अनलाइनबाट ७० रूपैयाँदेखि करोडौं ठगिएको भन्दै प्रहरीमा उजुरीका चाङ, यसरी फस्छन् विद्यार्थीदेखि वकिलसम्म
काठमाडौं : फागुन २९ गते दिउँसो सुनिता सापकोटा(परिवर्तित नाम)लाई नचिनेको नम्बरबाट फोन आयो। फोन उठाइन्, जिल्ल परिन् र सिधै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन्।
सापकोटाविरुद्ध अनलाइन ठगीको उजुरी परेको रहेछ। त्यहाँ उनलाई प्रहरीले ‘पीडितलाई पैसा तिर्ने कि सजाय भोग्ने?’ भनेर सोधे। उनी केहि बोलिनन्। तर, त्यसको भोलिपल्ट आफैँ पनि पीडित भएको भन्दै निवेदन दिन प्रहरी कार्यालय पुगिन्।
बिजनेसको लागि नेपाल आउन लागेको भनेको थियो। त्यै भएर त्यति धेरै पैसा आएको र गएको देख्दा पनि त्यस्तो शंका त लागेन
सात महिनाअघि गैर सरकारी संस्थाको नामबाट उनलाई ‘व्हाट्स एप’मा म्यासेज आयो। आइफोन र हिराको हार विमानस्थल आइपुगेकोले लिनको लागि बोलाइएको भनियो। त्यो म्यासेज झुट भन्ने लागेर ब्लक गरिन् उनले।
‘आइफोनसम्म भए पत्याउँथे होला, हिराको हार भनेपछि विश्वास लागेन,’ उनले भनिन्, ‘अनि म्यासेज ब्लक गरेँ।’
त्यसकै दुई महिनापछि उनलाई एउटा विदेशी मान्छेको तस्बिर भएको फेसबुक अकाउन्टबाट रिक्वेस्ट आयो। रिक्वेस्ट स्वीकारेर बोल्न थालिन् उनी।
‘आफू बेलायतमा बस्ने र केही दिनमा बिजनेसको लागि नेपाल आउन लागेको भन्दै बैंक खाता खोलिदिन भन्यो। मैले केहि गडबड त हुँदैन नि भन्दा डराउन पर्दैन, नेपाल आएपछि तिमीलाई त्यो अकाउन्ट खाली गरेर दिउँला भन्यो,’ उकेरासँग उनले भनिन्, ‘मलाई बरु तिमीलाई पनि अलि–अलि खर्च दिउँला भनेको थियो। म लोभिएँ, बैंक अकाउन्ट खोलेँ।’
त्यसपछि उनले विदेशमा बस्ने भनिएको व्यक्तिलाई ‘एटिएम कार्ड’ बाहेक ओटिपी, इमेल, र मोबाइल बैंकिङको पासवर्ड दिइछन्। उनले आफ्नो खातामा पैसा आएको र गएको हेरिरहिन्। त्यसबारे अन्य कसैलाई पनि भनिनन्।
‘बिजनेसको लागि नेपाल आउन लागेको भनेको थियो। त्यै भएर त्यति धेरै पैसा आएको र गएको देख्दा पनि त्यस्तो शंका त लागेन,’ उनले भनिन्।
एक महिनाअघि एक महिलाले फोन गरेर पैसा मागेपछि भने उनी झस्किइन्।
‘एक महिनाअघि एक आन्टीले मलाई तिम्रो खातामा मेरो एक लाख गएछ देउ भनेर कल गर्नुभयो,’ उनले थपिन्, ‘अनि मैले त्यो खाता मेरो नामको भए पनि मैले चलाउँदिन भन्दा त्यसो भए खाता बन्द गर र मलाई पैसा चाहिँ देऊ भन्नुभयो।’
खाता बन्द गराउन बैंकमा गए पनि सुनितालाई मुख्य कार्यालय जान भनेछन्। मुख्य कार्यालयमा निदेवन दिइन्। तर, बैंकले निवेदनको जवाफ दिनुअघि नै प्रहरीबाट फोन आयो र उनी प्रहरी कार्यालय जानुपर्यो।
प्रयोग गर्न सजिलो भएकाले वालेटप्रति प्रयोगकर्ताको आकर्षण बढेको देखिन्छ। तर प्रहरी तथा विज्ञ भने यसले सुरक्षा चुनौती थपिरहेको बताउँछन्।
‘मैले बैंकको हेड अफिसमा खाता बन्द गराउन दिवेदन दिएको थिएँ,’ उनले थपिन्, ‘एक्कासी प्रहरीले मविरुद्ध उजुरी परेको छ भन्दै पैसा फिर्ता गर्न भनिरहेको छ, अब त्यत्रो पैसा कहाँबाट ल्याएर दिनु?’
कक्षा १२ पास गरेर काठमाडौं पढ्न आएकी १८ वर्षीया सुनिता अहिले आत्तिएकी छन्। उनले यसअघि बैंकमा खाता पनि खोलेकी थिइनन् रे।
प्रहरीलाई उनले उपलब्ध गराएको प्रमाणमा ती व्यक्तिले उनलाई अर्कै सिम कार्डको प्रयोग गरेर खाता खोल्न भनिएको देखिन्छ। तर, उनले भने आफैँले प्रयोग गरिरहेका मोबाइल नम्बर प्रयोग गरेर खाता खोलिछन्।
प्रहरीका अनुसार उनको खाताबाट दश लाख बराबरको कारोबार भएको देखिन्छ। पीडितको पैसा गएको हुनाले सुनिताले पैसा त तिर्नैपर्ने प्रहरीको भनाइ छ। अहिले उक्त घटना अनुसन्धानमै छ।
प्रयोगकर्ता सँगै ठगी पनि बढ्दै
सुनिता त एउटा उदाहरण मात्र हुन्। उनीजस्ता सयौं पीडित अहिले उजुरी लिएर प्रहरीको साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र अपराध अनुसन्धान कार्यालय आउने गरेका छन्। प्रहरीका यी तीनै कार्यालयमा पछिल्लो समय अनलाइन ठगीको उजुरी बढ्दो छ।
मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र विभिन्न डिजिटल वालेटहरूले विद्युतीय भुक्तानीमा आम मानिसको पहुँच बढाएसँगै ठगी र चोरीको घटनासमेत बढिरहेको प्रहरी तथ्याङ्कमा देखिन्छ।
त्यस्ता व्यक्तिहरू नेपाल बाहिर बसेर यहाँ परिचालित गरिरहेका हुन्छ। त्यसले गर्दा उनीहरूलाई ट्र्याक गर्न पनि कठिनाइ हुन्छ।
भुक्तानी सेवा प्रदायक (पीएसपी)द्वारा उपलब्ध गराइने मोबाइल वालेट (ई–मनी)को प्रयोगकर्ता पछिल्लो समय बढेको देखिन्छ। बैंकको पहुँच हुन नसकेको र थप सहजताको लागि भनेर विभिन्न वालेटका प्रयोगकर्ता एक महिनामा एक लाख ६३ हजार थपिएका छन्।
राष्ट्र बैंकले सार्वजनिक गरेको भुक्तानी प्रणाली इन्डिकेटरमा वालेट प्रयोगकर्ता १ करोड ५९ लाख ६२ हजार ९०७ थियो भने माघको तथ्याङ्कमा १ करोड ६१ लाख २६ हजार ४३३ छन्।
त्यस्तै पुसदेखि माघसम्म आइपुग्दा मोबाइल बैंकिङ प्रयोगकर्ता भने १६ हजार ८९६ घटेको देखिन्छ। तथ्यांकअनुसार मोबाइल बैंकिङको प्रयोगकर्ता पुसमा २ करोड ५३ हजार ४२० थियो भने माघमा २ करोड ३६ हजार ५२४ पुगेको छ।
प्रयोग गर्न सजिलो भएकाले वालेटप्रति प्रयोगकर्ताको आकर्षण बढेको देखिन्छ। तर प्रहरी तथा विज्ञ भने यसले सुरक्षा चुनौती थपिरहेको बताउँछन्। अहिले पनि साइबर ब्यूरोमा उजुरी गर्नेको भीड नै लाग्ने गरेको देखिन्छ।
आर्थिक वर्ष २०७९/०८० को फागुन मसान्तसम्म ब्यूरोमा ‘डिजिटल वित्तीय अपराध’का मात्र ९५५ उजुरी दर्ता भएका छन्।
७० रूपैयाँदेखि करोडौंको कारोबार
अनलाइन मार्फत ‘वित्तीय अपराध’ मा ७० रूपैयाँदेखि करोडौंको कारोबार भएको साइबर ब्यूरोका प्रवक्ता पशुपति कुमार रायले उकेरालाई जानकारी दिए। यसरी फस्नेहरूमा भर्खरै मोबाइल चलाउन जान्नेदेखि लिएर वकिल, इन्जिनियरसम्म छन्।
‘डिजिटल साक्षरता र डिजिटल धोखाधडी बारे जनचेतना छैन भनेर पनि कसरी भन्ने खै, पीडितहरू पहिला पैसा दिन्छु भन्दा मख्ख पारेर आफ्नो बैंकको एकदम प्राइभेट कुरा समेत शेयर गर्छन् अनि पैसा नआएपछि ठगियो भन्दै उजुरी गर्न आउँछन्। कति पीडित त सार्वजनिक पदसम्म पुगेकाहरू पनि छन्।’
अनलाइन ठगीका घटनाहरूमा अधिकांश पीडित र पीडकलाई आपसमा भेटाएर पैसा तिर्न लगाइन्छ भने केहिलाई मात्र थुनामा राखिन्छ।
त्यसैगरी, सीआईबीले राखेको तथ्याङ्कमा पनि यस आर्थिक वर्षमा ३३ जनाविरुद्ध उजुरी परेको छ। उनीहरूमध्ये १० जना पक्राउ परिसकेका छन्। यस आर्थिक वर्षमा मात्र सीआईबीमा ४ करोड १५ लाख भन्दा बढि रकम ठगीको उजुरी परेको देखिन्छ।
सीआईबीका प्रवक्ता संजयसिंह थापाका अनुसार यी मध्ये एउटा जुवा कसुरका हुन् भने बाँकी सबै सामान पार्सलका ठगी हुन्। जुन सबै इमेल मार्फत भएका छन्।
त्यस्तै, यसै वर्ष अपराध अनुसन्धान कार्यालयमा पनि जम्मा ७९४ वटा अनलाइन ठगीका उजुरी दर्ता भएका छन्। उजुरीका चाङ बढेपछि अपराध अनुसन्धान कार्यालयमा ‘साइबर अपराध’ हेर्नको लागि भनेर छुट्टै शाखा नै खोलिएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेंद्र सिंह राठौरले कार्यालयमा सबैभन्दा बढि अनलाइन ठगीका उजुरीहरू आउने गरेको जानकारी दिए। पछिल्लो समय फर्जी कागजातका आधारमा बन्ने बैंक खाता र वालेटका प्रयोगकर्ताहरूका कारण प्रहरी अनुसन्धानमा एकदमै कठिनाइ हुने गरेको उनले सुनाए।
‘एक त ठगी र धोकाधडी गर्दा फेक डकुमेन्टहरू बुझाउने गरेको धेरै हुन्छन्। अनि अर्को भनेको त्यस्ता व्यक्तिहरू नेपाल बाहिर बसेर यहाँ परिचालित गरिरहेका हुन्छ। त्यसले गर्दा उनीहरूलाई ट्र्याक गर्न पनि कठिनाइ हुन्छ।’
प्रहरी स्रोतका अनुसार यस्ता अनलाइन ठगीका घटनाहरूमा अधिकांश पीडित र पीडकलाई आपसमा भेटाएर पैसा तिर्न लगाइन्छ भने केहिलाई मात्र थुनामा राखिन्छ।
चैत ८, २०७९ बुधबार १३:३९:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।