लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता लिन माओवादीको बैठक बस्दै

लुम्बिनी सरकारलाई दिएकाे समर्थन फिर्ता लिन माओवादीको बैठक बस्दै

बुटवल : लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। जसका लागि पार्टीले बिहीबार संसदीय दलको बैठक आव्हान गरेको छ।

बिहीबार दिउँसो बस्ने बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए। तर, नयाँ गठबन्धनमा एमाले र राप्रपाबाहेक सबै परेपछि एमालेलाई समस्या परेको हो।

यता माओवादीका सांसदहरूले आफ्नै नेतृत्वका सरकारमा जाने नभए अहिलेकै सरकारलाई समर्थन गर्नुपर्ने आवाज उठाएको भए पनि बिहीबारको बैठकले ठोस निर्णय गर्ने माओवादीका एक नेताले बताए।

माओवादीले कांग्रेसलाई मुख्यमन्त्री दिन नसक्ने बताउँदै आएको छ। एमालेका शंकर पोखरेल सत्ताच्यूत भएपछि बनेको गठबन्धन दलले तत्कालीन समयमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन गरेकाले यस पटकको गठबन्धनबाट नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुपर्ने तर्क कांग्रेसीहरूको छ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने दावी गरिरहँदा माओवादी केन्द्र भने आन्तरिक विवादमा मात्र भुलेको छ। माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा सीमित गुटको राजनीतिक गरेको भन्दै अहिले माओवादीभित्र तीव्र विवाद छ।

कतिपय सांसदहरूले त संसदीय दलको नेता फेर्नुपर्नेसमेत बताउन थालेका छन्। आजको बैठकमा आन्तरिक मतभेद टुंगाएर अघि बढ्ने एक माओवादी नेताले बताए।

८७ सांसद् रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसद् आवश्यक हुन्छ।

चैत ९, २०७९ बिहीबार ०९:०९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।