११ वर्षमा पनि बनेन दोलखाको फिल्म स्टुडियो, बिना अध्ययनको योजना र कमिसनको खेल बाधक
काठमाडौं : दोलखाको डाङडुङे डाँडामा फिल्म स्टुडियो बनाउनको लाग शिलान्यास भएको करिब ११ वर्ष बितिसक्यो। यति लामो समयसम्ममा पनि एउटा फिल्म स्टुडियोको निर्माण सम्पन्न हुन नसक्नुमा बिना अध्ययनको योजना र कमिसनको खेल मुख्य कारण रहको देखिन्छ।
निर्देशक मनोज पण्डित लामो समयदेखि बन्दै गरेको यस फिल्म स्टुडियोबारे निकै असन्तुष्टि पोख्छन्।
पण्डितका अनुसार करिब १२ वर्षअघि निर्देशकहरूको एक कार्यशाला भएको थियो। कार्यक्रम सफल बनाउन दोलखामा फिल्म स्टुडियो बनाउने कार्यपत्र बिना अध्ययन नै त्यस कार्यशालामा प्रस्तुत गरिएको थियो।
दोलखामा फिल्म सिटी बनाउने भनिएको छ, यता वर्तमान अध्यक्ष भुवन के.सी जसरी पनि काभ्रेमा इन्डोर फिल्म स्टुडियो शिलान्यास गर्ने सोचमा हुनुहुन्छ। यसमा क्रेडिटको खेल मात्रै भइरहेको छ।
जोशमा आएर गरेको बिना अनुसन्धानको त्यही कार्यपत्रको योजनालाई करिब ११ वर्षदेखि सरकारले कमिसन खाने खेलो बनाएको उनको गुनासो छ।
‘राज्यको सबै योजना असफल छ। यो समय सरकारको मुख ताक्ने हैन। जबसम्म निर्माता, निर्देशक, कलाकार र प्राविधिक तात्दैनन् फिल्म स्टुडियो बन्दैन,’ उनले भने, ‘यो चलचित्र विकास बोर्डमा आउने नयाँ-नयाँ अध्यक्षको कमिसन पचाउने अस्त्र मात्रै हुन्छ।’
यस फिल्म स्टुडियो बन्दै गरेको स्थल समुद्री सतहबाट ३ हजार ३३ मिटर उचाइमा रहेको छ। उत्तर पूर्वमा गणेश हिमाल, जुगल हिमाल र गौरीशंकर हिमाल देखिने डाङडुङे डाँडामा फिल्म स्टुडियोको शिलान्यास तत्कालीन सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए।
प्रत्येक वर्ष यसै स्टुडियोका लागि करोडौं बजेट सरकारले छुट्याउँदै आएको छ। तर काम भनै चुस्त हुन सकेको छैन।
‘अवधारणगत रुपमा फिल्म स्टुडियो भनेको अर्वौंको लगानी लाग्ने चिज नै हैन,’ पण्डित भन्छन्, ‘सरकारले निःशुल्क जग्गा उपलब्ध गरायो र फिल्मका लागि चाहिने क्राफ्ट, लाईट, ल्याब, लाइब्रेरी र आवश्यकता अनुसारको टेक्नोलोजी राखिदियो भने फिल्म स्टुडियो बनिहाल्छ। कुन दृष्य कसरी लिने, कस्तो क्राफ्टमा लिने त्यो सबै निर्देशकको हातमा हुने कुरा हो।’
पण्डितका अनुसार अहिलेसम्म फिल्म सिटी बनाउने भनिएको दोलखामा डीपीआर समेत भएको छैन। हचुवाको भरमा अर्वौंको बजेट देखाइएको छ।
बहुवर्षै योजना भएको बोर्डको दाबी
पण्डितले भने अनुसार डीपीआर समेत नभएको कुरामा भने बोर्डका प्रेस संयोजक जीवन पराजुलीले विरोध जनाए।
उनले भने, ‘डीपीआर भएको छ, कुल लागत १६ अर्ब निस्किएको छ। बहुवर्षे योजना भएकाले प्रत्येक वर्ष सरकारले बजेट विनियोजन गरिरहेको छ।’
‘बहुवर्षे योजना छिटो सम्पन्न नहुने रहेछ, मेलम्ची जस्तै। तर सम्पन्न भने अवश्य हुन्छ,’ पराजुलीले हाँस्दै थपे।
जोशमा आएर गरेको बिना अनुसन्धानको कार्यपत्रको योजनालाई करिब ११ वर्षदेखि सरकारले कमिसन खाने खेलो बनाएको उनको गुनासो छ।
घोषणा भएको ११ वर्षसम्म पनि किन पुरा हुन सकेन त फिल्म सिटी? भन्ने प्रश्नमा पराजुली भन्छन्, ‘बाहिर हुँदा म पनि यही प्रश्न गर्थें, अहिले भित्र आएपछि थाहा भयो, सरकारको नीति नियम र कागज अनुसार हिंड्दा त २ वर्ष कता हराउँदो रहेछ कता।’
‘यतिबेला अध्यक्ष भुवन के.सी. पनि रनाहामा पर्नुभएको छ। ६ महिना सिष्टम बुझ्दा बित्यो, ६ महिना कर्मचारी चिन्दा बित्यो, एक वर्ष मन्त्रालय जाँदा, कागजमा हस्ताक्षर गर्दा, बोलाएका कार्यक्रममा जाँदा र विभिन्न समितीमा सदस्य परिपूर्ति गर्दैमा बित्यो। जे योजना बोकेर गएको हो त्यो त पुरा गर्नै नपाइ कार्यकाल सकिन लाग्यो,’ उनले हाँस्दै भने।
चुस्त भएन अनुगमन
बोर्डकै एक सदस्यले भने पण्डितको कुरामा सहमति जनाए। उनले भने, ‘दोलखामा फिल्म सिटी बनाउने भनिएको छ, यता वर्तमान अध्यक्ष भुवन के.सी जसरी पनि काभ्रेमा इन्डोर फिल्म स्टुडियो शिलान्यास गर्ने सोचमा हुनुहुन्छ। यसमा क्रेडिटको खेल मात्रै भइरहेको छ। कसले जस लिने भन्नेमा अल्झिएकाले फिल्म स्टुडियोबारे गम्भीर रुपमा छलफल र बहस हुनै पाएको छैन।’
‘फिल्म स्टुडियो बनाउने कुरा महत्त्वाकांक्षी भयो, मृगतृष्णा जस्तो। ११ वर्ष बितिसक्दा समेत त्यहाँ गतिलो तरिकाले अनुगमन भएको छैन,’ नाम नबताउने सर्तमा ती सदस्यले भने।
अनुगमनको अभावमा त्यहाँ करोडौंको भ्रष्टाचार समेत भएको उनले बताए।
उनले भने, ‘फिल्म सिटी बन्ने ठाउँमा रहेको ६ किलोमिटर बाटो पिच गर्न १२ करोड छुट्याइएको थियो। त्यो पिच बन्यो। तर मज्जासँग लात्तीले हान्दा खाल्टो पर्छ। त्यहाँको ठेक्का लिने र बाटो बनाउने समयमा गर्नुपर्ने अनुगमनमा सरकार चुकेकै हो।’
‘फिल्म स्टुडियो बन्ने जग्गा करिब २ हजार रोपनीमा फैलिएको छ। सरकार क्राफ्ट, ल्याब र सामग्रीको जोहो गर्नुको सट्टा भवन, स्विमिङ पुलसहितको होटल बनाउन लागिपरेको छ। जे बन्नुपर्ने हो त्यो बनिरहेको छैन,’ ती सदस्यले थपे।
त्यहाँको अर्को चुनौती भनेको मौसम पनि हो। मौसम खुलेको समयमा त्यहाँबाट राम्रा दृष्यहरु त खिच्न सकिन्छ। तर धेरैजसो तुवाँलो लाग्ने समस्या आइरहन्छ।
अहिले बोर्डको मातहतमा बनिरहेको उक्त स्टुडियो फिल्म स्टुडियो बन्नका लागि नभइ कमिसन पचाउन लागि मात्रै बनिरहेको समेत ती सदस्यले बताए, ‘त्यो अनुसन्धान बिना भएको कार्य हो, बनिहाले पनि त्यहाँसम्म नेपाली फिल्ममेकर पुग्दैनन्।’
टार्गेट भने विदेशी फिल्ममेकर
दोलखामा बनिरहेको फिल्म स्टुडियो नेपाली फिल्म मेकरका लागि भन्दा पनि विदेशीका लागि भएको प्रेस संयोजक पराजुलीले बताए।
विदेशबाट फिल्म मेकरहरू बिना इक्विपमेन्ट आउन्, सबै सामान फिल्म स्टुडियोको प्रयोग गरून् र फिल्म साथमा बोकेर जाउन् भन्ने लक्ष्य अनुसार यो फिल्म स्टुडियो बनाउन लागिएको उनी बताउँछन्।
फिल्म समयअनुसार परिवर्तन हुन्छ भने प्रविधि पनि समयअनुसार परिमार्जित हुँदै जान्छ। फिल्म जस्तो परिवर्तनशील कुराका आयोजना बहुवर्षे योजनामा बनाउनु नै गलत भएको चलचित्रकर्मीहरु बताउँछन्।
नेपाल सस्तो गन्तव्य भएकाले विदेशीहरु फिल्म छायंकन गर्न नेपाल आउने र दोलखाको फिल्म स्टुडियो प्रयोग गर्ने पराजुलीको अनुमान छ।
उनले भने, ‘नेपालीहरू पैसा तिरेर फिल्म स्टुडियो कमै प्रयोग गर्छन्। हिमालको दृष्य खिच्न दोलखाको डाङडुङे डाँडा नै पुगिराख्न पर्दैन, मुस्ताङतिरै खिच्छन्। त्यसैले फिल्म स्टुडियोको टार्गेट फिल्म मेकर विदेशीहरू हुन्।’
नेपालको कला संस्कृति खिच्न चाहने विदेशी फिल्म मेकरहरू अलपत्रमा नपरुन् भन्ने उद्देश्यले फिल्म सिटी बन्न लागेको उनको भनाई छ।
बालाजु स्टुडियोको हालत नहोस्
नेपाली फिल्मको सुरुवात बलिउडबाटै भयो। नेपालमा बनेको पहिलो नेपाली फिल्म आमा बलिउडको कामदार, प्राविधिक र निर्देशकले बनाएका हुन्।
पछिसम्म पनि नेपाली फिल्मको डबिङ, एडिटिङ भारतमै हुन्थ्यो। निकै आवश्यकता महसुस भएपछि सरकारले फिल्म स्टुडियो बनायो, बालाजु फिल्म स्टुडियो। उक्त स्टुडियोमा फिल्म खिच्नेदेखि रिलबाट फिल्म धुलाउने र डबिङ गर्नेसम्मका काम हुन्थ्यो।
बिडम्बना भनौं, स्टुडियो बनेको केही समयमै फिल्म डिजिटलाइजेसन भयो। महंगोमा किनेको रिल धुलाउने मेसिन, डबिङका मेसिन पुराना भए।
फिल्म स्टुडियो बन्ने जग्गा करिब २ हजार रोपनीमा फैलिएको छ। सरकार क्राफ्ट, ल्याब र सामग्रीको जोहो गर्नुको सट्टा भवन, स्विमिङ पुलसहितको होटल बनाउन लागिपरेको छ। जे बन्नुपर्ने हो त्यो बनिरहेको छैन।
काम नलाग्ने अवस्थामा पुगेपछि सरकारले यस सरकारी सम्पत्तिलाई प्राइभेट लिमिटेडमा दर्ता गरायो। फिल्म विद्यार्थीका लागि राम्रो म्युजियम बन्नसक्ने बालाजु स्टुडियो अहिले कुनै व्यक्तिको खल्तीमा छ। त्यहाँका प्रविधिहरू कौडीको भाउमा बिक्री भइरहेका छन्।
फिल्म समयअनुसार परिवर्तन हुन्छ भने प्रविधि पनि समयअनुसार परिमार्जित हुँदै जान्छ। फिल्म जस्तो परिवर्तनशील कुराका आयोजना बहुवर्षे योजनामा बनाउनु नै गलत भएको चलचित्रकर्मीहरु बताउँछन्।
फिल्म स्टुडियोको अवधारणा सुरुवातमा बनाएको दाबी गर्ने सिनेकर्मी मनोज पण्डित नेपालमा सिनेकर्मीको भेटघाटको थलोको निर्माण गर्नुपर्नै आवश्यकता भने निकै भएको बताउँछन्।
‘यसो सोच्नुस् त, नेपालका फिल्मकर्मी एकैठाउँमा भेला हुने, बिचार उत्पादन गर्ने, विश्वम्भर सिनेमा सम्बन्ध लेखेका किताबहरू बसेर पढ्न पाइने, ल्याब, कलरिङ गर्ने कुनै थलो अहिलेसम्म बनेको छ त? छैन,’ उनले भने।
चैत ११, २०७९ शनिबार १०:०४:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।