राष्ट्रियसभामा सांसद् पौड्यालको प्रश्न– प्रहरीले नागरिकको मुख थुन्न मिल्छ कि मिल्दैन?
काठमाडौं : राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारको जवाफ मागेकी छन्।
बुधबार राष्ट्रिय सभा बैठकमा उनले मंगलबार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्बिरबारे चासो राखेकी हुन्।
‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरूले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्बिरहरू जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो?’, पौड्यालले प्रश्न गरिन्।
संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको भन्दै उनले प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गरेकी छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ गरेको थियो। त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए।
चैत ८, २०७९ बुधबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।