नयाँ आइजिपी कुँवरलाई अवकाश पाएका आइजिपी सिंहको सुझाव : सङ्गठनमा बाह्य र आन्तरिक चुनौती छन् चिरेर जानु
काठमाडौँ : तीस वर्ष सेवा अवधिका कारण शुक्रवार अवकाश पाएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सङ्गठनमा बाह्य र आन्तरिक चुनौतीहरू रहेको बताएका छन्। बिदाइमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले अबको नेतृत्वले त्यस्ता चुनौतीहरू चिरेर जानुपर्ने सुझाव दिए।
शुक्रवार १२ बजेपछि प्रहरी महानिरीक्षक सिंहसँगै प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशङ्कर पञ्जियारले र जनकराज पाण्डेले अवकाश पाउँदै छन्।
बिदाइ कार्यक्रममा सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा बिदाइ कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए।
नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त कुँवर व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शि व्यक्तित्व रहेको भन्दै उनले उनले आफ्नो कार्यकालमा सङ्गठनलाई थप नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका थिए।
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पुर्याएको योगदानका लागि सङ्गठनको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए।
उनले आफ्नो कार्यकालमा सामूहिक नेतृत्वको अवधारणा अनुरूप एक ढिक्का भई सबैले अपनत्व ग्रहण गर्न सक्ने सङ्गठनको निर्माण गर्ने दाबी गरेका थिए।
उनले प्रणालीगत र पद्धतिगत विकासले सङ्गठनको सुदृढीकरण सुनिश्चित भई बाह्य हस्तक्षेप निरूत्साहित हुने बताए। सङ्गठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने उनले बताए।
चैत १०, २०७९ शुक्रबार २१:१७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।