दर्ज्यानी पाएसँगै सुरु भयो आइजिपी बन्ने रेस, पहिलो पटक प्रतिस्पर्धामा महिला एआइजी

दर्ज्यानी पाएसँगै सुरु भयो आइजिपी बन्ने रेस, पहिलो पटक प्रतिस्पर्धामा महिला एआइजी

काठमाडौँ : बुधबार प्रहरी अतिरिक्त महानिरीक्षकको दर्ज्यानी चिन्ह पाएका पाँच प्रहरी अधिकृतमध्ये एक जनाले केवल चार दिन मात्र यो पदको नेतृत्व गर्न पाउने छन्।

मन्त्रीपरिषद्लाइ सिफारिस अनुसार बुधबार एआइजीको दर्ज्यानी चिन्ह पाएका पाँच जनामध्ये एक जना अबको चार दिनपछि प्रहरी सङ्गठनको सर्वोच्च पद प्रहरी महानिरीक्षक हुनेछन्।

बुधबार वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले एआईजीको दर्ज्यानी चिन्ह लगाए। अब प्रहरी सङ्गठनको भावी नेतृत्व यी पाँच मध्येबाटै चुनिने पक्का छ।

धिरजप्रताप सिंहको नियुक्तिभन्दा अघिसम्मको अवस्था हो भने बढुवा सिफारिसमा भएको क्रम सङ्ख्याका आधारमा लगभग प्रतिस्पर्धी पक्का हुन्थ्यो।

वरिष्ठता, कार्यसम्पादन, कमान्ड कन्ट्रोल लगायतका पाँच क्षमताका आधारमा एआईजीमध्येबाट सरकारले आइजिपी नियुक्त गर्न सक्ने भनिए पनि आइजिपी बढुवामा वरिष्ठता र कार्यसम्पादन हाबी हुने गरेको थियो।

नवराज सिलवाल, प्रकाश अर्याल अनि जयबहादुर चन्दको पालामा तीन नम्बरमा रहेका चन्दलाई सरकारले आइजिपी नियुक्त गरेपछि वरिष्ठता विवाद सर्वोच्चसम्म पुग्यो।

सरकारले चन्दको बढुवाको निर्णय गरे पनि कार्यान्वयन हुन सकेन। सर्वोच्चको आदेश अनुसार कार्यसम्पादन नम्बरमा पहिलो नम्बरमा रहेको देखिएपछि बरीयतामा दोस्रो नम्बरमा रहे पनि प्रकाश अर्याल प्रहरी प्रमुखमा नियुक्त भए।

सिंहको पालामा पनि उनी एआइजीमध्ये तेस्रो नम्बरमा मात्रै हैन उनीभन्दा डेढ वर्ष अगाडि नै एआइजी भएका विश्वराज पोखरेल पहिलो नम्बरमा थिए। सहकुल थापा दोस्रो नम्बरमा।

तर सरकारले सिंहलाई आइजीपीमा नियुक्त गर्यो। नियुक्तिविरुद्ध पोखरेल अदालत गए। अदालतले कसलाई आइजिपी बनाउने त्यो तजबिजी अधिकार सरकारको भएको व्याख्या गर्यो।

यसले बुधबार एआइजीको दर्ज्यानी चिन्ह पाएका पाँचै जना समान प्रतिस्पर्धी भए। बढुवामा कुन कति नम्बरमा बढुवाको सिफारिसमा परे भन्ने वरियता नम्बर हैन केवल क्रम सङ्ख्या मात्रै बन्यो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारै पाँचमध्ये जो कोही प्रहरी महानिरीक्षक बन्न सक्ने सङ्केत गरिसके।

दर्ज्यानी चिन्ह पाएपछि प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका पाँचै जना एआईजीलाई उनले बढुवा भएका पाँचै जना सक्षम प्रहरी अधिकृत भएको भन्दै पाँच जनामध्ये एक जना आइजिपी हुने बताए।

उनले मेरिटको आधारमा आइजीपीमा बढुवा भएकाले विवाद नभएको भन्दै पाँचै एआइजीलाई मिलेर काम गर्न आग्रह गरेका थिए।

तर सहज छैन बढुवा

एआइजीको दर्ज्यानी चिन्ह पाउनु अगाडि नै सिफारिस सूची निस्किए लगत्तै पाँचै जना प्रहरी अधिकृतहरू भावी आइजिपी हुन दौडधुपमा खटिइसकेका थिए। दर्ज्यानी चिन्ह पाइसकेपछि यो दौडाई बढ्ने पक्का छ।

किनकि प्रधानमन्त्रीले सबै काबिल अनि सबै सक्षम भने पनि आइजिपी हुने एक जना मात्र हो। अनि आइजिपी नियुक्तिको परम्पराले कार्यक्षमता र दक्षताको आधारमा मात्रै नियुक्ति सम्भव हुन्न भन्ने पटक-पटक पुष्टि भइरहेको पक्ष हो।

बुधबार दर्ज्यानी चिन्ह पाएका पाँच अधिकृतको स्वभाव अनि दक्षता एकै खालको छैन पनि। हरेकमा आ-आफ्नै क्षमता छ। कुँवर प्रहरी सङ्गठनमा लामो समय लोप्रोफाइलमा बसेर काम गरेका अधिकृत हुन्।

एसएसपीबाट डीआइजी बढुवा नभएसम्म उनी भावी प्रहरी प्रमुखको प्रतिस्पर्धामा थिएनन्। डीआइजी बढुवामा एकाएक पहिलो नम्बरमा हुने गरी बढुवा पाएपछि उनी सबैभन्दा बलिया प्रतिस्पर्धीका रूपमा अगाडि देखिए। एआइजी बढुवामा पनि उनको क्रम सङ्ख्या पहिलो नम्बरै कायम रह्यो।

उनीसँग निकट भएर काम गरेकाहरू उनी समन्वयात्मक रूपमा काम गर्ने स्वभावको रहेको बताउँछन्। अपराध अनुसन्धानमा उनको अनुभव महानगरीय अपराध महाशाखाको प्रमुखको कार्यकाल हो।

क्रम सङ्ख्या दुईमा रहेका राई नेपाल प्रहरीमा भित्र अन्तरदेशिय अपराध अनुसन्धानमा काबिल प्रहरी अधिकृत हुन्। उनी लामो समय सङ्गठित र अन्तरदेशिय अपराध अनुसन्धान गर्ने विशेष ब्यूरोमा काम गरेका थिए।

ब्यूरोमा मात्र काम गरेका काबिल सुबोध घिमिरेले भविष्य नदेखेर एसएसपीमै राजीनामा दिएर अमेरिका पलायन भए। बमबहादुर भण्डारी काबिल अधिकृत हुँदाहुँदै पनि प्रतिस्पर्धामै आउन सकेनन्।

सायद यही देखेर होला राई विशेष ब्यूरोबाट निस्किएर नर्मल पुलिसिङमा केन्द्रित हुँदै जिल्ला र प्रदेश केन्द्रित भए। प्रहरी प्रवक्ता बने।

तेस्रो नम्बरमा रहेका थापा रणनीति निर्माण र व्यवस्थापनमा समन्वयात्मक भूमिका निभाउन कुशल प्रहरी अधिकृतको रूपमा परिचित छन्। उनको यही स्वभावले जोखिमपूर्ण क्षेत्रमा प्रायः उनी पुग्ने गरेका थिए।

चितवनको भरतपुरमा महानगरपालिकाको निर्वाचनमा मत च्यात्ने घटनामा उनले कुशलताका साथ समन्वय गरेका थिए।

श्याम ज्ञवालीको पहिचान रणनीति निर्माण र समन्वयात्मक स्वभाव देखिन्छ। सामूहिक सुझावको आधारमा निर्णय गर्ने उनको स्वभाव रहेको उनीसँग काम गरिसकेका प्रहरी कर्मचारी बताउँछन्।

बाँकी रहिन बज्राचार्य। लैङ्गिक आधारमा मात्रै हैन कार्यक्षमताका आधारमा समेत बज्राचार्य प्रहरी सङ्गठनको नेतृत्व गर्न सक्ने सक्षम प्रहरी अधिकृत हुन्।

राष्ट्रिय फुटबल टिममा रहेर फुटबल खेलिरहँदा उनी २०५२ मा प्रतिस्पर्धाको आधारमा प्रहरी निरीक्षकको रूपमा सङ्गठनमा प्रवेश गरेकी थिइन्।

सङ्गठित अपराधको अनुसन्धानमा विशेष दखल रहेकी उनले मानव बेचबिखनविरुद्ध गरेको उत्कृष्ट अनुसन्धान गरेकोमा अन्तर्राष्ट्रिय पुरस्कार पाएकी थिइन्।

उनले तत्कालीन अमेरिकी विदेश मन्त्री जोन केरीबाट मानव बेचबिखन विरुद्ध उत्कृष्ट काम गरे बापत अन्तर्राष्ट्रिय पुरस्कार पाएकी थिइन्।

बज्राचार्य प्रतिस्पर्धाको आधारमा प्रहरी सङ्गठनमा एआइजी बन्ने पहिलो महिला अधिकृत हुन्।

चैत ८, २०७९ बुधबार २०:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।