आफ्नै नेतृत्त्वमा सरकार बनाउने कांग्रेसको निर्णय

आफ्नै नेतृत्त्वमा सरकार बनाउने कांग्रेसको निर्णय

बुटवल : नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशसभा कांग्रेस संसदीय दलको शुक्रबार लुम्बिनीमा बसेको बैठकले कांग्रेसको नेतृत्वमा प्रदेश सरकार निर्माण गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसका सांसद् तथा पूर्वमन्त्री वीरबहादुर रानाले सरकार पुनर्गठन हुँदा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र त्यसको पहल गर्ने निर्णय आजको बैठकमा भएको जानकारी दिए।

लुम्बिनी प्रदेशमा कांग्रेस दोस्रो ठूलो दल हो। प्रदेश सभामा कांग्रेसका २७ सांसद् छन्।

कांग्रेसका कतिपय नेताहरूले शंकर पोखरेल नेतृत्वको सरकार पुनर्गठन हुँदा माओवादीको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसले यसपटक सरकारको नेतृत्व पाउनुपर्ने बताएका छन्।

यहाँ कांग्रेस नेतृत्वको सरकार गठन भए डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन्। माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ। प्रदेश सभामा माओवादीका सभामुख बाहेक १० सांसद छन्।

माओवादी केन्द्रले पनि सरकार गठनका विषयमा बिहीबार बैठक बसे पनि कुनै निर्णय लिन सकेन।

बैठकमा माओवादीबाट मुख्यमन्त्री नबन्ने अवस्थामा आए अहिलेकै सरकारलाई समर्थन दिने विषयमा सांसदहरूले कुरा उठाएका थिए।

अहिले लुम्बिनी प्रदेशमा माओवादीसहित साना दलको समर्थनमा लिला गिरी नेतृत्वको सरकार छ।

चैत १०, २०७९ शुक्रबार १७:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।