पट्यारलाग्दा फिल्म देखाउनु नै महोत्सव हो त?

पट्यारलाग्दा फिल्म देखाउनु नै महोत्सव हो त?
तस्बिरहरू- निफको फेसबुक पेजबाट

काठमाडौं : संघीय राजधानी काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)चलिरहेको छ।

अन्य समयभन्दा फरक छैटौं निफमा छलफलका कार्यक्रम पर्यटन बोर्डमा तथा फिल्म हेर्ने कार्यक्रम छायाँ सेन्टर, लाविम मल, सिभिल मल र भक्तपुरको भाटभटेनीमा भएको हलमा हुँदैछ। अन्य समयमा फिल्म हेर्ने र छलफल गर्ने कार्यक्रम राष्ट्रिय सभा गृह र पर्यटन बोर्ड वरपर मात्रै सीमित हुन्थ्यो।

अन्य समयमा सानो पर्दामा विश्वका फिल्म हेर्न पाइन्थ्यो। हलमा लगाउने आँट नभएका, कम लगानीमा बनेका तर कन्टेन्ट र कला बलिया भएका फिल्महरू महोत्सवका आकर्षण हुने गर्थे। नेपालको प्रतिनिधित्व गरेर विश्वभर पुगेका र पुग्न आँटेका फिल्म हेर्ने ठाउँ पनि महोत्सव नै हुन्थ्यो।

यहि प्रयासमा सुनमा सुगन्ध भर्ने काम यो वर्ष निफले गर्यो। कम लगानीमा बनेका साना नेपाली फिल्मले क्युएफएक्सको पर्दा पाउनु गौरवको कुरा हो। सम्पूर्ण नेपाली फिल्मकर्मीले निफको यो कार्यको प्रशंसा गर्नैपर्छ। यो वर्ष क्युएफएक्सका आरामदायी सोफामा बसेर नेपाललगायत ३६ देशका ९५ फिल्महरू हेर्न पाइन्छ।

तर निफले जति मिहिनेत हल खोज्न गर्यो, त्यति मिहिनेत प्रदर्शन भएका नेपाली फिल्म छान्नमा गरेन। प्रदर्शन भएका फिल्महरूले दर्शकको मन खासै जित्न सकिरहेको छैन।

कमजोर फिल्मबाट महोत्सवको सुरुवात
कुरा सुरु गरौँ, पहिलो दिन उद्घाटन सत्रमा देखाइएको फिल्म ‘चरी’ बाट। केरिन शर्माले निर्देशन गरेको फिल्म करिब डेढ घण्टा लामो छ। यो प्रतिस्पर्धी फिल्म भने हैन।

फिल्ममा घरमा श्रीमती, छोरी भएको इमानदार पुरुषलाई योजनाबद्ध रूपमा होटलमा लगेर फसाइएको देखाइएको छ।

फिल्मको विषयवस्तु हो, विदेश जान एक जोडी युवाले गरेको संघर्ष। प्रेमीको योजनामा प्रेमिकाले कार्यालयको हाकिमसँग होटलमा समय बिताउँछिन् र त्यसको फोटो खिच्छिन्। घरमा श्रीमती र छोरी भएको हाकिमलाई त्यही फोटो देखाएर प्रेमीले ब्ल्याकमेल गर्छ र हाकिमसँग २० लाख रकम माग्छ। हनि ट्यापिङ जस्तो गम्भीर अपराध र त्यसबाट उम्कन गरेको संघर्ष नै फिल्म हो।

फिल्मको खिचाइदेखि संवाद लेखन, पटकथा लेखन सबैमा समस्या छ। कथा के हो, यसको शीर्षक सार्थकता कसरी प्रमाणित हुन्छ त्यो समेत फिल्मले प्रष्ट पार्न सकेको छैन। फिल्ममा अपराध हुन्छ तर प्रहरीलाई निकम्मा देखाइएको छ। अपराधको विधामा फिल्म बनाइसकेपछि अपराधीको मानसिक अवस्था, प्रहरीको खोज र त्यसको गाम्भीर्यतालाई अनुसन्धान गरेको भए फिल्म बलियो बन्नसक्थ्यो।

उद्घाटन फिल्ममै महिलाको मुद्दालाई नकारात्मक तरिकाले उठाइएको छ। हनि ट्यापिङमा कस्ता मानिसहरू पर्ने गरेका छन्? जो यौन दुराचारी हुन्छन्। जो घरमा श्रीमती हुँदा–हुँदै युवतीको सुन्दरतामा फस्छन्। तर, फिल्ममा घरमा श्रीमती, छोरी भएको इमानदार पुरुषलाई योजनाबद्ध रूपमा होटलमा लगेर फसाइएको देखाइएको छ।

जो श्रीमतीको अनुमतिबिना केही गर्दैन, त्यस्तो पुरुष हनि ट्यापिङमा परेको छ। हाकिमले आफ्नै अफिसमा काम गर्ने कर्मचारीले फसाएको थाहा पाइसकेपछि थोरै नारीबादी भाषण दिएकी छन्। त्यतिले मात्रै फिल्ममा महिलालाई न्याय दिँदैन।

नेपाली फिल्म कहाँ, कस्तो ठाउँमा चुकिरहेको छ भन्ने प्रष्ट देखाउन यो फिल्मलाई उदाहरण मान्दा हुन्छ।

फिल्ममा जीपीएस ट्यांकरको कुरा गरिन्छ तर पूरै पैसा बैँकबाट कारोबार हुने जमानामा लाखौं रकम दराजमा थन्क्याइएको छ। समग्रमा भन्दा फिल्ममा प्रशंसा गर्न लायक केही काम छैन।

०००

सबै फिल्म एकै महोत्सवमा हेर्न सम्भव छैन। तर, हेरेका फिल्ममा अर्को ढुङ्गा लाग्ने नेपाली फिल्म बन्यो ‘द स्पोन्सर’।

निफको दोस्रो दिन, आठ वर्षअघि बनेको यो फिल्म प्रदर्शन भयो। फिल्ममा साना बालबालिकाहरूलाई स्पोन्सरको नाममा कसरी एनजीओहरूले आश देखाइरहेका छन् भन्ने विषय उठान गरिएको छ।

फिल्ममा कौशिकी मुखिया र विकासको कथा छ। कौशिकी कोशीको किनारमा माछा मारेर जीविकोपार्जन गर्ने परिवारमा जन्मेकी बालिका हुन् भने विकास एक एनजीओमा काम गर्ने सक्रिय कर्मचारी।

कौशिकीको बा र आमालाई कोशीको बाढीले बगायो। उनी हजुरआमा र काकाको साथमा सानो पाल टाँगेर जीविका चलाइरहेकी छन्। काका कौशिकीदेखि अति जल्छ।

माछा नमारेरै सुती–सुती खान पाएको उसको जिन्दगीसँग जल्ने भएकैले उ कौशिकीलाई देख्ने बित्तिकै पिटिहाल्छ। रक्सीले मात्छ र कौशिकीलाई नै पिट्छ। हजुरआमा रक्सी विना सास फेर्न सक्दिनन्। यस्तो अवस्थामा कौशिकीको जिन्दगीको आउँछ, अमेरिकी साथी।

पर्दामा पात्र छाती पिटि–पिटी रोइरहेको अवस्थामा दर्शक मुर्छा परेर हाँसिरहेका हुन्छन्। यो फिल्मको सबैभन्दा कमजोर पक्ष हो।

कौशिकीकै उमेरको छोरी गुमाएको त्यो अमेरिकी साथी चिठीसँगै हजार रूपैयाँ पठाउँछ, विभिन्न उपहार पठाउँछ र आफूसँगै अमेरिका लैजाने आश देखाउँछ। ७८ वर्षको उक्त अमेरिकी स्पोन्सर हृद्यघातका कारण मर्छ, कौशिकीलाई माया गर्ने हजुरआमा पनि रक्सीले थलिएर मर्छिन्।

त्यसपछि कौशिकीको जीवन कसरी अगाडि बढ्ला?, मधेसीको जीवनशैली मन नपराउने विकासको जिन्दगी के होला? फिल्मको विषयवस्तु यिनै वरपर घुमेको छ।

उद्घाटनको दिन देखाइएको फिल्म ‘चरी’को तुलनामा यो फिल्म अति उत्कृष्ट छ। तर नेपाली फिल्म कहाँ, कस्तो ठाउँमा चुकिरहेको छ भन्ने प्रष्ट देखाउन यो फिल्मलाई उदाहरण मान्दा हुन्छ।

फिल्ममा दर्शक र पात्रबीच इमोसनल कनेक्सन छैन। पर्दामा पात्र छाती पिटि–पिटी रोइरहेको अवस्थामा दर्शक मुर्छा परेर हाँसिरहेका हुन्छन्। यो फिल्मको सबैभन्दा कमजोर पक्ष हो।

फिल्मको एडिटिङमा समस्या छ। खिचेको जति सबै दृश्य फिल्ममा अटाउनैपर्छ भन्ने सोचेरै यस्तो भएको होला। किनभने फिल्ममा अनावश्यक र दोहोरिएका दृश्य धेरै छन्। कौशिकी र विकासको कथा भए पनि यो भड्किएर कहिले घर झगडामा पुगिरहेको छ त कहिले नाटकतिर।

एक दृश्य छ, जहाँ विकास र उसको श्रीमतीको झगडा पर्छ। त्यो झगडाले फिल्मको मज्जामा किरकिरे बनाइदिएको छ। स्पोन्सर नमरुन्जेल लय पकडेको फिल्मले जब स्पोन्सर मर्छ, त्यसपछि बाटो बिराएको छ।

पहिले नजिकै सबै कार्यक्रम हुन्थ्यो। अहिले यस्तो जाम भइरहने शहरमा फिल्म हेर्न एकातिर, छलफल गर्न अर्कातिर जानुपर्ने बाध्यता आयो।

फिल्ममा क्रिस्चियन धर्मको आस्था सान्तालाई अनावस्यक रूपमा प्रस्तुत गरिएको छ। नेपाल एक धर्म निरपेक्ष देश हो। तर नेपाल एनजीओ, आइएनजीओले चलेको छ।

एनजीओ, आइएनजीओको उद्देश्य क्रिस्चियन धर्म प्रचारक गर्नु हो, यो कुरा खुला छ। फिल्मको विषयवस्तु बच्चाको मनोविज्ञान भएकाले त्यस्ता कुरामा नअल्झिएको भए राम्रो हुन्थ्यो।

फिल्मको अन्तिम दृश्य बडो नाटकीय छ। वास्तबिकताबाट पर छ। फिचर फिल्म भए पनि अन्तिम दृश्यले कमर्सियल फिल्मको झल्को दिन्छ। जसका कारण फिल्मले बाटो बिर्सिएको थाहा हुन्छ।

फिल्ममा कलाकारको अभिनय भने अब्बल छ। खिचाइ राम्रो छ। तर, केहि सटहरू चाहिने भन्दा लामा छन्। त्यसले पनि फिल्मलाई कतिपय ठाउँमा अल्छि लाग्दो बनाएको छ।

यहि विषयमा फिल्म चरीको स्क्रिनिङपछि निफका कोअर्डिनेटर यादव भट्टराईले नेपाली फिल्म विश्वका मानिसलाई हेराउनु नै महोत्सवको राम्रो पाटो भएको बताए। उनले सामान्य कमीकमजोरीलाई ठूलो बनाउन नहुने भन्दै नेपालको प्रतिनिधित्व विश्वका फिल्ममा भएकोमा खुशी हुनुपर्ने बताए।

तर, विश्वले हेर्ने फिल्ममा नेपालको प्रतिनिधित्व गर्ने फिल्म यति धेरै हल्का हुन नहुने कार्यक्रममा भेटिएका एक फिल्मकर्मीले बताए।

ती फिल्मकर्मीले भने, ‘कलायुक्त फिल्मलाई हेर्ने आ–आफ्नै नजर हुन्छ। विदेशीले नेपाली फिल्मबाट नेपालको कला संस्कृति आदानप्रदानको आश गरेका हुन्छन्। तर, मैले हेरिरहेको फिल्म मेरो देशले बनाएको हो भन्नै समस्या हुने फिल्म महोत्सवमा नदेखाइदिएको भए हुन्थ्यो।’

पाँच सय, दुई हजारसम्मका टिकट छन्। यस्तो महंगो पैसा तिरेर महोत्वमा को फिल्म हेर्छ?

नाम नबताउन अनुरोध गर्दै अर्का फिल्मकर्मीले पनि सोही कुरामा सहमति जनाए।

ती फिल्मकर्मीले भने, ‘पहिले महोत्सव भन्ने बित्तिकै केहि राम्रो हेर्ने भन्ने हुन्थ्यो। तर, खै पर्दा ठूलोमा हेरेर हो कि, दुई दिनमै महोत्सवमा देखाइएका फिल्मबाट सन्तुष्ट हुन सकिन।’

ती फिल्मकर्मीले लोकेसनका बारेमा पनि प्रतिक्रिया दिए।

भने, ‘पहिले नजिकै सबै कार्यक्रम हुन्थ्यो। अहिले यस्तो जाम भइरहेको शहरमा फिल्म हेर्न एकातिर, छलफल गर्न अर्कातिर जानुपर्ने बाध्यता आयो।’

फिल्मको टिकटको मूल्य समेत महंगो भएको भन्दै ती फिल्मकर्मीले भने, ‘पाँच सय, दुई हजारसम्मका टिकट छन्। यस्तो महंगो पैसा तिरेर महोत्वमा को फिल्म हेर्छ?’

ती फिल्मकर्मीले विभिन्न निकायबाट कार्यक्रमका लागि रकम संकलन गरेर महंगोमा फिल्म देखाउनु राम्रो नभएको समेत प्रतिक्रिया दिए।

चैत ४, २०७९ शनिबार ११:१८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।