकर्षित भए उनी। वृद्ध उमेरका समूहमा बसेर भजन सुन्न थालेको भनेर गाली पनि खानुपर्यो।
‘अहिले कमाउने समय हो। काम सिक्ने समय हो भने’, उनले सम्झिँदै भने, ‘यो त बुढाहरूले मात्र गाउने हो। तिमीहरूले गाउने हैन भनेर घरकाले धेरै गाली गरे। त्यो बेलामा सबै जना ५० वर्ष माथिका मात्र थिए भजन गाउने पनि। हाम्रो उमेरको भनेको म र त्यही साथी मात्र।’
नेवार परिवार अनि नेवारै टोलमा हुर्किएका पूर्ण सानैदेखि संगीतप्रेमी थिए। जात्रा र पर्वमा बाजा बजाएको सुन्दा मख्ख पर्ने स्वभाव रहेछ उनको। धिमे बाजा, बासुरी बजेको सुन्यो कि नाचिहाल्नु पर्ने। हरेक गल्ली-गल्लीबाट निस्केर जम्मा भएको २०-२२ वटा धिमे एकै ठाउँमा बजाउँदाको रौनकै बेग्लै।
‘धिमेमा त त्यो बेला टोलको हिरो नै थिए नि म। यति फास्ट बजाउन सक्थेँ कि सबै भीड मलाई नै हेर्न आएको जस्तो लाग्ने,’ उनले हाँस्दै सुनाए, ‘त्यो बेलामा अझ केटीहरूले हेरेको हुनुपर्छ। जोसको त के कुरा भयो र!’
जात्राको समयमा बजाउँदा उनले पाएको आम्दानी भनेकै समयबजी र रक्सी मात्र हो। टोलमा बजाउने बाजा र त्यहाँको भजन बजाउने शैली एउटै भएकाले घरमा गाली खाए पनि उनी त्यहाँ जान छोडेनन्।
पढाइ, काम सबै गर्न भ्याएर पूर्णले हप्तामा एकदिन भजनकै लागि भनेर छुट्याएर राख्न थाले। उनलाई त्यहाँको संगीतले मोहनी नै लगाएको थियो रे। त्यहाँ नेपाल भाषामा भएको पुरानो-पुरानो भजनलाई समेटेर गाउने गरिन्थ्यो। त्यसअघि पनि उनले केहि भजन सुनिसकेका थिए। त्यसैले नौलो लागेन उनलाई।
‘नेवारी लवजले लज्जित हुनपर्थ्यो’
नेवारी समुदायभन्दा बाहिर ननिस्केका उनलाई नेपाली भाषा बोल्न समस्या भयो। अहिले पनि धेरै नेपाली शब्दमा नेवारी लवजै आउँछ।
‘पढ्दा नेपालीमा पढे पनि कुरा गर्दा नेपाल भाषामै गर्ने गर्थे। अभिव्यक्त गर्दा अलि मान्छेहरू हास्ने गर्थे,’ उनी यसमा भने अलि भावुक सुनिए।
भजन खलः मा पहिला सबै नेपाल भाषामै भजन गाइन्थ्यो। तर, अहिले भने हल्काफुल्का नेपाली भाषामा पनि गाउन थालेका छन्। पूर्णको अहिले पनि हरेक विहान स्वयम्भूमा भजन गाउँदै-सिकाउदै नै बित्छ। भजनकै क्रममा विभिन्न जिल्लामा पनि पुगिसकेका रहेछन्।
ज्ञानमाला भजन खलः ले काठमाडौंका कोर एरियाहरूमा भएका विभिन्न बहाःहरूको संरक्षण गर्ने भन्दै महिनामा एक चोटी त्यहाँ गएर पूजा गर्ने अनि भजन गर्ने गरेको उनले सुनाए।
‘अहिले काठमाडौंमा मात्र नभएर उपत्यका बाहिर गएर पनि भजन गाउँछौ। गाउँ-गाउँमा गएर बुद्धको प्रतिमा राख्ने, बुद्धको ज्ञानको कुरा गर्दै भजन गर्छौं,’ उनले भने।
भजनको क्रममा नेवारी संस्कृतिक बाजाहरू नै बढि बजाइन्छ। पूर्णलाई पनि लगभग सबै बाजाहरू बजाउन आउँछ। एउटा भजन सिक्दा म जस्तो जान्ने मान्छे कोही छैन जस्तो लाग्थ्यो रे। तर, आज हेर्यो भने केही जानेकै रहेनछ भन्ने लाग्ने रहेछ उनलाई।
स्वयम्भूमा हरेक दिन बिहान ६ बजेदेखि सुरु हुने भजन पौने आठ बजे आरती भएसँगै सकिन्छ। हप्ताको सातै दिनको लागि फरक-फरक मान्छेको नेतृत्वमा भजन हुने व्यवस्था मिलाइएको छ।
असन, थहिटीमा जन्मिएका उनका बुवाका तीन दाजुभाइ। अनि तीन दाजु-भाइको आठ जना बच्चाहरूसहित परिवारमा ३६ जना सदस्य रहेछन्। आर्थिक अवस्था कमजोरै। त्यै भएर धेरै पढ्न पनि सकेनन् उनले। दश कक्षा फेल भएपछि पढाइमा उनको मन पनि गएनछ।
‘सुखी भए, खुशी हुन सकेन’
‘स्कुलमा त्यो बेलामा महिनाको १३ रूपैयाँ तिर्न नसकेर सधै टेबलमाथि उठ्नपर्थ्यो। प्रत्येक महिना हाम्रो परिवारको मात्रै ५,६ जना त टेबलमा उभिरहेको हुने,’ उनी विद्यालयकालमा फर्किए, ‘परिवार धेरै। एक जनालाई मात्र तिरेर पुग्दैनथ्यो।’
आफ्नो विद्यार्थी समयको सबै भन्दा यादगार पल नै अहिले उनलाई फि नतिर्दा बेञ्चमा उभिएका क्षणहरू लाग्ने रहेछ। घरमा आर्थिक समस्या थियो नै। तर, पनि खुसी नै हुने रे। त्यो बेलामा एउटा मान्छे आयो भने पनि खुसी। धिमे बजेको सुन्दा पनि खुसी। उनी अहिले सुखी भएको तर खुसी हुन नसकेको भन्छन्।
‘बच्चामा अहिले जस्तो भोज नहुने। वर्षमा तीन-चार ठाउँमा मात्र भोज हुन्थ्यो। त्यो बेलामा आमालाई बोलायो भने बच्चा एउटालाई मात्र लान पाउथ्यो। अनि भोजमा जनाको लागि मेरो पालो कतिखेर आउथ्यो भनेर पर्खेर बस्नु पर्थ्यो,’ उनले सुनाए, ‘भोज गर्न पाइयो भने सबै खान सक्ने मैले। मेरो हजुरआमाहरू छक्क पर्नुहुन्थ्यो। म त कान्छो बाउको छोराको ठूलो छोरा।’
दश कक्षा फेल भएसँगै उनको विवाह भयो। त्यसपछि भने उनको जिम्मेवारी बढ्दै गयो। अनि दश वर्षसम्म उनले खुब मिहेनत गरे। डकर्मी, खेती, ड्राइभिङदेखि लिएर घर भत्काउने ठेक्का पनि लिए। मिनिट्रकमा बालुवा, रोडा बोक्ने काम पनि गरे। तै पनि भजन गाउन छोडेनन्।
रातभर नसुते पनि बिहान त भजनको लागि त पुगेकै हुन्थे। भजनबाटै पनि उनले धेरै मान्छेसँग चिनजान गर्ने मौका पाए। त्यतैबाट कसैले उनको गाडी भाडामा लान्थे त कसैले उनलाई ठेक्कामा घर बनाउने जिम्मा दिन्थे अनि खर्च पनि टरिहाल्थ्यो।
उनले दश वर्ष पोल्ट्री फर्म पनि चलाए। भजनमा लागेको मान्छे ‘के कुखुरा मार्ने काममा लाग्नु’ भनेर छोडिदिएछन्। त्यसपछि घर बनाउँदै बेच्ने काम थाले। लकडाउनपछि उनले त्यो काम पनि छोडे। अहिले आम्दानीको लागि उनले एउटा सहकारी संस्थामा पार्ट टाइम जागिर खाएका छन्।
आफ्नै केहि नयाँ व्यवसाय गरौँ कि जस्तो पनि बेला-बेला लाग्ने गर्छ रे उनलाई । तर, के काम गर्ने टुंगो लगाउन सकेका छैनन्।
चैत १३, २०७९ सोमबार १९:३१:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।