प्रहरी अस्पतालले सेटिङमा जीईलाई नै दियो ‘सी–आर्म’ खरिदको टेण्डर, डा. सिंह भन्छिन्– ‘नो कमेन्ट’

प्रहरी अस्पतालले सेटिङमा जीईलाई नै दियो ‘सी–आर्म’ खरिदको टेण्डर, डा. सिंह भन्छिन्– ‘नो कमेन्ट’

काठमाडौं : नेपाल प्रहरी अस्पतालले विवादकाबीच जीई कम्पनीकै ‘सी–आर्म’ मेसिन खरिद गर्ने भएको छ।

अस्पतालले शुक्रबार जीई कम्पनीको नेपाली सप्लायर्स ‘म्याक्स मेडिटेक सिस्टम प्रा.लि’सँग मेसिन खरिद गर्ने बोलपत्र स्वीकृति गर्ने आशयपत्र जारी गरेको हो।

योसँगै अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले चाहेकै सप्लायर्स (म्याक्स मेडिटेक)सँग सेटिङमा मेसिन खरिदको लागि टेण्डर दिएको देखिएको हो।

यसबाट अस्पताल प्रमुख डा. सिंहले कमिसनको खेलमा जीईको मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएर नेपालस्थित सप्लायर्स ‘म्याक्स मेडिटेक’लाई नै टेण्डर पारिदिएको प्रष्टै हुन्छ।

उकेराले एक साताअघि ‘निश्चित कम्पनीको उत्पादनमात्रै मिल्ने खरिद शर्त राखेर महंगोमा सी–आर्म मेसिन किन्दै प्रहरी’ शीर्षकमा समाचारमा प्रहरी अस्पतालले सस्तोमा पाइने पुरानो प्रविधिको ‘सी–आर्म’ मेसिन जीई कम्पनीलाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर महंगोमा किन्नका लागि खरिद प्रक्रिया अगाडि बढाएको खुलासा गरेको थियो।

समाचारमा उकेराले लेखेको थियो, ‘प्रहरी अस्पतालकी (प्रमुख) प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले जीई कम्पनीको मेसिनसँग मात्रै मिल्नेगरी लक्ड स्पेशिफिकेशन बनाएर करिब एक करोड १८ लाखमा सी-आर्म मेसिन खरिद गर्न लागेकी हुन्।’

अस्पतालले शुक्रबार मूल्य अभिवृद्धि करबाहेक ९९ लाख ९९ हजारमा मेसिन खरिद गर्ने गरि बोलपत्र स्वीकृति गर्ने आशयको सूचना जारी गर्यो।

यसबाट अस्पताल प्रमुख डा. सिंहले कमिसनको खेलमा जीईको मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएर नेपालस्थित सप्लायर्स ‘म्याक्स मेडिटेक’लाई नै टेण्डर पारिदिएको प्रष्टै हुन्छ।

उकेरासँगको कुराकानीमा डा. सिंहले भने लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन नबनाएको दाबी गरेकी थिइन्। प्राविधिक समितिले दिएको सुझावअनुसार नै खरीद प्रक्रिया अघि बढेको उनले बताउँदै आएकी छन्। तर, शुक्रबारको सूचनाले उनको दाबी पुष्टि नभएको देखिन्छ।

डा. सिंह भन्छिन्– ‘नो कमेन्ट’ 
शुक्रबार बोलपत्र स्वीकृत भएपछि उकेराले राखेको जिज्ञासामा डा. सिंहले कुनै प्रतिक्रिया नजनाउने बताइन्।

‘अन्ततः जीईलाई नै मेसिनको टेण्डर दिनुभएछ है?’ भन्ने जिज्ञासामा उनले भनिन्, ‘मेरो नो कमेन्ट।’

सबै डिटेल थाहा छ भने सबैकुरा थाहा होला तपाईंलाई। यहाँबाट कसको के संलग्नता छ, कसले के गरिरहेको छ, सप्पै इम्फरमेशन तपाईंहरूलाई दिइरहेको छ, उसैलाई सोध्नुहोस्।

यसमा त अनियमितता नै देखियो नि हैन र? भन्ने दोस्रो जिज्ञासाा समेत उनले दोहोर्याइन्– ‘नो कमेन्ट। कुनै कमेन्ट छैन मेरो।’

उनले चाहेकै जीईलाई नै ‘सी–आर्म’को टेण्डर पर्दासमेत डा. सिंहले भने अनभिज्ञता जनाउँदै पन्छिइन्।

‘मैले स्पेक बनाएको पनि हैन। स्पेकमा मेरो कुनै संलग्नता छैन,’ उनले भनिन्, ‘जो युजर हो, उसलाई दिने हो हामीले स्पेक बनाउन।’

‘कुरा उठिसकेपछि सी–आर्म खरिदको विषयलाई अध्ययन गर्न सक्नुहुन्थ्यो नि त?’ भन्ने जिज्ञासामा डा. सिंहले थपिन्, ‘अध्ययन त गरेकै होला नि त मैले...। सबै डिटेल थाहा छ भने सबैकुरा थाहा होला तपाईंलाई। यहाँबाट कसको के संलग्नता छ, कसले के गरिरहेको छ, सप्पै इम्फरमेशन तपाईंहरूलाई दिइरहेको छ, उसैलाई सोध्नुहोस्।’

डा. सिंहले मेसिन खरिदका लागि अन्य कम्पनी पनि छनोट भएको दाबी गर्दै आर्थिक रूपमा भने जीईको सस्तो परेकाले उसैलाई टेण्डर परेको आशय व्यक्त गरिन्।

सो मेसिन पूरानो प्रविधिको हो, होइन? सो मेसिनको टेक्निकल स्पेशिफिकेशन अनुसार खरिद गर्नु उचित हो, होइन? सूक्ष्म अध्ययन गरी थप राय सहित दुई (२) दिनभित्र खुलाई पठाउन अनुरोध गरिएको छ।

‘...त्यो स्पेकमा त अरु पनि पास भएको छ की छैन त्यो तपाईंलाई थाहा छ की छैन,’ डा. सिंहले भनिन्, ‘त्यो ऊ(जीई) मात्रै पास भएको छ र, अरु पनि पास भएको छ नि! लक्ड भएको भए एउटा मात्रै पास हुन्थ्यो नि त! एउटा भन्दा बढि पास भएको छ नि त!’

टेण्डर पाउनका लागि प्राविधिक र आर्थिक दुवै मूल्यांकनमा छनोट हुनुपर्ने हुन्छ। उकेराले यसअघि नै ‘आर्थिक मूल्यांकनको चरणमा पनि महंगोमा मेसिन ल्याइदिने प्रस्ताव गर्ने जीई कम्पनी नै छानिने सम्भावना’ भएको समाचार प्रकाशित गरेको थियो।

अध्ययनको लागि निर्देशन
त्यसो त उकेराले समाचार सम्प्रेषण गरेपछि चैत ६ गते डा. सिंहले सर्जरी विभागलाई पत्र लेख्दै खरिद हुन लागेको मेसिनको बारेमा दुई दिनभित्र रायसहित खुलाएर पठाउन भनेकी थिइन्।

पत्रमा भनिएको छ- ‘...सो मेसिन पूरानो प्रविधिको हो, होइन? सो मेसिनको टेक्निकल स्पेशिफिकेशन अनुसार खरिद गर्नु उचित हो, होइन? सूक्ष्म अध्ययन गरी थप राय सहित दुई (२) दिनभित्र खुलाई पठाउन अनुरोध गरिएको छ।’

तर, त्यसको चार दिनपछि नै जीईलाई अस्पतालले टेण्डर दिने निर्णय गरेकाले उनले पठाएको पत्रको विभागले के राय दिएको थियो भन्ने विषय भने खुलेको छैन।

अर्थोपेडिक सर्जरीको क्रममा हड्डीको अवस्थाको बारेमा शल्यक्रिया गरिरहेको अवस्थामा ‘सी–आर्म’को माध्यमबाट भिडियो एक्सरे जस्तै गरी एक्सरे गर्दै हेरेर शल्यक्रिया गरिन्छ। जसले गर्दा शल्यक्रिया भइरहेको ठाउँको अवस्थाका बारेमा चिकित्सकलाई जानकारी लिइरहन सहज हुन्छ।

अर्थहिन संशोधन, र अध्ययन
नेपाल प्रहरी अस्पतालले ‘सी–आर्म’ मेसिन खरिदका लागि पुष १८ गते (२ जनवरी, २०२३) टेण्डर बोलपत्र (टेण्डर) आह्वान गरेको थियो।

अस्पतालले प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन पनि गर्यो। तर, लक्ड भएका मुख्य बुँदा भने शंशोधन नै नगरेको देखियो।

बोलपत्र आह्वानको सूचनामा एक सेट ‘सी–आर्म’ खरिदका लागि बोलपत्र प्रस्तावक सप्लायर्स कम्पनीले दुई लाख ९७ हजार बोलपत्र जमानत रकम राख्नुपर्ने उल्लेख थियो। जमानत रकमको आधारमा हेर्दा खरिदको लागि प्रक्रिया अघि बढेको मेसिनको मूल्य करिब एक करोड १८ लाख ८० हजार हुन आउँथ्यो।

बोलपत्र आह्वानको सूचनाअनुसार माघ ६ गतेलाई प्रि-बिड बैठक तोकिएको थियो।

निर्धारित समयमा भएको प्रि—बिड बैठकमा सप्लायर्सहरू सहभागी भएर एउटा निश्चित कम्पनीलाई मात्रै टेण्डर पर्नेगरी लक्ट गरेर प्राविधिक स्पेशिफिकेशन बनाइएको भन्दै सप्लायर्सहरूले स्पेशिफिकेशन संशोधनको प्रस्ताव गरेका थिए।

अस्पतालले प्राविधिक स्पेशिफिकेशनका केही बुँदा संशोधन पनि गर्यो। तर, लक्ड भएका मुख्य बुँदा भने शंशोधन नै नगरेको देखियो।

ल्याप्रोशकोपीको टेण्डर क्यापिटललाई
प्रहरी अस्पतालले ‘क्यापिटल इन्टरप्राईजेज’सँग ‘फोरके ल्याप्रोस्कोपी टावर’ खरिदका गर्ने निर्णय गरेको छ। अस्पतालले शुक्रबार नै सो कम्पनीसँग मूल्य अभिवृद्धि कर बाहेक ९३ लाख ३७ हजार नौ सयमा खरिद गर्ने गरी बोलपत्र स्वीकृति गर्ने आशयको सूचना प्रकाशित गरेको हो।

त्यसैगरी प्रहरी अस्पतालले पेश भएका बोलपत्रहरू सारभूत रूपमा प्रभावग्राही नभएको भन्दै ‘डेन्टल अप्रेशन माइक्रोस्कोप’ खरिदका लागि आह्वान गरेको टेण्डर भने रद्द गरेको छ।

१० चैत, २०७९, २२:४८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।