प्रचण्डले गठबन्धन बदल्दा एमालेभन्दा राप्रपा बढि रिसायो, बाटो फेरेको रात गाह्रो भएको भन्दै लिङदेन  रिसाए

प्रचण्डले गठबन्धन बदल्दा एमालेभन्दा  राप्रपा बढि रिसायो, बाटो फेरेको रात गाह्रो भएको भन्दै लिङदेन  रिसाए

काठमाडौं : गठबन्धनको विकल्प नभएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारका गएका एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई महिनामै धार फेर्दै प्रचण्डको विपक्षमा उभिएका छन्।

प्रचण्डलाई समर्थनसँगै विश्वासको समेत दिएका यी दुबै दलका नेता काँग्रेससहितको अर्को गठबन्धन बनेपछि विपक्षमा उभिएका मात्रै छैनन् प्रचण्डको कटु आलोचक समेत बनेका छन्।

एमाले आफ्नै पलमा तत्कालीन सात दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धनका साथ प्रतिपक्षबाट सत्तापक्ष बनेको थियो। उसका नेताहरूले प्रचण्डको आलोचना गर्नु स्वाभाविकै हो।

तर जुन दलले सरकार बनाउने दाबी गरे पनि समर्थन गर्ने निर्णय गर्दै प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको राप्रपा समेत आलोचनामा उत्रिएर एमालेको सहयोगी दलको छवि बनाएको छ।

प्रतिनिधि सभामा १४ सिट आएसँगै राप्रपाले सरकारमा सहभागी नहुने तर एक दलले मात्रै सरकार बनाउन सक्ने जनमत नआएकाले सरकार गठनमा अन्य दललाई समर्थन गर्न बाधक नबन्ने राप्रपाका नेताहरूले दाबी गरेका थिए।

तर राष्ट्रपति निर्वाचनमा प्रचण्ड काँग्रेसतिर ढल्किएपछि सबैभन्दा पहिला सरकारलाई दिएको समर्थन राप्रपाले नै फिर्ता लिएको थियो।

सोमबार प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदैगर्दा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन प्रचण्डसँग एमालेका नेताहरू भन्दा पनि बढी रिसाएर घोचपेचमा उत्रिँदै विश्वासको मत नदिने बताए।

संसदमा बोल्दै उनले 'प्रचण्डलाई हाइड्रोजनको गाडीको नेतृत्व दिए पनि गाडि स्टार्ट नहुँदै हामफालेको' भन्दै आलोचना गरे।

उनले आफूसँग सरकार चलाउने क्षमता भए पनि जनमत नभएको भन्दै प्रचण्डलाई गाडि बदलिरहने चरित्रको नेताको रुपमा आलोचना गरे।

‘गाडी फेरिराख्ने ड्राइभरले मेरो गाडी थोत्रो भयो, पुरानो भयो, तपाईहरुसँगको चढ्छु, हाँक्छु मेरो अनुभव पनि छ भनेपछि लाइसेन्स भएको मान्छे दिऊँ भनेर हाइड्रोजन गाडी दिएको, गाडी स्टार्ट नहुँदैखेरि ड्राइभर हाम्फालेर तैट म त पुरानै गाडी चलाउँछु भनेर हिँडेपछि हामीले के गर्ने ?’

प्रचण्डले बाटो फेरेको रात गाह्रो भएको भन्दै उनले प्रचण्डलाई २-२ महिनामा विश्वासको मत लिने भाग्यमानी नेता भएको भन्दै वैशाख १५-२० मा पुन विश्वासको मत लिने अवस्था नआओस् भनेका थिए।

दुई महिनामै सरकार ढल्नसक्ने एमालेको चेतावनी

संसदमा बोल्दै एमाले नेता विष्णु पौडेलले सरकार बनेको दुई महिना १० दिनमै दोस्रो पटक विश्वासको मत लिनु परेको भन्दै अर्को चोटि विश्वासको मत लिने कार्यसूची कहिले भन्दै ब्यंग्य गरेका थिए।

प्रतिनिधि सभाको बिजनेशै प्रधानमन्त्रीले विश्वासको मत लिने भएको भन्दै उनले एक–दुई महिनामै प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए।

उनले एमालेसहितको गठबन्धन छाडेर काँग्रेसतिर जानुको कारण सोधेका थिए।

प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका पौडेलले एमालेबिना राष्ट्रिय सहमति सम्भव नभएको दाबी गरेका थिए।

राष्ट्रका साझा चुनौतीको सामना गर्न र अभिभारा पूरा गर्न सिंगो देश र संसदमा भएका दलहरूबीच सहमति हुनुपर्ने भने पनि उनले ‘सहयात्रीलाई घोक्राएर निकालेपछि सहमतिको कुरा गर्न मेल नखाने भन्दै प्रचण्डको आलोचना गरेका थिए।

चैत ६, २०७९ सोमबार १६:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।