जेठ ५ गतेलाई रिलिज मिति तोक्दै ‘गणपति’को पोस्टर सार्वजनिक

काठमाडौं : आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ।
आस्थाको रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ।
निर्देशक सबिन अधिकारीले यो चलचित्रले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताए। यस चलचित्रमा निर्देशनसँगै लेखन पनि सबिन अधिकारीको नै रहेको छ।
मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ।
‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारीले बताएका छन्। चलचित्रमा अभिनेता भुषाल टाइटल क्यारेटरमा छन्।
‘गणपति’ मा आफूलाई दर्शकले अहिलेसम्मकै भिन्न भूमिकामा देख्न पाउने भुषालको भनाई छ। यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा भएको हो।
एबिगम्यान फिल्मसको ब्यानरमा लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ। गीतमा अनिस अधिकारीले शब्द तथा संगीत दिएका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन्।
चैत ७, २०७९ मंगलबार १५:३६:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।