बालाजु प्रदर्शनमा कमान्ड सम्हाल्न नसक्ने डीएसपीको तीन वर्ष बढुवा रोकियो, भाग्नेलाई सचेत मात्र गराइयो

बालाजु प्रदर्शनमा कमान्ड सम्हाल्न नसक्ने डीएसपीको तीन वर्ष बढुवा रोकियो, भाग्नेलाई सचेत मात्र गराइयो

काठमाडौँ : बालाजुमा यातायात मजदुरको आन्दोलनमा सुरक्षाको कमान्ड सम्हाल्न नसकेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले डीएसपी रविन विष्ट र गणेशबहादुर बम कारबाहीमा परेका छन्।

छानबिन समितिको सिफारिस अनुसार प्रधान कार्यालयले बालाजु वृत्तका तत्कालीन प्रमुख समेत रहेका डीएसपी विष्टको बढुवा तीन वर्ष रोक्ने र सोह्रखुट्टे वृत्तका प्रमुख तथा डीएसपी बमलाई सचेत गराउने निर्णय गरेको हो।

ट्राफिक जरिवाना बढाएको र नयाँ बसपार्क भित्र अनिवार्य पार्किङ गर्नुपर्ने निर्णयबारे विवाद हुँदा प्रहरी र यातायात मजदुरहरूबीच फागुन एक गते बालाजुको माछापोखरी क्षेत्रमा झडप भएको थियो।  

यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलेका थिए भने नजिकैको लोत्से मलमा लुटपाट भएको थियो। घटना लगत्तै विष्टको सरुवा गरेर घटनाबारे उपत्यका प्रहरी कार्यालयले छानबिन गर्न डीआइजी मसाउद आलम खाँको नेतृत्वमा समिति गठन भएको थियो। 

दुवै वृत्तका प्रहरी प्रमुखबिच समन्वय हुन नसक्दा र विष्टले सुरक्षा अवस्थाको कमान्ड गर्न नसक्दा घटना भएको समितिले सिफारिस गरेको आधारमा दुबैमाथि कारबाहीको निर्णय भएको प्रधान कार्यालयले जानकारी दिएको छ।

छानबिन समितिले विष्टलाई सहयोग गर्न खटाइएका डीएसपी बम प्रदर्शनस्थलबाट भागेको उल्लेख गरेको स्रोतले बतायो। कार्यस्थलबाटै भाग्दा पनि उनलाई सचेत मात्र गराउने निर्णय भयो।

विष्टको तत्काल सरुवा भएको थियो भने बम अझै पनि सोही वृत्तमा कार्यरत छन्।

४ चैत, २०७९, २२:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।