भावी सरकारमा पठाउन कांग्रेसले पाएन अर्थमन्त्री, एकीकृत समाजवादीको आँखा गृहमा, रविको ध्यान आफ्नै मुद्दामा

भावी सरकारमा पठाउन कांग्रेसले पाएन अर्थमन्त्री, एकीकृत समाजवादीको आँखा गृहमा, रविको ध्यान आफ्नै मुद्दामा

काठमाडौँ : बढीमा नौ मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहेको नेपाली कांग्रेसले सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जाने सांसद चयन गर्न सकेको छैन।

इच्छा राख्नेलाई पठाउन नसक्ने अनि आफूले रोजेको जान नचाहेकाले पार्टी सभापति शेरबहादुर देउवाले अझै सरकारमा नेतृत्व गरेर जाने नेताको चयन गर्न सकेका छैनन्।

राष्ट्रपति निर्वाचनताका एमालेसहितको गठबन्धन भत्काएर माओवादी केन्द्रलाई फर्काउन सफल भएदेखि पार्टीभित्र सरकारमा सहभागी हुनेबारे निरन्तर छलफल चलिरहेको छ। यसबारे निर्णय गर्न देउवाले आइतबार कार्यसम्पादन समितिको बैठक डाँकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिने तयारीमा छन्। उनले चैत १० भित्र सरकारले पूर्णता पाउने बताइसकेका छन्।

तर अझै सरकारमा कुन नेताको नेतृत्वमा मन्त्रीहरू पठाउने भन्ने तय हुन सकेको छैन। सरकारमा सहभागिताबारे भइरहेको छलफलमा संलग्न स्रोतका अनुसार देउवा उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधान र अर्थसहित सरकारमा सहभागी गराउने पक्षमा छन्। तर खड्का तयार छैनन्।

खड्का उपप्रधान तथा परराष्ट्रमन्त्रीको रूपमा सरकारमा जान सकारात्मक छन्। तर परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवा इच्छुक भएकाले देउवाले खड्कालाई वचन दिन सकेका छैनन्।

सरकारमा पार्टीको नेतृत्व गर्न सक्ने नेताको रूपमा विमलेन्द्र निधिबारे समेत छलफल भइरहेको छ। निधिसँगै प्रकाशमान सिंहलाई समेत विकल्पको रूपमा सरकारमा पठाउनेबारे छलफल भइरहेको देउवा निकट स्रोतको दाबी छ।

यी दुवै नेताले पार्टी महाधिवेशनदेखि संसदीय दलको निर्वाचनसम्म लगाएको गुन तिर्न चाहन्छन् देउवा। तर देउवा निधिभन्दा सिंहप्रति बढी सकारात्मक छन्।

सरकारमा पार्टीको नेतृत्व गराउन शेखर कोइरालालाई पठाउनेबारे पनि छलफल चलिरहेको छ। तर शेखरबाट समेत त्यति सकारात्मक सङ्केत आएको छैन। शेखर आफू जानेभन्दा पनि आफ्नो समूहका नेताहरूलाई एडजष्ट गराउन बढी केन्द्रित छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुनेबारे निरन्तर छलफलमा छ। प्रचण्ड निकट स्रोतका अनुसार रविले सरकारमा सहभागी हुने सर्तका रूपमा आफ्नो राहदानी दुरुपयोगको मुद्दाको व्यवस्थापनलाई सर्त बनाएका छन्।

'पहिलो प्राथमिकतामा पूर्णबहादुर खड्का नै हुनुहुन्छ। तर उहाँ सरकारमा सहभागी हुन सकारात्मक हुनुहुन्न' स्रोतले भन्यो' उहाँ पार्टीमै बसेर आगामी महाधिवेशनमा सभापतिको बलियो दाबेदार हुने रणनीतिमा देखिनुभयो।'

अर्थ मन्त्रालयसहित सरकारमा सहभागी हुने रणनीतिमा रहेको कांग्रेसले अर्थमन्त्रीमा पठाउने सांसद समेत फेला पार्न सकेको छैन। अर्थमन्त्रीका रूपमा उदय शमशेर राणा र विनोद चौधरीबारे छलफल चलिरहेको छ। देउवा समूह राणाप्रति सकारात्मक छन्। उनीसँग यसबारे छलफल समेत भइसकेको छ। तर राणा मन्त्री हुन राजी भए पनि अहिलेको जोखिमको अवस्थामा अर्थ मन्त्रालयको नेतृत्व लिन हच्किएका छन्।

दोस्रो विकल्पमा चौधरी देखिएका छन्। चौधरीलाई मन्त्री बनाउँदा आउन सक्ने स्वार्थको द्वन्द्वको आरोपका कारण देउवा निर्णयमा पुगिसकेका छैनन्। चौधरीले आफू मन्त्री हुँदा सरकारको आलोचना नहुने वातावरण बनाउन सके उनको पनि सम्भावना देखिन्छ।

'अर्थमा सकेसम्म अहिलेको अवस्थालाई सहजीकरण गर्न सक्ने र राष्ट्र बैङ्कका गभर्नरसँग सहजीकरण गर्न सक्ने व्यक्तिको खोजी भइरहेको छ' स्रोतले भन्यो। 

अर्थमन्त्रीमा गगन थापाबारे समेत छलफल भएको थियो। तर स्वर्णिम वाग्लेसँगको उनको निकटताका कारण उनको नाम सूचीबाट हटिसकेको छ। पटक-पटक अवसर दिएपनि बारम्बार धोका दिएको भन्दै देउवा स्वर्णिमसँग सकारात्मक छैनन्। गगनले समेत यो पटक आफू मन्त्री नहुने सार्वजनिक घोषणा गरिसकेका छन्।

बागमतीबाट मोहन बहादुर बस्नेत मन्त्री बन्न सक्छन्। सिन्धुपाल्चोक १ छाडेर २ मा गए पनि उनले जितेका थिए। सञ्चार मन्त्री भइसकेका उनी शक्तिशाली मन्त्रालय पाउन सक्रिय देखिन्छन्। उनले अर्थमा प्रयास गरिरहेका छन्।

काठमाडौँ १० का राजेन्द्र केसी, तीन नम्बर क्षेत्रका सन्तोष चालिसे पनि सम्भावित मन्त्रीको सूचीमा छन्। काठमाडौँ ५ का प्रदीप पौडेलको नाम सम्भावित मन्त्रीको सूचीमा रहेको देखियो।

उपत्यकाबाट एक जनालाई मात्रै सरकारमा पठाउने रणनीतिमा छन् देउवा। यदि प्रकाशमान सिंह सरकारमा सहभागी नभए मात्र अन्य सांसद मन्त्री बन्ने सम्भावना देखिन्छ।

कैलाली ४ का विजयी वीर बहादुर बलायर, प्रत्यक्षतर्फ जितेकी एक मात्र सांसद सीता गुरुङ र एनपी साउद मन्त्रीको सूचीमा रहेका छन्। मधेसबाट अजय चौरसियाले सरकारमा स्थान पाउन सक्ने देखिन्छ।

पार्टीको भागमा आउने मध्ये कति सिट शेखर समूहलाई दिने पक्का भइसकेको छैन। शेखर समूहबाट बद्री पाण्डे, धनराज गुरुङ, सञ्जय गौतम, दीपक गिरी, जीवन परियार अनि रामनाथ अधिकारीमध्येबाट मन्त्री छान्ने देखिन्छ।

आफ्नो नेतृत्वमा सरकार बन्दा सधैं शशाङ्क कोइरालालाई एउटा मन्त्रालय दिँदै आएका छन् देउवा। शशाङ्कको प्राथमिकता सूचीमा अहिले दीपक खड्का मात्र देखिन्छन्।

अन्य दल पनि छलफलमै

राष्ट्रपति निर्वाचनताकाको मत हेर्दा ११ दलले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने औपचारिक निर्णय गरेका थिए। तर यीमध्ये कति दल सरकारमा सहभागी हुन्छ एकिन छैन।

एकीकृत समाजवादी यो पटक गृह मन्त्रालयसहित सरकारमा जाने रणनीतिमा देखिन्छ। राजेन्द्र पाण्डे र मेटमणि चौधरीले आफ्नो दल गृह सहित सरकारमा सहभागी हुने दाबी गरिसकेका छन्।

पाण्डेले गठबन्धनमा रहेको पहिलो दलले राष्ट्रपति, दोस्रो दलले प्रधानमन्त्री र तेस्रो दलले उपराष्ट्रपति पाएकाले गठबन्धनको चौथो दलको हैसियतमा रोजेको मन्त्रालय पाउनुपर्ने बताइसकेका छन्। एकीकृतले गृह पाएमा पाण्डे नै प्रमुख दाबेदार हुने देखिन्छ।

मेटमणि चौधरी समेत मन्त्री बन्ने लबिङमा देखिन्छन्। उनी आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय पारेर मन्त्री हुन सक्रिय देखिएका छन्। किसनकुमार श्रेष्ठ, प्रेम आले मन्त्रीका सदाबहार दाबेदार भइहाले।

तीन प्रतिशत मत नल्याउँदा समानुपातिकमा शून्य सिट बनेको एकीकृत समाजवादीमा सल्यानबाट प्रकाश ज्वाला, बझाङबाट भानुभक्त जोशी, दैलेखबाट अमर बहादुर थापा र डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुनेबारे निरन्तर छलफलमा छ। प्रचण्ड निकट स्रोतका अनुसार रविले सरकारमा सहभागी हुने सर्तका रूपमा आफ्नो राहदानी दुरुपयोगको मुद्दाको व्यवस्थापनलाई सर्त बनाएका छन्।

गृहमन्त्री समेत रहेका प्रचण्ड मातहत रहेको प्रहरीले सोही अनुकूल राय जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ। रास्वपा सरकारमा सहभागी भए एकीकृत समाजवादी गठबन्धनको पाँचौँ ठूलो दल बन्छ।

जनता समाजवादी पार्टी समेत सरकारमा सहभागी हुने देखिन्छ। सरकारलाई दबाबमा पार्न लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मोर्चा नै बनाएका छन्। जनमत अहिले पनि सरकारमै छ। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदुर किसान पार्टी मात्रै सरकारबाहिर रहने देखिन्छ।

४ चैत, २०७९, २०:२८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।