बैङ्कमा राखेको पैसा नै सुरक्षित नहुने भएपछि...
काठमाडौँ : केही महिना अघि जय नेपाल महर्जनको नाममा रहेको खाताबाट दुई-दुई लाख गरेर सुसन बन्जारा नामको खातामा पैसा गयो। बन्जाराको खातामा पनि धेरै समय पैसा बसेन। अर्को खातामा ट्रान्सफर भइहाल्यो। ती व्यक्तिले आफ्नो बैङ्कको खाता,पासवर्ड,ओटिपि र एटिएम कसैलाई दिएका थिएनन्। त्यसो भए कसरी पैसा ट्रान्सफर भयो त?
उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएर घटनाबारे जानकारी गराए। प्रहरीले अनुसन्धान गर्दा पैसा वेब मार्फत गएको खुल्यो। बैङ्कसँग जानकारी माग्दा मोबाइल बैंकिङ्गले मार्फत नभएर इन्टरनेट बैंकिंगबाट पैसा ट्रान्सफर भएको जवाफ आयो।
तर, कसरी ? किनकि उनले मोबाइल बैंकिंगको सुविधा लिएका थिए। तर इन्टरनेट बैंकिंगको सुविधा लिएका थिएनन्।
बैङ्कले आफ्नो सफ्टवेयर अपडेट गरेर मोबाइल बैंकिंगको सुविधा लिएकाहरूको इ-बैंकिङ पनि चल्ने बनाए। तर खातावालाई यसबारे जानकारी नै गराइएन। अर्को व्यक्तिले इ-बैंकिङको दुरुपयोग गरे।
'आइपी एड्रेस' इन्टरनेट सेवा प्रदायकले दिन्छ। तर यस्तोमा प्रोक्सी आइपीको प्रयोग गर्ने लगायतका चलाखीले कसले-कहाँबाट चलाएको भनेर थाहा पाउन गाह्रो हुने प्रहरीको अनुभव छ। बैङ्कसँग विवरण माग्दा अनेक बहाना बनाउने, कसैले माग्ने नै गरेको थिएन लगायतका जवाफ आउने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन्।
कागजात प्रमाणीकरण भएको खै ?
ब्याज एउटा कारण भयो, घरमा चोरी होला, लुटिएला भनेर सुरक्षाका लागि पनि बैङ्कमा पैसा जम्मा गर्छन् बचतकर्ताहरू। तर बैङ्कमा राखेको पैसा पनि सुरक्षित नहुने भएपछि बचतकर्तामा त्रास बढ्नु स्वाभाविकै हो।
बढ्दो प्रविधिको प्रयोगसँगै पछिल्लो समय यस्ता घटनाहरू बढेका छन्।
सम्बन्धित संस्थाहरूले सक्कली-नक्कली कागजात प्रमाणित नगरी कारोबारको सुविधा दिने, वालेटमा प्रयोगकर्ता को हो? भनेर पहिचान गर्न समेत झन्झट भइरहेको कार्यालयका प्रहरीको अनुभव रहेछ।
मोबाइल वालेटको प्रयोगमा फोटो दायाँ-बायाँ पट्टीको मात्र राखेर फारम भर्ने, नागरिकतामा भएको फोटो र फारममा भएको फोटोको अनुहार फरक-फरक हुने ,नागरिकताको अगाडि अर्कै परिचय पछाडि अर्कै परिचय हुने, औँठा छाप बिनाको फारम लगायतका त्रुटी रहेको प्रहरीको निष्कर्ष छ।
प्रहरी कार्यालयमा आउने उजुरीको आधारमा बैङ्कहरूलाई यसबारे जानकारी गराए पनि अझै सुधार नभएको प्रहरीको दाबी छ।
नब्बे प्रतिशत पीडित अनजान
अनलाइन ठगिएको घटनामा नब्बे प्रतिशत पीडितहरु निर्दोष देखिन्छन्। बाँकी दश प्रतिशत प्रलोभनमा परेर आफ्नो नाममा रहेको खाता अरूलाई प्रयोग गर्न दिँदा पीडित भएकाहरू छन्।
डिजिटल साक्षरताको कमीका कारण समेत यस्ता घटनाहरू बढेको देखिन्छ। 'नेपाली गर्ल एप्स’ बनाएर पासवर्ड लगायतका महत्त्वपूर्ण डेटा चोरी गरेर ठगी गरेको खुलेपछि प्रहरीले समूहलाई नै पक्राउ गर्यो। अनि एप्स पनि बन्द गरायो। जम्मा आठ कक्षा पढ्ने किशोरले त्यो एप बनाएका थिए।
यस वर्ष मात्र अपराध अनुसन्धान कार्यालयमा ७ सय ९४ वटा अनलाइन ठगीका उजुरी दर्ता भए। डिजिटल भुक्तानीको प्रयोगकर्ता बढे सँगै यसको दुरुपयोग पनि बढ्दो अवस्थामा रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार यस्ता घटनाहरूमा कसैले निर्दोष व्यक्तिको खाता समेत प्रयोग गरेका हुन्छन्। अनि कसैले फर्जी कागजात बाट ठगी गर्ने गरेका छन्।
'घरमा बसीबसी महिनाको पाँच-दश हजार कमाइने प्रलोभनका भरमा आफ्नो वालेट-बैङ्कको जानकारी सबै अरूलाई दिन्छन्। एक लाखको मोबाइल परेको छ, यसको प्रक्रियाको लागि सय, दुई सय डलर पठाउनु भन्दा सजिलै पत्याएर पठाउनेहरू पनि छन्,’ प्रवक्ता राठौर भन्छन्, ’अनि सामान न आए पछि ठगिएको भनेर आउँछन्। जुन खातामा पैसा पठाएको हो त्यो खातामा नाम भएको व्यक्तिले चलाएकै हुँदैन। यस्तो अवस्थामा दुवै जना पीडित हो। तर, प्रमाणको आधारमा पैसा हराउने नै पीडित देखिन्छ।’
उनका अनुसार पछिल्लो समय ३२ देखि ४० प्रतिशत यस्ता घटनाहरू बढेका छन्।
नेपालीले गरेको ठगी र यहाँ भएको पैसाको ट्र्याक गर्न केही हदसम्म प्रहरी सफल भए पनि विदेशमा गए पछि भने त्यो असम्भव जस्तै हुने बताउँछन् प्रहरी।
'आफ्नो पासवर्ड अरूलाई दिन भएन। त्यो त नितान्त व्यक्तिगत कुरा हो। हस्ताक्षर गरेर खाली चेक दिनु र पासवर्ड दिनु बराबर हो। यसमा अझै बढी सचेतनाका कार्यक्रमहरू चलाउन आवश्यक छ,’एसपी राठौरले भने।
१७ वर्षको किशोरीले घरमा बसी-बसी पैसा पाउने भनेर अनलाइनमा देखिन्। मागेको सबै विवरण दिँदा लगभग १७ लाख रूपैयाँ उनको खाताबाट भारत पुग्यो। त्यस बापत उनले जम्मा २० हजार मात्र पाइन्।
'सजिलै कसैले कसैलाई किन पैसा दिन्छ ? त्यो त कमन सेन्सको कुरा होइन र ! यो त जानाजान आफै ठगिन तयार भएको हो नि’ उनले भने।
शुक्रवार बेलुका अत्यधिक कारोबार
अनलाइन ठगिएको घटना विशेष गरी शुक्रवार बेलुका हुने प्रहरीको तथ्याङ्कले देखाउँछ। त्यसको कारण– शनिबार बैङ्क खुल्दैनन्। आइतबार १० नबजी बैङ्क खुल्दैनन्।
एकै व्यक्तिको इबैंकिङ र वालेटबाट पाँच हजार देखि ३५ लाख सम्मको पैसा गएको प्रहरी रेकर्डमा देखिन्छ।
'हामीले एउटा बन्द गर्छौँ फेरि अर्को खुल्छ। हामीले नेपाली गर्ल एप भन्ने बन्द गर्यौ। तर अहिले फेरि अर्को आइसक्यो’ उनले भने,’ पहिला काठमाडौँमा गुण्डागर्दी, अपहरण, चोरीका घटना थिए। अहिले ती फाट्टफुट्ट छ। कोभिडपछि डिजिटल ठगी बढेको छ।'
सामाजिक सञ्जालको धेरै प्रयोग गर्दा अनलाइन ठगीको घटना बढेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार राय बताउँछन्।
'कसैको मानवीय व्यवहार थाहा पाउन सामाजिक सञ्जालले सहज बनाइदिएको छ। सञ्जालमा पोस्ट गरिने तस्विर र विवरणहरूबाट के कुरा मन पर्छ, कस्तो व्यक्ति हो धेरै विषय थाहा हुन्छ’ प्रवक्ता रायले भने,’ त्यसैको आधारमा अपराधमा संलग्नहरूले व्यवहार गरेर सन्देश पठाउने, लोभ्याउने गरेर ठगी गरेको देखिन्छ।'
ठगीका लागी सबैभन्दा सजिलो हतियार नै लोभ हो। अधिकांश ठगीमा त्यसैलाई हतियार बनाएको देखिन्छ।
'पीडितहरूले चाहेर-नचाहेर करोडौं रूपैयाँ हालिदिनुहुन्छ। जब ठगिएको थाहा पाउनुहुन्छ अनि प्रहरीकोमा आउनुहुन्छ,' रायले भने ' उहाँहरूले पैसा दिने मध्यम यस्तो प्रयोग गर्नु भएको हुन्छ कि हामीलाई ठम्याउनै गाह्रो पर्छ। कसैले हुन्डीबाट पठाइरहेको छ। त्यसको न कुनै प्रमाण हुन्छ, न मान्छे आधिकारिक हुन्छ। त्यसमा कसरी प्रमाण खोज्ने?’ उनले भने।
धेरै प्रयोगकर्ताहरूले सजिलोको लागि आफ्नो पासवर्डहरू 'अटो सेभ' गरेर राख्ने गरेको र यसरी राख्दा दुरुपयोग हुने सम्भावना बढी रहेको उनले बताए।
चैत १२, २०७९ आइतबार १५:४६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।