नवीनले​​​​​​​ जिते रेवान पोखरा कप भेट्रान्स टेनिसको उपाधि

नवीनले​​​​​​​ जिते रेवान पोखरा कप भेट्रान्स टेनिसको उपाधि

पोखरा : रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि नवीन श्रेष्ठले जितेका छन्।

आइतबार भएको तेस्रो संस्करणको प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नवीनले पहिलो पटक उपाधि हात पारेका हुन्।

पोखरा रंगशालामा सम्पन्न प्रतियोगिताको फाइनलको पहिलो सेटमा ४–२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४–६ ले सेट आफ्नो पक्षमा पारेका थिए।

तर, दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए। नवीनले दोस्रो सेट ६–२ ले तथा तेस्रो सेट सुपर टाइमा ९–२ ले आफ्नो पोल्टामा पारेका थिए।

त्यसैगरी मेन्स डबल्सतर्फको उपाधि अनुज कुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीले जितेको छ।

गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६–१,६–१ को सहज नतिजा निकाल्दै अनुज र नवीनको जोडीले उपाधि आफ्नो पक्षमा पारेका हुन् । 

प्रतियोगितामा नव प्रवेशीतर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने। 

५ चैत, २०७९, १८:१९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।