ब्याच नम्बर ६९ : भ्रष्ट र उद्दण्ड समाजले जन्माउने नेता रविजस्तै त हो नि
यस पटक अलिकता समाज अनि राजनीतिबारे विवेचना गर्न मन लाग्यो। अब यसमा अपराध त जोडिन्छ नै। समाजको प्रवृत्ति अनि पछिल्लो समय समाजमा बढेको मापदण्डकाबारे पनि लेख्न मन लाग्यो। प्रसङ्ग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति वरिपरि रहे पनि यो मैले बुझेको अहिलेको समाजको चरित्र हो।
नढाँटी लेख्दा मंसिर ४ गते मेरो दुई मध्ये एक भोट राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको थियो। को अनि कस्तो भन्ने भन्दा पनि राजनीतिमा नयाँ पुस्ता आए केही सकारात्मक परिवर्तन हुन्छ कि भन्ने आशैले त हो मत दिएको। पार्टी गठनको ६ महिनामा देखिएको चमत्कार भगवानले हैन मै जस्ता मतदाताको विश्वासले दिएको मतको चमत्कार थियो।
रवि लामिछानेको नागरिकताको इस्यु मतदान अगाडि नै उठेको पनि हो। तर उनले 'प्रक्रिया पुरा गरेको छु' भनेपछि धेरैले वैध नै होला भन्ने विश्वास गरे। शङ्का गरेनन्। नागरिकताको प्रक्रिया नै पुरा नगरेको भए उनले जिते पनि सांसद पद खारेज हुने पक्का थियो। अब खारेज हुने पदमा जित्न किन यत्ति मिहिनेत गर्छन् भन्ने त लागिहाल्छ नै।
असल काम गर्छु भनेर राजनीतिमा आएका नेताले जानाजान व्यक्तिगत स्वार्थका लागि उप-निर्वाचन गराएर राज्य कोषमा भार बढाउँछन् भनेर मतदाताले शङ्का गरी हाल्दैनन् पनि। गरेनन्। पनि।
वैकल्पिक राजनीतिक पार्टीको खोजीमा रहेको जनताको मनोविज्ञानबाट खेल्दै आफू त निर्वाचित भए नै सांसद सङ्ख्या २० पुगेर संसदको चौथो शक्ति पनि भए। युवाहरू सांसद बनेर संसद जाने भए। परिवर्तनको आस हुने नै भयो। तर आशा निराशामा बदलिन दुई महिना पनि लागेन।
यो बीचमा उनी विरुद्ध गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौँ आइसकेको थियो। दलहरूबीचको गठबन्धन भत्कियो। एमालेसहित नयाँ गठबन्धन बन्दा रास्वपा पनि सरकारमा जाने भयो।
जति ठूला अनि आदर्शको गफ लगाए पनि आफ्नो हाकिम विरुद्ध परेको उजुरीको निष्पक्ष अनुसन्धान गर्न प्रहरी डराउँछन् नै। रवि त गृहमन्त्री पो भए।
रविले गृह नै रोजेपछि मनमा शङ्का लागेको थियो अनुसन्धान अगाडि बढ्दैन वा अगाडि बढ्यो भने पनि मुद्दा चलाउनु पर्दैन भन्ने निष्कर्ष आउन सक्छ।
उनले आफ्नो बचाउमा जे तर्क गरे पनि कानुनी प्रक्रिया भनेको त प्रक्रिया हो नि। त्यसमा पनि 'इफ वा बट' भन्ने हुन्छ र! त्यसमा पनि को व्यक्ति अनि उसले के सोचेर यस्तो गर्यो भन्नुको अर्थ हुन्छ र!
धन्न अदालत 'इफ वा बट'तिर लागेन। उनी अमेरिकाबाट नेपाल सपार्न आएको हो या अन्य कामका लागि त्यतातिर हेरेन अदालतले। त्यो हेर्ने काम अदालतको हैन पनि। प्रक्रिया पुरा भएको छ छैन हेर्यो।
अमेरिका नागरिकको हक छाडे पनि यताको नागरिकता सक्रिय गराउने प्रक्रिया पुरा गरेको प्रमाणले देखाएन। नागरिकता निष्क्रिय भएको ठहर गर्यो। सांसद पद खारेज भयो। सरकारबाट बाहिरिए।
धन्न, नागरिकताको विषय प्रहरीमा मात्रै हैन सिधै सर्वोच्च अदालतको संवैधानिक इजलासमा पनि गयो। प्रहरीमै बसेको भए राहदानी उजुरीकै हालत हुने रहेछ नागरिकताको पनि।
इमान हुनेले अदालतबाटै आदेश आएपछि कमजोरी स्विकार्छन्। आफ्नो कारण मतदाताले पुन मतदान गर्नुपर्ने अनि राज्य कोषमा भार बढेकोमा माफी माग्छन्। त्यही त हो फलेको हाँगो झुक्ने भनेको। तर उनी झुकेनन्। आफू विरुद्ध षडयन्त्र भएको नयाँ प्लटतिर पो लागे।
आफ्नो सांसद पद गए पनि १९ जना सांसद त छन् पार्टीमा। यति सङ्ख्या त राम्रै पावर हो नि पोलटिकल बार्गेनिङको लागि। मतदाताले कति आस गरेर मत दिएर पठाएका युवा सांसदहरूलाई उनले आफू विरुद्धको उजुरी व्यवस्थापनका लागि हतियार बनाए।
उनले यी सबै काम आवेगमा या अन्जानमा गरिरहेका थिएनन् भन्ने पछि उनले चाल्दै गएको राजनीतिक कदमले पुष्टि गर्दै गयो। सरकारबाट बाहिरिए पनि गृहमन्त्री हुँदा आफूमाथि हुनसक्ने अनुसन्धान र त्यसलाई आफू अनुकूल बनाउने संयन्त्र बनाइसकेका रहेछन् उनले।
अनि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो उत्तेजित भएर सरकारबाट बाहिरिने अनि समर्थन पनि फिर्ता लिने निर्णय गरेर पोलटिकल पावर घटाएनन्।
गृह मन्त्रालय नपाएको भनेर सरकारबाट बाहिरिए तर सरकारलाई दिएको समर्थन कायम राखेर गठबन्धनसँग सम्बन्ध जोडिराखे।
सांसद पद खारेज हुनु अनि सरकारबाट बाहिरिनु प्रतिकूल अवस्था नै हो नि। उनी प्रतिकूल अवस्थालाई अनुकूल बनाउन रणनीतिक रूपमा लागे। त्यसमा बदलाको भाव मिसियो।
निर्वाचन कार्यालयमा भएको नागरिकताको विषयलाई गृह मन्त्रालय हुँदै प्रहरीसम्म अनि अदालतको संवैधानिक इजलाससम्म लैजाने वातावरण मिडियाले बनाएको हो। तर मिडियाले लेखेको त सत्य ठहरियो नि। अब सत्य कुरामा के को बदला!
राहदानीको विषय त थाती नै थियो नि। भोलि राहदानीको विषयलाई पनि गम्भीर रूपमा उठाउने पहिलो शक्ति त मिडिया नै हो भन्ने उनले नबुझ्ने कुरै थिएन। त्यही भएर पहिलो प्रहार मिडियाको विश्वसनीयतामाथि गरे उनले। शङ्काको घेरामा पारिदिए मिडियाको निष्पक्षता।
उनीबारे कसैले लेख्यो भने अहिले पनि सामाजिक सञ्जालमा '१२ भाइ' भनेर आलोचना गर्छन् नि उनका समर्थक। हो उनले बनाउन खोजेको वातावरण यही थियो। उनी सफल भए। तर त्यसले उनीप्रति विश्वास गर्ने कतिको मन भाँचियो त्यसको उनलाई के मतलब।
मिडियाले लेखेको समाजले नपत्याएपछि उनलाई राहदानीबारे खेल्न सहज हुने भयो। त्यसको भरपूर प्रयोग पनि गरे, सहज पनि बनाए।
आफ्ना पार्टीभित्रका सांसदहरूको मनोविज्ञानबारे रवि जानकार नहुने कुरै भएन। त्यसैले त उनले १९ मा १९ जना सांसदलाई आफ्नो विषयमा मौन बनाइदिए। कसैले 'हैन यो चैं अलि गलत हो' भन्नै सकेनन्।
उनले 'म बिना तिमीहरूको केही हैसियत छैन है' भनेर तर्साएकै देखियो आफ्नै सांसदलाई। रविमाथि मात्रै हैन युवामाथि मतदाताले विश्वास गरेका हुन् भन्ने आत्मविश्वास देखिएन।
नत्र त पार्टी सभापतिले पार्टीको मञ्च प्रयोग गरेर भडाँस पोख्दै देखाएको गैर राजनीतिक प्रहसनबारे कसै न कसैले 'यो गलत भयो' भन्थे नि। कसैले बोले र? बरु 'बोलेको ठीक हो' पो भनेको सुनियो।
सरकारलाई दिएको समर्थन कायम थियो नै। स्वतन्त्र उम्मेदवार राष्ट्रपति हुनुपर्छ भन्ने नीति विपरीत राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई भोट दिने निर्णयमा कसैले विमति राखेनन्।
आफ्नो दलको उम्मेदवारलाई मत दिएपछि काँग्रेस लोयल हुने नै भयो। अब माओवादी पनि लोयल, काँग्रेस पनि लोयल। उता एमाले त लोयल थियो नै। प्रमुख तीनै दल लोयल भएपछि प्रशासनबाट आफूले चाहे अनुसारको नतिजा ल्याउन के गाह्रो भयो र नेपालमा!
अनि सार्वजनिक रूपमै राष्ट्रपतिलाई भोट र सरकारलाई विश्वासको मतसँग राहदानीको मुद्दा नचल्ने निर्णयमा लेनदेन भएकै हो भन्ने स्थापित गर्न जुन दिन सरकारलाई विश्वासको मत दिए त्यही दिन मुद्दा चलाउन लायक विषय हैन भनेर महान्यायाधिवक्ता कार्यालयबाट सदर गराउन लगाए।
महान्यायाधिवक्ता तीन-चार दिनपछि निर्णय गरेको भए पनि के फरक पर्थ्यो र! तर उनलाई प्रचण्ड पनि मेरो पक्षमा हो है भन्ने सन्देश पनि दिनु थियो।
प्रचण्ड उनी चितवन ३ मा उम्मेदवार बन्ने भए भनेर गोरखा गएका हुन् नि। अब उनले नै संसदीय राजनीतिक करिअरै सिद्दिनसक्ने रविको अपराध पनि सेटल गराउन निर्णायक भूमिका निभाउनु रविका लागि त ठुलो सफलता हुने नै भयो।
यसले उनको राहदानीको मुद्दालाई उचालिराख्ने माओवादी समूह पनि मौन बस्न बाध्य भए। अब बोल्नु पनि कसरी! आफ्नै पार्टीको अध्यक्षको सहयोगमा सेटल भएको छ। रविलाई गाली गर्दा त अध्यक्षले पनि गाली खान्छन्।
उता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मतदान गरेर कांग्रेसीहरुलाई पनि गुन लगाइसकेका थिए। उनीहरू पनि त्यही गुन सम्झिएर धेरै निष्क्रिय बसे। रविले जे गरे पनि माफी दिने र अनि हाइहाइ गर्ने जमात त छँदै छन्।
OOO
राहदानीको विषय अदालतमा लगेर परीक्षण गर्न लायक विषय हो या हैन भनेर धेरै बहस गरिरहन आवश्यक छैन। अदालत पुर्याउन नदिई प्रशासनिक प्रक्रियाबाट मुद्दा सल्टाउन गरेको हतारले नै उनले दण्ड लायक कसुर गरेका हुन् भन्ने पुष्टि गरिहाल्यो।
नेपालको संविधानले गैर आवासीय नेपालीलाई सीमित अधिकारसहित नागरिकता दिने व्यवस्था गरेको छ। तर त्यो कार्यान्वयनमा आइसकेको छैन।
अब राजनीतिक अधिकारसहितको दोहोरो नागरिकताको त संविधानले पनि कल्पना नगरेको विषय भयो। नागरिकता नै सक्रिय नहुने भएपछि राहदानी वैध हुने कुरै भएन।
त्यसमा २०५० सालमा रविले बनाएको नेपाली नागरिकता उनी अमेरिकी नागरिक बने लगत्तै निष्क्रिय भइसकेको भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै फैसला भएको विषय भयो।
उनले नेपाली राहदानी आफू अमेरिकी नागरिक बनेपछि बनाएको त आफैंले स्वीकार गरिसकेको कुरा भयो। यती तथ्यले नै यो अदालतमा परीक्षणयोग्य गतिविधि हो भन्ने पुष्टि हुन्छ नै।
यदि अदालत जाँदा आफू दोषी ठहर हुने भय रविमा थिएन भने उनले यसरी राजनीतिक शक्तिको प्रयोग गरेर प्रशासनिक बाटोबाट मुद्दा सेटल गराउनतिर लाग्ने नै थिएनन्। बकाइदा अदालतबाट सफाइ लिएरै आउँथे।
अदालतमा परीक्षण भयो भने दोषी ठहरिने डरले उनले प्रशासनिक निर्णय गराएका हुन्। यसैले पनि राहदानीको विषय अदालतमा परीक्षण योग्य हो या हैन भन्ने पुष्टि हुँदैन र!
OOO
अहिलेको हाम्रो समाज अनुशासनहीन छ। समाजमा दण्डहीनता बढेको छ अनि दण्डहीनताले आपराधिकरण बढाएको छ। अहिलेको जोसँग पैसा छ अनि जो अराजक छ त्यसैको पछि भ्रमित भएर लाग्नेको जमात ठुलो छ।
त्यो कुरा बुझ्न गार्हो पनि छैन जुन कुरा मैले निरन्तर मेरा लेखमा लेख्दै आएको विषय पनि हो। अहिले नेपालमा पुस्तैनी मेहनत गरेर कमाउने धनाढ्यको कुनै अर्थ छैन। अहिले त नव धनाढ्यको भाउ छ।
जसको हातमा मुङ्ग्रो छ उसकै समाजमा भाउ छ। जसरी कमाउने हो कमाउन चैं कमाऊ भन्ने मानसिकता हाबी भएपछि समाज भ्रष्ट हुने नै भयो। अब यस्तो सोच विकास भएको समाजले आफ्नो स्वार्थपूर्ति गर्ने नेता छान्न छाडेर असल र नैतिकवान नेता कहाँ छान्छ र!
त्यसैले रविको विषयलाई यो समाजबाट अलग गरेर हेर्ने सकिँदैन। उद्दण्डतालाई साहसको रूपमा लिने समाजको मनोविज्ञानमा खेल्दै रविले हाकाहाकी 'हो मैले दोहोरो राहदानी बनाएकै हो, कसले बनाएको छैन र' भनेका हुन्। अपराध गरे दण्डित हुनै पर्ने समाजको मनोविज्ञान भएको भए उनले हाकाहाकी आफ्नो अपराध स्विकार्ने थिएनन्।
त्यसैले त समाजबाट कानुन उलङ्घन गरेको प्रतिक्रिया आएन पनि। बरु अदालतबाट गलत काम हो भनेर ठहराएको विषयमा पनि समर्थनमा पो प्रतिक्रिया आयो। यही त हो अराजकतातिर बढ्दै गरेको समाजको चरित्र।
मेरो दृष्टिमा एमाले अध्यक्ष केपी ओली अनि रवि लामिछाने अहिलेको समाजको मनोविज्ञान राम्रो सँग बुझेका नेता हुन्। उनीहरू समाजले जे चाहेको छ त्यही गर्छन्, त्यही बोल्छन्। अनि समाजको ठुलो तप्का छ जे बोले पनि समर्थन गर्ने।
उनीहरू के गर्दा र बोल्दा समाजले वाहवाही गर्छ त्यो बुझेका छन्। अनि उनीहरूले जे बोले पनि समाजलाई सही लाग्छ। जे गरे पनि हाम्रै हितका लागि हो भन्ने लाग्छ। अनि समाजको त्यो अवस्थालाई उनीहरू आफ्नो स्वार्थमा उपयोग गर्छन्।
केपी ओलीले आफ्नो स्वार्थ पूर्ति गर्न पब्लिक कन्जप्सनका लागि जे पनि बोल्छन्, सार्वजनिक मञ्चमै अराजक व्यवहार गर्छन्। उनले देखाएको त्यही अराजकतालाई समाजले वाह भनिदिन्छ। रविको केसमा पनि त्यही हो।
रविले चैं सबको उद्धार गर्न सक्ने मै मात्र हुँ भन्ने भ्रम छर्न सफल छन्। अनि ठूला दलका नेताको व्यवहार र उद्दण्डताबाट वाक्क भएका नागरिकले जेसुकै होस् भनेर अर्को उद्दण्डलाई अगाडि बढाइदिएका पनि हुन्।
अर्को कारण चैं दोहोरो नागरिकता र पासपोर्टबारे राजनीतिज्ञ, कर्मचारीतन्त्र र शक्तिकेन्द्रमा रहेकाहरू धेरैको मनमा डर पनि छ।
उनीहरूका सन्तान वा परिवारका कुनै न कुनै सदस्य विदेशमै छन्। यता उनीहरूको नाममा सम्पत्ति पनि छ। उनीहरूले पनि न नागरिकता छाडेका छन् न राहदानी। यसले अहो हाम्रा पनि यस्तै त छन् नि भन्ने मनोविज्ञान बढाउने काम पनि गर्यो।
रविले यही मानसिकतामा खेले। यस्तो मानसिकता र सामाजिक अवस्था रहेसम्म खेलिरहने छन्।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
चैत ९, २०७९ बिहीबार ०१:३८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।