सुरु भयो स्ववियु निर्वाचन, क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा

सुरु भयो स्ववियु निर्वाचन, क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा

काठमाडौं : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धन प्राप्त देशभरका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सुरु भएको छ।

करिब १४ वर्षपछि त्रिविमा स्ववियु निर्वाचन हुन लागेको हो। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं २०६५ सालदेखि नियमित हुन सकेको थिएन।

मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ। तर अधिकांश क्याम्पसहरूमा केही समय ढिला गरेर मतदान सुरु भएको छ।

केही क्याम्पसहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन भने क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

साथै विभिन्न समस्याका कारण देखाउँदै केही क्याम्पसहरूले भने निर्वाचन नै रोकेका छन्।

काठमाडौंका पाटन संयुक्त क्याम्पससँगै रत्न राज्य, नेपाल कमर्स र त्रिचन्द्र क्याम्पसमा आज हुने भनिएको निर्वाचन रोकिएको छ।

त्यसैगरी पोखराको पृथ्वीनारायण क्याम्पस, वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पसका लगायतका केही क्याम्पसहरूमा पनि निर्वाचन सरेको छ।

आज त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो। जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन्।

उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट छानिने छन्।

निर्वाचनमा अधिकांश क्याम्पसहरूमा देशका प्रमुख ठूला दल निकट संगठनहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।

धेरै क्याम्पसमा विशेषगरी कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच गठबन्धन रहेको छ। उनीहरूसँग एमाले निकट अनेरास्ववियुको टक्कर हुनेछ।

अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने निर्वाचनमा निर्विरोध निर्वाचित भएको नतिजा आइसकेको छ।

स्ववियु निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसहरूले भने विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन्।

त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्न लागेका हुन्।

५ चैत, २०७९, ०९:२२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।