एकान्तकुना यातायात कार्यालयबाट तीन लाइसेन्ससहित बिचौलिया पक्राउ
काठमाडौं : बिचौलियाको रूपमा काम गर्ने एक महिलालाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
ओखलढुङ्गाको चिशंखुगढी नगरपालिका-९ घर भई हाल काठमाडौंको गोठाटार बस्दै आएकी २३ वर्षीया मनिता राईलाई ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो छरितो तरिकाले काम गरिदिन्छु भन्दै रकमसमेत लिने उद्देश्यले राईले बिचौलियाको रूपमा काम गरेको पाइएपछि प्रहरीले बिहीबार दिउँसो सेवाग्राहीका तीन थान सवारी चालक अनुमतिपत्रसहित उनलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकी राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको थियो।
उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार सात दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
चैत १०, २०७९ शुक्रबार २०:१८:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।