म्यानमारका सेना प्रमुखले भने– ‘हाम्रा विरोधीहरू सबै आतंकवादी हुन्, उनीहरूलाई छाडिनेछैन’

म्यानमारका सेना प्रमुखले भने– ‘हाम्रा विरोधीहरू सबै आतंकवादी हुन्, उनीहरूलाई छाडिनेछैन’

एजेन्सी : म्यानमारको सैन्य सरकारका प्रमुख जनरल मिन आङ लाइङले आफ्नो शक्तिविरुद्ध लडिरहेका समूहहरू आतंकवादी भएको बताएका छन्।

उनले यस्ता समूह विरुद्ध निर्णायक कारबाही गरिने बताए।

सेनाको वार्षिक परेडमा मिन आङ लाइङले भने, ‘मानव अधिकारको मुद्दा र २०२१ मा भएको कूको विषयमा हाम्रो आलोचना गर्ने देशहरू सबै आतंकवादका समर्थक हुन्।’

यस परेडमा सहभागी धेरै सैन्य इकाईहरूमाथि नरसंहारको आरोप पनि छ। यो परेड सेना स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको हो।

दोस्रो विश्वयुद्धको बेला जापानसँग लड्न सन् १९४५ मा म्यानमार सेना गठन भएको थियो।आङ लाइङ २०२१ मा सत्तामा आएका थिए।

सेना सत्तामा आएदेखि गृहयुद्धको अवस्थामा पुगेको म्यानमारमा भइरहने संघर्षमा अहिलेसम्म हजारौंले ज्यान गुमाएका छन् भने लाखौं घरबारविहीन भएका छन्।

जनरल मिन आङ लाइङले भने, ‘शासनको विरोध गर्नेहरूविरुद्ध जस्तो सुकै अवस्थामा पनि म्यानमारको सेना क्रुर हुनेछ।’

लाइङले म्यानमारमा चुनाव गराउने बताए पनि कहिले हुने भन्नेबारे अहिलेसम्म उल्लेख गरेका छैनन्। विजयी दललाई सत्ता हस्तान्तरण गर्ने उनको दाबी छ।

लाइङले भने, ‘निर्वाचन हुनेछ र विजयी दललाई सत्ता हस्तान्तरण गरिनेछ।’

हालै अमेरिकाले नरसंहारको आरोपमा म्यानमारको सेनामाथि फेरि प्रतिबन्ध लगाएको छ। यद्यपि म्यानमारले रुस र चीनजस्ता देशसँग मिलेर काम गरिरहेको छ।

१३ चैत, २०७९, १४:१५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।