छ नयाँ अनुहारसहित सात वर्षपछि लाओससँग भिड्दै नेपाल, यस्तो छ टिकट दर

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल शुरु हुँदैछ।
थ्री नेसन्स कपमा घरेलु टोली नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ। थ्री नेसन्स कपको उद्घाटन खेलमा नेपाल र लाओसबीच साँझ ६ बजे उद्घाटन खेल हुँदैछ।
घरेलु मैदानमा लाओसविरुद्ध खेल्दा नेपाल जितको लक्ष्यमा हुनेछ। नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेल्न लागेको हो।
एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–० ले खेल जित्दा ट्राइब्रेकरमा किरण नायक बनेका थिए।
नेपाली टोलीका कप्तान किरण चेम्जोङले छोटो तयारी भए पनि लाओसविरुद्ध खेल्न नेपाली टोली तयार रहेको बताएका छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले थ्री नेसन्सका लागि आफूले उत्कृष्ट खेलाडी छनोट गरेको बताएका छन्।
थ्री नेसन्स कपका लागि मुख्य प्रशिक्षक एनेसले ६ नयाँ अनुहार र केही पुराना खेलाडीलाई टोलीमा समेट्दै २३ सदस्यीय टोली घोषणा गरेको छ।
सुमित श्रेष्ठ, मणि कुमार लामा, सनिस श्रेष्ठ, पदम भट्टराई, अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन्।
यस्तै लामो समयपछि फरवार्ड भरत खवास, मिडफिल्डर नवीन लामा र डिफेन्डर आदित्य चौधरीले टोलीमा पूनरागमन गरेका छन्। नवीन राष्ट्रिय टोलीमा परेपनि डेब्युको मौका पाएका छैनन्।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन्। विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ।
उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन्। एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार टिकट दर राखेको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट हुनेछ।
चैत ८, २०७९ बुधबार ०७:२५:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।