बुटवलमा मोटरसाइकल र बस ठोक्किंदा एक जनाको मृत्यु

बुटवलमा मोटरसाइकल र बस ठोक्किंदा एक जनाको मृत्यु

बुटवल : मोटरसाइकल र बस एकआपसमा ठोक्किंदा बुटवलमा एक जनाको ज्यान गएको छ।

बुटवल उपमहानगरपालिका-१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ७२ प ७३९२ नम्बरको मोटरसाइकल सोही दिशाको लु १ क ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो।

अनियन्त्रित भएको सो मोटरसाइकल भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका लु १७ प ३७६२ नम्बर र लु ६ प ६०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी लु ७२ प ७३९२ नम्बरको मोटरसाइकलका चालक तिलोत्तमा नगरपालिका-४ का २० वर्षीय आविष्कार टण्डनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता महोनबहादुर खाँणले जानकारी दिए।

यस्तै लु १७ प ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा-७ का ३५ वर्षीय हुमबहादुर थापा र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकै ७० वर्षीया ऐश्वर्यादेवी थापा घाइते भएका छन्।

घाइते दुवैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

चैत १०, २०७९ शुक्रबार १३:४९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।