दोस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री​ ​​​​​प्रचण्ड, पाउलान् त आफैंले सोचे जस्तो शतप्रतिशत ​​​​​​​समर्थन?

दोस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री​ ​​​​​प्रचण्ड, पाउलान् त आफैंले सोचे जस्तो शतप्रतिशत ​​​​​​​समर्थन?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) दोस्रो पटक विश्वासको मत लिंदैछन्।

आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यसपटक शतप्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा रहेको बताएका थिए। 

‘मैले आशाको कुरा गर्दा पहिला विश्वासको मत लिंदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ,’ उनले भनेका थिए।

तर उनले भनेको जस्तै शतप्रतिशत विश्वासको मत पाउने सम्भावना भने देखिंदैन।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि पछिल्लो समय बनेको नयाँ गठबन्धनबीच प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ।

हाल रहेको १० दलीय गठबन्धनबाट उनले विश्वासको मत पाउने पक्का जस्तै छ। 

आफ्नै दल माओवादी केन्द्रसँगै एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी लगायतले उनलाई विश्वासको मत दिनेछन्।

त्यसैगरी नयाँ गठबन्धनमा रहेको​​​​​​​ नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

हिजो बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र प्रचण्ड नेतृत्वकै सरकारमा समेत सहभागी हुने निर्णय गरेको थियो।

त्यसैगरी नयाँ गठबन्धन नरहे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।

रास्वपाले यसअघि पनि प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो र सरकारमा सहभागी भएको थियो।

तर अवैध नागरिकताका कारण पार्टी अध्यक्ष रवि लामिछानेको सांसद र गृहमन्त्री पद गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो।​​​​​​​

यता राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा कुरा नमिलेपछि अघिल्लो गठबन्धन सरकारबाट बाहिरीएका नेकपा एमाले र राप्रपासँगै नेमकिपाले भने प्रचण्डलाई विश्वासको मत दिने कि नदिने बारेमा केही बताएका छैनन्।

जसको अर्थ उनीहरूले समर्थन नगर्ने सम्भावना बढी छ।

यसअघि दाहालले प्रधानमन्त्री बनेपछि गत पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए।

तर राष्ट्रपतिको निर्वाचनमा पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए।

एमालेसँगै राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएपछि प्रचण्डले पुन: विश्वासको मत लिन लागेका हुन्। 

प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

सोही व्यवस्था अनुरूप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ।

प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि १३८ सांसदको मत आवश्यक पर्नेछ।

प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद रहेका छन्।

प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद रहेका छन्।

६ चैत, २०७९, ०८:१६:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।