चितवन, बारा र तनहुँमा हुने उप-निर्वाचनका लागि आजबाट दल दर्ता सुरू

काठमाडाैं : आगामी वैशाख १० गते चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उप–निर्वाचनको दल दर्ता बुधबारबाट सुरू हुँदैछ।
निर्वाचन आयोगले एक विज्ञप्ति निकालेर चैत ८ गतेबाट १२ गतेसम्म दल दर्ता सुरू गर्ने जानकारी गराएको हो।
आयोगले चैत १६ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ भने चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका छ।
यस्तै, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ।
चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनकाे सांसद पद गुमेकाे थियाे।
बारा-२ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्।
तनहुँ-१ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए।
आयाेगले रिक्त रहेका तीनवटै क्षेत्रमा एकैपटक निर्वाचन गर्ने गरी तयारी गरेको हो।
चैत ८, २०७९ बुधबार ०७:४३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।