तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी
तस्बिर : गोलनेपाल डटकम

बुटवल : २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा सुदूरपश्चिम ११ विजयी भएको छ।

शनिबारदेखि बुटवलको एन्फा टेक्निकल सेन्टरमा सुरु भएको गोल्डकपको पहिलो खेलमा घरेलु टिम रुपन्देही ११ लाई ३–१ गोल अन्तरले हराउँदै सुदूरपश्चिम ११ क्वाटरफाइनलमा प्रवेश गरेको हो।

सुदूरपश्चिमको जितका लागि फार्गुराम थारुले दुई गोल गरे। त्यस्तै अर्को गोल सोम्य हार्दिकले गरेका थिए।

रुपन्देही ११ का लागि एक मात्र सान्त्वना गोल खेलको इन्जुरी समयमा फोडे फोफोनाले पेनाल्टी मार्फत गरे।

घरेलु मैदानमा दर्शकको साथ पाएको रुपन्देही ११ ले केही राम्रा अवसर पाए पनि सदुपयोग भने गर्न सकेन।

सुदूरपश्चिम ११ ले अब क्वाटरफाइनलमा भोलि (आइतबार) हुने हिमालयन शेर्पा र थ्री स्टार क्लबबीचको विजेतासँग भिड्नेछ।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख नगद पुरस्कार पाउनेछ। गोल्डकपको उपविजेताले ५ लाख प्राप्त गर्नेछ।

प्रतियोगिताको एक कार्यक्रमबीच बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका थिए। बुटवल उपमहानगरले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ। यसअघिको २१ औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो।

तत्कालीन बुटवल नगर पञ्चायतले २०३१ सालमा तिलोत्तमा गोल्डकपको स्थापना गरी २०३३ सालदेखि यो प्रतियोगिता सुरू भएको थियो।

४ चैत, २०७९, १९:१८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।