प्रचण्ड नेतृत्वको सरकार पद बाँड्न र कुर्सी टिकाउनमा मात्र केन्द्रित छ : एमाले उपाध्यक्ष पौडेल

प्रचण्ड नेतृत्वको सरकार पद बाँड्न र कुर्सी टिकाउनमा मात्र केन्द्रित छ : एमाले उपाध्यक्ष पौडेल

सुर्खेत : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको हालको सरकार पदहरू बाढ्न र कुर्सी टिकाउनमा मात्र केन्द्रित रहेको आरोप लगाएका छन्।

आइतबार अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यो सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ नै नभएको बताए।

‘सरकारमा पुग्ने र सरकारमा टिक्ने, जिम्मेवारीहरुको बटुवारा गर्नमै अहिलेको गठबन्धन केन्द्रित रहेको छ,’ पौडेलले भने, ‘देशमा अन्य शक्ति राष्ट्रहरूको चलखेल बढेको छ। नेपाल र नेपालीको हितका लागि काम गर्ने आँट र सामर्थ्य अहिलेको सरकारसँग छैन।’

समस्या समाधानभन्दा पनि देशमा कस्ता खालका समस्या छन् भन्ने जानकारी नै अहिलेको गठबन्धनलाई नभएको आरोप पौडेलको छ। उनले देशको अर्थतन्त्र निराशाजनक अवस्था पुग्दा पनि देशले यतिका समयसम्म अर्थमन्त्री नै नपाउनु दुर्भाग्य भएको बताए।

‘सरकारले राम्रा काम गर्ला भनेर आशा गर्ने ठाउँ छैन,’ उनले भने, ‘प्रतिपक्षमा रहेर सडक र सदनबाट जनताका समस्याहरू बुलन्द रुपमा उठान गर्ने र आगामी निर्वाचनका लागि एकल बहुमत निर्माण गर्ने गरी जनता माझ पुग्न मिसन ग्रासरुटमा होमिएका छौं।’

साथै उनले कर्णाली प्रदेश सरकारमा रहेका आफ्ना मुख्यमन्त्री तथा मन्त्रीहरूलाई सरकार छाड्न कुनै निर्देशन नदिने पनि बताएका छन्। ​​​​​​

पौडेलले सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा प्रदेशकै अधिकार रहने बताए।

‘सरकारमा रहने की बाहिरिने भन्ने कुरा सरकारमा नेतृत्व गरेका मुख्यमन्त्रीहरुकै व्यवहारमा भर पर्छ,’ पौडेलले भने, ‘केन्द्रमा समीकरण बदलियो भन्दैमा प्रदेशमा समीकरण बदलिहाल्नुपर्छ भन्ने मनसायमा पार्टीको केन्द्रीय नेतृत्व छैन।’

पौडेलले अन्य प्रदेशमा पनि एमालेबाट मुख्यमन्त्री र मन्त्री बनेकाहरूलाई सरकार छाड वा राजीनामा दिनुपर्छ भनेर कुनै निर्देशन नगर्ने स्पष्ट पारे।

‘समीकरण कायम रहन्छ वा रहँदैन भन्ने प्रदेशमै रहेका एमालेको नेतृत्वमा निर्भर रहन्छ। यसमा केन्द्रबाट कुनै हस्तक्षेप र परिपत्र गरिँदैन,’ पौडेलले भने।

१२ चैत, २०७९, १२:०६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।