कुशल मल्ललाई बुटवल उपमहानगरको सम्मान
बुटवल : बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ।
बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लगायतले नगद ५० हजारसहित सम्मान गरेका हुन्।
कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि सम्मान गरिएको थियो।
खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताएका छन्।
सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए।
उनले नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।
कार्यक्रममा बोल्दै शक्ति गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए। उनले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेल क्षेत्रको साथ रहने उल्लेख गरे।
चैत ७, २०७९ मंगलबार १०:४५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।