कोशीबाहेक सबै प्रदेशमा एमाले नेतृत्त्व खोसिँदै, तै पनि कांग्रेस घाटैमा

कोशीबाहेक सबै प्रदेशमा एमाले नेतृत्त्व खोसिँदै, तै पनि कांग्रेस घाटैमा

काठमाडौं : मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोस्रो पटक विश्वासको मत पाएसँगै बागमती प्रदेशबाट एमालेका मन्त्रीहरू बाहिरिए। सुदूरपश्चिम प्रदेशबाट एमाले बाहिरिइसक्यो।

गठबन्धन बदलिएसँगै पुस १० गते एमाले, माओवादी लगायतका दलहरूबीच केन्द्रीय सरकारमा मन्त्रीसँगै प्रदेशको नेतृत्त्वमा सहमति भएको थियो। सहमतिअनुसार सातमध्ये एमालेले ४ प्रदेशको नेतृत्त्व पायो। माओवादीले दुई अनि जनता समाजवादी पार्टी (जसपा)ले एक।

नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा एमाले नेतृत्त्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढल्यो। कांग्रेसमा नेतृत्त्व आयो। कमलबहादुर शाहले विश्वासको मतसमेत पाइसके।

अब बाँकी अहिले कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्री छन्। तर, तीनै मुख्यमन्त्री सुरक्षित भने छैनन्।

माओवादीले शुक्रबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परिसक्यो। गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री छन्। अलि बलियो मानिएको लुम्बिनीमा पनि सुरक्षित देखिँदैन एमाले सरकार। लुम्बिनीमा लीला गिरी मुख्यमन्त्री छन्।

कोशी अलि सुरक्षित देखिन्छ एमालेका लागि। कोशीमा हिक्मतबहादुर कार्की नेतृत्त्वको सरकार छ। कोशीमा एमालेको ४० र राप्रपाको ६ सिट भए पनि बहुमतलाई एक सिट पुग्दैन। नयाँ गठबन्धनले पनि सहजै बहुमत पुर्याउन सक्ने नदेखिएकाले हुनसक्छ तत्काल कोशीबारे माओवादीले कुनै निर्णय गरेको छैन।

माओवादीको दुईमध्ये बागमती सुरक्षित, कर्णालीमा किचलो
माओवादीको भागमा परेका दुई प्रदेशमध्ये बागमती शुक्रबारबाट सुरक्षित भयो। कांग्रेसले मुख्यमन्त्री दाबी गरेर बिहीबारको सभामा नगए पनि विश्वासको मत दिने निर्णय गर्न बाध्य भयो। बिहीबार जम्मकट्टेलले विश्वासको मत पाए।

उता कर्णालीमा पनि कांग्रेसले मुख्यमन्त्रीको दाबी गरिरहेको छ। तर, माओवादीले मानेको छैन। सत्ता बाँडफाँडै गर्ने भए पनि दोस्रो कार्यकाल मात्र छाड्ने माओवादीको रणनीति देखिन्छ।

उता मधेश प्रदेशमा जसमाबाट सरोज यादव मुख्यमन्त्री छन्। मधेसमा ठूला दलको दाबी देखिएको छैन। तर, जनमत पार्टीले मुख्यमन्त्री दाबी गरिरहेको छ। यसअघि जसपा र जनमतबीच आधा-आधा कार्यकालमा सहमति भएको थियो।

कोशी कमजोर हुँदा कांग्रेस घाटामा
अहिले कोशीबाहेक जम्मा दुई वटा प्रदेशको मात्र नेतृत्व बदलिने देखिन्छ। गण्डकी र लुम्बिनीमा सत्ता परिवर्तनको अभ्यास सुरू भइसकेको छ।

दुवै प्रदेशमा कांग्रेसको दाबी देखिन्छ। कांग्रेसले दाबी अनुसार दुवै प्रदेश पाए पनि एमालेभन्दा कम प्रदेशमा उसको नेतृत्त्व हुने देखिन्छ। एमालेले चार प्रदेश पाएको थियो।

तत्काल कांग्रेसले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम पाउने देखिन्छ। एकीकृत समाजवादीले पनि एक प्रदेश आफ्नो नेतृत्त्वमा हुनुपर्ने अडान राखेको छ। तर, प्रदेश खुलाएको छैन।

१० चैत, २०७९, २१:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।