अस्ट्रेलियाको भिषा रिजेक्ट भएको झोकमा किनेको चियापत्ति पसलले 'चिया विज्ञ' बनायो नबिनलाई
पूजा,ध्यान, योग अनि बोटबिरुवाको स्याहार। नबिन महर्जनको हरेक दिनको प्रारम्भ यसरी नै सुरु हुन्छ। बगैँचा अनि बोटबिरुवाप्रतिको प्रेम सानैदेखि रहेछ उनको मनमा। कारण उनको बाबुको पेसा माली थियो।
उनको बुबा राष्ट्र बैँकको माली हेड। बुबासँगै उनी पनि बगैँचामा घुमिरहन्थे। विरुवासँगै हुर्कँदै जाँदा बोटबिरुवाप्रति अनौठो प्रेम बस्यो। अहिले त उनले घरको कौशीलाई नै बगैँचा बनाएका छन्।
कौशीको बगैँचामा बसेर केहीबेर पढेपछि श्रीमतीसँग मिलेर बनाएको खाना खाएर उनी नयाँबजारमा रहेको घरबाट लाग्छन् न्युरोडको धर्मपथतिर। त्यहाँ उनको पसल छ।
उनको दिन त्यहीँ बित्छ। पसलमा आएका ग्राहकलाई चियापत्ती बेच्छन् अनि पिलाउँछन् पनि। उनले पसल सुरु गरेको पनि २२ वर्ष भइसकेछ। बोटबिरुवाप्रतिको लगावले चिया व्यवसाय फापेको उनको निष्कर्ष छ।
चिया व्यवसाय गर्नुअघि उनले कुनै काम लामो समय गर्न सकेनन्। केही काम सुरु गर्यो कि केही वर्षमै छाडिहाल्थे।
अल्मुनियम सम्बन्धी काममा डेढ वर्षमात्र टिके। बाणिज्य बैँकको हेड अफिसमा अल्मुनियमको संरचनामा सहयोगीको काम गरेपछि छोडिदिए।
अनि भक्तपुरको एउटा निजी विद्यालयमा केही महिना काम गरे। त्यहाँ पनि टिकेनन्। मन चञ्चल भइरहने कारण विदेश जाने मोह रहेछ।
उनले अष्ट्रेलीया जाने तयारी गरे। तर पहिलो प्रयास सफल भएन। अनि त्यता जाने सपना पनि छाडिदिए। त्यसपछि सिटिसी चियापत्तिको पसलमा मार्केटिङको काम सुरु गरे।
त्यसमा भने उनको मन बस्यो। त्यहाँ काम गर्दागर्दै उनले आफ्नै पसल खोले अनि न्युरोडमा बसेर चिया पारखीहरुलाई फरक-फरक स्वाद चखाइरहेका छन् उनी।
'भिसा लागेन। अनि यतै केही गर्नुपर्यो भनेर चियाको काम सुरु गरेँ,’ उनले हाँस्दै सुनाए।
उनी चियामा आकर्षित हुनुको कारण बोटबिरुवाको लगावसँगै दार्जिलिङको साथीहरू पनि रहेछन्।
उनको जन्मघर पानीपोखरी। ठ्याक्कै भानुभक्त मेमोरियल स्कुलको पछाडि। नजिकै स्कुलहुँदा उनले ट्युसनको सिलसिलामा त्यहाँको शिक्षकहरूसँग सम्पर्क बनाउन पाए जो प्रायः दार्जिलिङकै। त्यो स्कुलकै प्रिन्सिपलको भक्तपुरमा भएको स्कुलमा उनले पढाउन पनि पाए।
उनी दार्जिलिङबाट फर्किएर चिया प्रेमी बने!
सानो बेलामा खासै चिया मन नपराउने उनी दार्जिलिङ घुमेर फर्किँदा चियाप्रेमी भएर फर्किए।
'बिरुवा भनेपछि हुरुक्क हुने बानी छ मेरो। अब त्यहाँ चियाको गार्डेन देखेर आकर्षित नहुने कुरै भएन। त्यतिखेरै चियामा केही गर्नुपर्छ भन्ने थियो। तर, पनि एक चोटि चैं विदेश जाने सोच थियो।’ चिया पसल खोल्दाको अनुभव सुनाउँदै उनले भने, ’ प्रक्रिया पनि सुरु गरेँ अष्ट्रेलीया जान। प्रयास सफल नभएपछि फेरि कोसिस गर्नै मन लागेन। न्युरोडमै चिया पसल बिक्रीमा रहेछ। त्यही किनेर काम सुरु गरेँ।'
केही महिना चियाको मार्केटिंगको काम गरे पनि धेरै ज्ञान थिएन रे चियाबारे। उनले थाहा पाएको सिटिसी चिया हुन्छ भन्ने मात्र रहेछ। त्यस बाहेक चियाबारे पढेका पनि हैनन् उनले।
पसल किनेपछि त्यत्तिकै हामफालेको जस्तो भएछ। सन् २००० तिर धर्मपथमा चियापत्तिको आठ वटा होलसेल पसल थिए। ती सबै मारवाडी समुदायका ब्यक्तीको। नेवार त उनी मात्रै।
'मलाई त ग्राहकसँग डिल गर्न पनि आउँदैनथ्यो। ठ्याक्कै मरो पसल अगाडि एक जना मारवाडी समुदायका दाइको पसलथ्यो। म आफ्नो पसलमा भन्दा बढी उहाँको पसलमा बस्थेँ,' उनले सिकाइको पल सम्झिए'मेरो पसलमा ग्राहकै नआउने। मैले चियापत्ति पनि उहाँकै होलसेलबाट किनेर बेच्ने गर्थेँ त्यहाँ बस्दाबस्दै अलि-अलि डिल गर्ने आइडिया आयो। 'उहाँहरूबाट मैले धेरै सिकेँ।'
अनि सुरु भयो चियाकै किताबको खोजी
सानैमा उनले फूल सम्बन्धी किताबहरू मात्र बढी पढे। पढ्ने बानी हटेको थिएन। चियाको व्यवसायमा लागेपछि चिया सम्बन्धी किताब खोजिखोजि पढ्न थाले।
'भेटेसम्मको चियाको किताबहरू पढेँ। दार्जिलिङ र भारतबाट समेत किताब मगाएर पढेँ। पढेपछि बल्ल चियाको विविधताबारे बल्ल थाहा भयो।,’ उनले भने।
त्यो समयमा काठमाडौँमा ’जाइका’ को प्रोजेक्ट चलिरहेको थियो। त्यही प्रोजेक्टका लागि धेरै जापानी पर्यटकहरू नेपाल भित्रिएका थिए।
जाइकाका केही सदस्यहरू नेपाल आउँदा यहाँको भाषा सिक्न खोज्थे। तिनैमध्ये एक जना गोतोसान नाम गरेका जापानीले नबिनलाई आफ्नो भाषा सिकाउने सर्तमा नेपाली भाषा सिके।
'उनी नेपाली सिक्न चाहने अनि म जापनिज। हरेक शनिबार उनी मेरो पसलमा आउँथे। जापानीहरु एकदम चियाको पारखी रहेछन्। मैले भाषामा निरन्तरता दिन नसके पनि उनीबाट चियाबारे गजबका कुराहरू थाहा पाँए। चियाको स्वादबारे ज्ञान भयो,' उनले भने।
त्यसपछि उनले जापानी स्वाद अनुसार नेपालमा उपलब्ध नहुने चिया पनि मगाएर राख्न थाले पसलमा। बजारमा भएका भन्दा अलि छुट्टै प्रकारका चिया उनको पसलमा बिक्न थाले।
उनी एनेपाल चिया संघमा आबद्ध भएपछि विभिन्न तालिमहरू पनि लिन पाए। यसले उनको ज्ञान थप बढ्यो। चियालाई चिन्दै गए उनले।
ग्राहकको स्वाद बुझ्न पसल
नेपालमा चियाका पारखीहरू राम्रै भए पनि चियापत्तीबारे त्यति ज्ञान देखिँदैन। प्रायः नेपालीको बानी बिहान उठ्ने बित्तिकै दूध हालेको चिया खाने।
दार्जिलिङको साथीहरूले चिया गिफ्ट ल्याउँथे। उनीहरू एकदम उच्च गुणस्तरको चियापत्ती हो भन्थे। तर उनको घरमा त्यही चियापत्तीमा पनि दूध हालेर चिया पाक्थ्यो।
अनि रंगनै नआउने। उच्च गुणस्तरको भनेपछि त दूधमा हाल्दा झन् गाढा रंग आउनुपर्ने हो। तर आएन। त्यसबेला उनलाई कस्तो खालको चिया रहेछ भन्ने लागेको रहेछ। उनी हाइ क्लासको भनेर साथीहरूले झुक्याए भनेर हाँस्थे रे।
पछि उनले चियापत्तिको फरक-फरक स्वाद हुने पत्ता पाए। त्योसँगै ब्यक्ती अनुसार पनि जिब्रोको स्वाद फरकपन हुने चाल पाए। अनि ग्राहकको जिब्रोको स्वाद थाहा पाउन आफैँ चिया बनाएर खुवाउन थाले।
'जति ग्राहकहरू आउनुहुन्थ्यो उहाँहरूको स्वाद थाहा पाउन मन लाग्यो। चियापत्ति कस्तो स्वादको छ भनेर सोध्नुभन्दा चिया बनाएर दिँदा सहज हुने लाग्यो। अनि चिया पनि पकाउन थालेँ,' उनले भने' पसलमा जो आए पनि एक कप चिया खुवाउन थालेँ। सन् २००२ देखि ग्राहकका लागि टि टेस्टिंग नै राख्न थालेँ। त्यसबेला ९५ प्रतिशत सिटिसी चिया बिक्थ्यो। त्यो भनेको दूध चियाको लागि प्रयोग हुन्छ। अनि विदेशबाट आएका अनि विदेशीहरुलाई ब्ल्याक टि, हर्बल टिहरु किन्थे।'
त्यो बेलामा सिटिसी चियापत्तिको बजार ९५ प्रतिशत अनि अन्यको पाँच प्रतिशत रहेछ। अहिले भने बिक्रीको अनुपात ४५- ५५ प्रतिशत रहेछ। त्यो भनेको समयसँगै मान्छेको स्वाद पनि परिवर्तन हुँदैछ भन्ने हो।
उनले बिस्तारै आफ्नो पसलमा चियाको प्रकार पनि थप्दै गए। चिया विकास बोर्ड मार्फत चीन गएका नबिनले नेपालमा भाईटिकामा लगाउने मखमली फूलको चिया खाएको देखे। अनि त दंग। नेपाल फर्किएर फूलको खेती गर्न थाले।
अहिले उनको पसलमा लगभग सय प्रकारका चिया पाइने रहेछ। त्यसमध्ये ’ग्रीन टि’ नै १३-१४ प्रकारका रहेछन्।
'हामीकहाँ त्यो फूल त प्रसस्तै हुन्छ नि। तर, त्यसको बारे थाहा थिएन,' चिन भ्रमणको अनुभव सुनाउँदै भने' त्यसले त हाम्रो पाचन प्रक्रियालाई राम्रो गर्ने रहेछ।’
दुई प्रकारका चिया ’सिटिसी’ अनि 'अर्थोडक्स'
नबिनका अनुसार चियामा धेरै विविधता भए पनि यसको प्रकार भने दुई प्रकारका मात्र हुन्छन्। एउटा दूध चिया खाने ’सिटिसी’ अनि अर्को कालो चिया खाने ’अर्थोडक्स’।
सिटिसी भनेको दाना चिया अनि अर्थोडक्स भनेको चैं हेर्दा पत्ता नै जस्तो देखिने। त्यसको पनि धेरै प्रकार हुने रहेछ। चियाको सुरुवात अर्थोडक्सबाटै भएको उनी मान्छन्।
’चिया टिप्ने बित्तिकै त्यसलाई सुकाएर, उमालेर खायो भने त्यसलाई व्हाइट टि भनिन्छ। त्यसपछि भनेको मान्छेहरूले के बनाएर खाने भन्ने मात्र हो। नयाँ मोडल मात्र बनाउँदै गएको हो’ उनि भन्छन्,’मैले त्यस्तो मोडल त बनाएको छैन। तर, स्वाद अनुसार ब्लेंड चै गर्छु। जस्तै कसलाई रोज टि चाहियो भने म रोजको पत्ता र चियालाई मिलाएर दिन्छु।’
अहिले न उनी आफूसँग भएको रेडिमेट चियापत्तीमा जडिबुटी समेत मिसाएर बेच्ने रहेछन्। त्यसले ग्राहकले खोजेको स्वाद अनुसारको चिया पाउँछन्।
उनका अनुसार चियामा बायो केमिकलहरु हुन्छ। एमिनो एसिड, फ्लोराइड, क्यटाचिन अनि ट्यानिन भन्ने हुन्छ चियामा। कफीमा क्याफिन भनेको जस्तै चियामा हुने ट्यानिन हो।
'त्यै भएर चिया खाने बित्तिकै एकदमै आनन्द अनुभव हुन्छ। यसले ब्रेनलाई स्ट्राइक गर्छ। अनि क्यटाचिन भन्ने तत्वले चै हाम्रो शरीरमा उत्पन्न भएको र्याडिकल्सले ट्युमर बन्न दिँदैन रे,' चियाको विशेषता सुनाउँदै उनले भने'त्यै भएर व्हाइट टि र ग्रीन टि क्यान्सर रोगिहरुको लागि एकदमै राम्रो हुन्छ भनिँदो रहेछ।’
उनका अनुसार यही कारण व्हाइट टि अलि बढी महँगो हुने रहेछ। अनि बनाउन पनि गाह्रो। यसको स्वाद भने एकदमै ’सफ्ट’ हुने उनले सुनाए।
चियाको अनेक विशेषता
अब उनी आफूले चियाबारे पाएको थप जानकारी उकेरालाई सुनाउन थाले। उनका अनुसार ग्रीन टि स्वास्थ्यको लागि राम्रो हुन्छ। तर, त्यसमा हुने तितोपानाले मान्छेको प्रेसर घटाइदिन सक्छ।
त्यै भएर प्रेसर घटाउन त्यो उपयुक्त हुन्छ तर प्रेसर लो भएकाले नखाएको राम्रो। यो धेरै खाँदा रिँगटा लाग्ने कारण यही रहेछ। तर, ’व्हाइट टि’ भने सबैको लागि, सधैंको लागि राम्रो हुने उनको अनुभव छ।
उनको पसलमा सिटिसीपछि सबै भन्दा धेरै जानेमा अर्थोडक्स र त्यस भित्र पनि ग्रीनटि नै रहेछ। उनको अनुभवमा अहिले बजारमा ग्रीनटिको लहरै चलेको छ। कतिपयले जानेरै खाइरहेका छन्। कतिले अरूले खाएको देखेर।
'हामीले मार्केटमा सिटिसी चिया सस्तो चिया अनि अर्थोडक्स चिया चैं महँगो चिया भन्ने बुझाइ भयो। तर, त्यस्तो होइन,' उनले भने' सिटिसी चियामा हामीले एक पटक दूध हालेर पकाएर खायो अनि सक्यो। तर, अर्थोडक्समा एकचोटी खाएको चिया कम्तीमा पनि तीन पटकसम्म तातो पानी हालेर खान मिल्छ।’
उनको पसलमा अर्थोडक्स चिया किलोको छ सय देखि १२ हजार सम्म पर्ने रहेछ। सबै भन्दा महँगोमा व्हाइटटि, सिल्भरटि र गोल्डेनटि।
चिया कसरी टिपेको छ भन्नेमा पनि यसले असर गर्ने बताउँदै उत्पादन पनि निकै कम हुने बताउँछन् उनी।
'वर्ष भरिमा नेपालमा चार-पाँच हजार किलो मात्र हुन्छ यस्ता चिया। जबकी ब्ल्याकटि र ग्रीनटि लाखौ किलोसम्म उत्पादन हुने गर्छ’ उनले भने।
चिया खाँदा सकेसम्म चिनी नहालि खान उनी सुझाव दिन्छन्। 'सुगर किल्स अ अक्चुअल टेस्ट अफ टि’ भनेर उनले पसलमा स्लोगनै राखेका छन्।
'चियाले सुरुमा टर्रोटर्रो स्वाद दिन्छ। अनि त्यसले नै हाम्रो मुख रसाउने हो,' उनले भने'त्यै भएर जिब्रो जति चलाउछौं आफै गुलियो गुलियो हुन्छ। त्यसपछि भनेको चिया थपेर खाने हो। अनि त्यति खेर बल्ल चियाको असली स्वाद आउँछ।’
फूलको चियाको छुट्टै क्रेज
उनकोमा अहिले फूलका चियाको माग पनि राम्रो रहेछ। उनको अनुभवमा धेरैजसो फूलको चिया खान मिल्छ। तर धेरैलाई यो थाहा छैन।
'चिया खानकै लागि भनेर उत्पादन गरेको छ भने हाम्रो धेरैजसो फूलको चिया खान मिल्छ। तर, पछिल्लो समय धेरै गइरहेकोमा गुलाफ, चमेली अनि गुराँस छन्। नयाँमा’बटर फ्ल्याई टि’, त्यसलाई ब्ल्युटि भन्छ। अनि अलिअलि भिटामिन सी को लागि पिउने’हिबिस्कस’, अर्थात् 'रेड टि' को पनि माग छ' उनले भने।
अहिले एकदम लोकप्रिय चियामा पर्ने’क्यामोमाइल टि’ पनि हो। पहिला निकै महँगो भए पनि अहिले सस्तो हुँदै गएको छ रे। यसले 'एन्टी एञ्जाइटी', ’पिरियड क्राम्प’, 'माइग्रेन' र अनिद्राको काम गर्ने भएकाले कोभिडकालपछि माग बढेको उनको अनुभव छ।
'अहिले त्यसको डिमाण्ड धेरै हुनु भनेको हाम्रो समाजमा डिप्रेस्ड मान्छेहरूको संख्या बढ्दै गएको छ भन्ने हो। नेपालको रैथाने फूल नै भए पनि जर्मनीहरूले पिउन सुरु गरेको भएर यसलाई जर्मन क्यमोमाइल पनि भन्छ,’ उनले भने।
उनको यो चिया पसल पारिवारिक व्यवसाय नभए पनि अहिले भने श्रीमतीसँग मिलेर पारिवारिक व्यापार बनाइराखेका छन्। अहिले नयाँ बजारमै खोलेको पसलमा श्रीमती भेटिन्छिन्।
'मैले पसल लिएको दिन देखि नै उहाँले साथ दिनु भएको छ। मैले धेरै नपढे पनि उहाँले मैले भन्दा बढी पढ्नु पनि भएको छ,' श्रीमतीबारे उनले सुनाउन थाले'मलाई एकदम गाइड गर्ने नै उहाँ हो।’
’टि क्लब’ र टि बुटिक’ खोल्ने इच्छा
अहिले नबिन ४५ वर्षका भए। काठमाडौँमै जन्मिएका उनले सानोमा त बोर्डिङमै पढे । तर, बिबिएस गर्दा गर्दै पढाइलाई बिट मारे। अहिले उनको एक जना छोरा छन्। अब बाँकी समय पनि उनी चियालाई नै दिन चाहन्छन्।
उनलाई एउटा 'टि क्लब' खोल्न मन छ रे जहाँ चिया पिउँदै चियाको चर्चा गर्न मिलोस्। अनि चियाकै कृषिको पुदिना लगायत अन्य विभिन्न फुलहरूको खेतीमा उनी थप सक्रिय हुन चाहन्छन्।
'५० वर्ष कटेपछि चै आनन्दले 'टि बुटिक' जस्तै एउटा होमस्टे खोल्न मन छ। चियासँगै हर्बल र नेपाली कल्चरको कुराहरू गर्न मिल्ने खालको,’ उनले आफ्नो मनको इच्छा सुनाए।
न्युरोड जस्तो ठाउँमा दिनभरी बसेर ४५ रूपैयाँको चिया बेचेको दिनको पनि अनुभव गरेका उनी अहिले दिनमै एक लाखसम्मको व्यापार गर्छन्।
अहिले उनको पसलमा करिब ९० लाख बराबरको चियापत्तिका सामान रहेछन्। पर्यटकीय क्षेत्र भएकाले उनले 'ग्राहककै डिमाण्ड’ अनुसार कफी, ग्ल्यास, टि पट, मह अनि नेपाली सामानहरू पनि राखेका छन्।
उकेराको भुइँमान्छे कोलमका लागि सामान्य चिया व्यवसायी हुन् भनेर उनीसँग कुराकानी सुरु गरेको त उनी लगभग 'चिया विज्ञ' समान भइसकेका रहेछन्। चियाप्रति उनको प्रेम गजब रहेछ। कुराकानी पनि गजबकै भयो।
पेसा उनको चिया व्यवसायी नै हो। तर विज्ञ भन्दा फरक नपर्ने ज्ञान रहेछ उनमा।
चैत ६, २०७९ सोमबार १९:१४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।