चितवन-२ उपनिर्वाचनको उम्मेदवार बनाउन कांग्रेसबाट ११ नाम सिफारिस, कारबाहीमा परेका नेताको फुकुवाको निर्णय

चितवन-२ उपनिर्वाचनको उम्मेदवार बनाउन कांग्रेसबाट ११ नाम सिफारिस, कारबाहीमा परेका नेताको फुकुवाको निर्णय

चितवन :  अदालतबाट रवि लामिछानेको नागरिकता निष्क्रिय ठहर भएसँगै रिक्त भएको चितवन-२ मा कांग्रेसबाट उम्मेदवार बनाउन ११ जनाको नाम सिफारिस भएको छ।

कांग्रेसको क्षेत्रीय समितिले यस अगाडि विभिन्न कारणले कारबाहीमा परेका जिल्लाको नेताहरूको कारबाही फुकुवा गर्न समेत माग गरेका छन्।

चितवन-२ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। उम्मेदवार सिफारिसमा मङ्सिर ४ को निर्वाचनमा पराजित  उमेश श्रेष्ठको नाम समेत छ।

आइतबारको बैठकले चितवन–२ का लागि देवेन्द्र गुरुङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपिन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठको नाम समेत सिफारिस गरेको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले  उम्मेदवारको नाम सिफारिस गर्न चैत १ गते पत्र पठाएको थियो।  क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेका अनुसार प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उम्मेदवारको नाम सिफारिस गरिएको हो।

विकाश कोइरालासहितको कारबाही फिर्ता

बैठकले यसअघि चितवन क्षेत्र नं २ बाट कारबाहीमा परेका नेता तथा कार्यकर्ताको कारबाही फुकुवाको निर्णय गर्दै अनुमोदनका लागि केन्द्रमा पठाएको छ।

सुशील कोइराला उम्मेदवार बन्दा बागी उठेका कांग्रेस पूर्व जिल्ला सभापति विकास कोइराला, भरतपुर मेयरमा बागीलाई साथ दिने महासमिति सदस्य मिना खरेल, बागी उम्मेदवार बनेका पूर्व सांसद जगन्नाथ पौडेल, पूर्वसांसद् भीमबहादुर श्रेष्ठ, तरुण दलका पूर्व अध्यक्ष शम्भु अर्याल, तरुण दलका पूर्व सचिव आनन्द राउत, क्षेत्रीय प्रतिनिधि जीतबहादुर थापा लगायतको कारबाही फिर्ता लिन सिफारिस भएको हो।

चितवन २ को उप निर्वाचनको वातावरण सहज बनाउन र जितको वातावरण बनाउन कारबाही फिर्ता गर्ने निर्णय गर्दै केन्द्रमा पठाएको क्षेत्रीय समितिले जनाएको छ। 

चैत ६, २०७९ सोमबार १२:४४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।