प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह : मूलपानी क्रिकेट रंगशाला चाँडो बनाउन पर्‍यो

प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह : मूलपानी क्रिकेट रंगशाला चाँडो बनाउन पर्‍यो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मूलपानी क्रिकेट मैदान चाँडो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष आग्रह गरेकी छन्।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित गौतमले शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर मूलपानी मैदान निर्माण सम्पन्न गर्नका लागि प्रचण्डको ध्यानाकर्षण गराएकी हुन्।

यस विषयमा प्रधानमन्त्री प्रचण्डले पनि चासो व्यक्त गर्दै सकारात्मक जवाफ दिएको बताइएको छ।

आईसीसी विश्वकप लिग-२ मा नेपाली टिमले पाएको सफलतापछि हाल सबैतिर क्रिकेटको मात्र चर्चा रहेको छ।

लिग-२ मा तेस्रो स्थान हात पार्दै सिधै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएकोमा नेपाली टिमका हरेक सदस्यलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने घोषणा प्रचण्डले गरिसकेका छन्।

साथै उनले तत्काल टीयू क्रिकेट मैदानमा ‘फ्लडलाइट’ र ‘स्कोरबोर्ड’ जडान गर्न पनि राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिएका छन्।

४ चैत, २०७९, १८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।