१४ वर्षपछि आज स्ववियु निर्वाचन, केही क्याम्पसमा रोकियो, केहीमा विद्युतीय मतदान

१४ वर्षपछि आज स्ववियु निर्वाचन, केही क्याम्पसमा रोकियो, केहीमा विद्युतीय मतदान

काठमाडौं : त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।

करिब १४ वर्षपछि त्रिविमा स्ववियु निर्वाचन हुन लागेको हो। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं २०६५ सालदेखि नियमित हुन सकेको थिएन।

त्रिविका ६० आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुने निर्वाचनको लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ। 

निर्वाचनमा अधिकांश क्याम्पसहरूमा देशका प्रमुख ठूला दल निकट संगठनहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ।

धेरै क्याम्पसमा विशेषगरी कांग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच गठबन्धन रहेको छ। उनीहरूसँग एमाले निकट अनेरास्ववियुको टक्कर हुनेछ।

अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने निर्वाचनमा निर्विरोध निर्वाचित भएको नतिजा आइसकेको छ।

उता काठमाडौंका पाटन संयुक्त क्याम्पससँगै रत्न राज्य, नेपाल कमर्स र त्रिचन्द्र क्याम्पसमा आज हुने भनिएको निर्वाचन रोकिएको छ।

त्यसैगरी पोखराको पृथ्वीनारायण क्याम्पस, वीरगन्जको ठाकुराम बहुमुखी क्याम्पसका लगायतका केही क्याम्पसहरूमा पनि निर्वाचन सरेको छ।

स्ववियु निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसहरूले भने विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन्।

त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्न लागेका हुन्।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीका अनुसार ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ।

जसअनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ। 

यी चारै क्याम्पसमा मतपरिणाम पनि आजै सार्वजनिक हुने बताइएको छ।

५ चैत, २०७९, ०७:५३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।