‘संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौँ’

‘संघीयता असफल भैसक्यो, प्रदेश खारेज गरौँ’

बुटवल : राष्ट्रिय जनमोर्चा संघीयतविरुद्व देशभर विरोध प्रदर्शन गरेको छ।

संघीयता विरुद्वको आन्दोलनलाई देशव्यापी रूपमा थप शसक्त बनाउनका लागि सोमबार देशभर विरोध प्रदर्शन गरिएको पार्टीका नेताहरूले बताएका छन्।

सोमबार रुपन्देहीको बुटवलमा संघीयता खारेज, मंहगी र भ्रष्टाचारविरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो।

विभिन्न नारासहित बसपार्कबाट निकालिएको जुलुस बुटवलमा कोणसभामा परिणत भएको थियो। सभामा बाेल्दै राष्ट्रिय जनमोर्चाका सल्लाहकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले संघीयता असफल भइसकेको बताउँदै अब प्रदेश खारेज गर्नुको विकल्प नरहेको बताए।

संघीयता विरुद्धको आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्दै नेता आलमले भने– ‘संघीयता खारेज नभए देश थप संकटमा पर्छ, आम नेपाली जनता संघीयताको विपक्षमा छन्।’

महंगी, भ्रष्टाचार र कालोबजारीले कम आयश्रोत भएका जनतालाई साँझ–बिहानको छाक टार्न समस्या भएकाले दवावमूलक आन्दोलन आवश्यक भएको उनले बताए।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले संघीयताले देश आर्थिक रूपले संकटमा परेको बताउंदै संघीय प्रणाली आफैँमा बेठिक नभए पनि नेपालको हकमा संघीयता आवश्यक नभएको बताए।

रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढाले भौगोलिक रूपमा सानो देश नेपालले आर्थिक रूपमा संघीयता थेग्न नसक्ने बताउँदै प्रदेश खारेजको विकल्प नभएको बताए।

हालै सम्पन्न राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद् बैठकले यहि चैत १० देखि १५ गतेसम्म संघीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनसार राष्ट्रिय जनमोर्चाले देशभर संघीयता खारेजी,मंहगी र भ्रष्टाचार विरुद्व राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरेको हो।

१३ चैत, २०७९, १८:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।